लकडाउनको अवधि लम्बिएसँगै फुर्सदको समय पनि लम्बिँदै गइरहेको छ । पुस्तक पढ्नेहरूका अगाडि पुस्तकको सूची लम्बिरहेको छ, फिल्म पारखीहरूका अगाडी फिल्मको सूची । र, लकडाउनसँगै हामीले पनि फिल्मकर्मीमार्फत फिल्म सिफारिस गराउने क्रम रोकेका छैनौं । आज हामीसँग फिल्म सिफारिस लिएर उपस्थित छिन्, अभिनेत्री सुरक्षा पन्त ।
हो, उनै अभिनेत्री जसले केही हप्ताअघिमात्रै रिलिज भएको फिल्म ‘आमा’का लागि आफ्नो कपाल खौरिएकी थिइन् । उनको यो त्याग सर्वत्र चर्चाको विषयमात्र भएन, महिलाको कपाललाई उनीहरूको सुन्दरतासँग जोडेर हेर्ने समाजका लागि गतिलो झापड पनि भयो ।
कपाल खौरिनु अघिसम्म कताकता उनलाई पनि लाग्थ्यो, यो सुन्दरताकै प्रतीक हो । तर, खौरिएपछि अहिले नयाँ कपालसँगै उनको मान्यता पनि नयाँ भइसकेको छ । अहिले उनलाई लाग्छ, ‘मान्छेको सुन्दरता कपालमै अडिएको हुन्न रहेछ ।’
बढ्दै गरेको कपालसँगै सुरक्षा अहिले बढ्दै गरेको ‘लकडाउन’का दिनहरू भक्तपुर, सुर्यविनायकस्थित आफ्नै घरमा कटाइरहेकी छिन् । फिल्मको काम नभएको बेला घर बस्नु र अहिले लकडाउनका कारणमा बस्नुमा उनलाई खासै फरक महसुस भएको छैन ।
फरक यत्ति हो, हिजो घर बस्दा फुुर्सदिलो अभिनेत्रीको ट्याग लाग्थ्यो, आज जिम्मेवार नागरिकको । जो, घरमै बस्न सरकारले गरेको निर्देशन इमान्दारसँग पालना गरिरहेको छ ।
अहिले फुर्सदको समय उनी योग र ध्यान गरिरहेकी छिन्, पढ्न अल्छी मानेर छाडेका किताबहरू पल्टाइरहेकी छिन् ।
यतिखेर खानपिनमा उनको बढ्तै ध्यान गइरहेको छ । उनका लागि यो लकडाउन आफूसँग लुकेर बसेका प्रतिभाहरू प्रस्फुटन गराउने जाँगर पनि भएको छ ।
‘म पेन्टिङ गर्न रुचाउने मान्छे, बिर्सिसकेको थिएँ, फेरि सुरु गर्दैछु,’ उनी भन्छिन्, ‘योसँगै नयाँनयाँ सिनेमा हेर्ने कुरा त छँदैछ तर अभ्यासकै हिसाबले अहिले स्क्रिप्ट लेख्न पनि खोज्दैछु ।’
यति गरेर मात्रै उनलाई पुुगेको छैन । गमलामा बिरूवा पनि रोपिरहेकै छिन् । साह्रै अल्छी लाग्यो भने ताजा हावा खान नजिकै डाँडा छँदैछ । त्यतै ट्रेकिङ गर्न निस्किहाल्छिन् ।
यसैगरी दिन कटाइरहेकी छिन् उनी । र, अहिले फिल्म हेरेर दिन कटाउनेका लागि उनलाई मनपरेका पाँच फिल्मको सिफारिस उनकै शब्दमा :
१) सेतो सुुर्य (२०१६)
सशस्त्र द्वन्द्वलाई पृष्ठभूूमीमा राखेर दीपक रौनियारले निर्देशन गरेको यो फिल्म मलाई एकदमै मनपरेको हो । गाउँमा धेरै पटक प्रधानपञ्च भइसकेका एक वृद्धको शव वरपर यो फिल्मको कथा घुमेको छ । गाउँमा उनको शव उठाउने मान्छे कोही भेटिन्न । द्वन्द्वकालका बेला उनको शव अन्त्येष्टीका लागि सिर्जना हुने परिस्थिति र गर्नुपर्ने संघर्ष नै यो फिल्मको कथा हो । मलाई यो फिल्मको सेन्ट्रल आइडियाले नै छोएको हो । फिल्मको अर्को रोचक पक्ष, ब्याकग्राउन्ड स्कोर नहुँदा पनि फिल्म अघि बढिरहन्छ । कलर ग्रेडिङ र सिनेमाटोग्राफी उस्तै गज्जब छ । मलाई लाग्छ, इमान्दार न्यारेटिभकै कारण यो सब सम्भव भएको हो ।
२) उडान (२०१०)
विक्रमादित्य मोटवानीले निर्देशन गरेको यो मेरो अर्को प्रिय फिल्म हो । यो फिल्ममा रोहन नामको पात्रको कथा छ जसलाई बोर्डिङ स्कुलबाट निकालिएपछि जमशेदपुरमा उनका दमनकारी पितासँग बस्न बाध्य पारिन्छ । हेर्दा सामान्य विषय जस्तो लाग्छ, तर प्रस्तुतिकरण गहिरो, पृथक र अर्थपूर्ण छ ।
३) १२ एंग्री म्यान (१९५७)
सिड्नी लुमेतले निर्देशन गरेको यो फिल्मको चाहिँ मलाई स्क्रिप्ट नै हिरो लागेको हो । विशेषगरी मलाई बहस सिर्जना गर्न सक्ने सामथ्र्य बोकेका स्क्रिप्ट मनपर्छन् । जहाँ ‘आर्ट अफ म्याथमेटिक्स’ पनि संलग्न होस् । मलाई समाधानका उपाय बोक्ने सिनेमा मनपर्छन् । मलाई लाग्छ, फिल्ममा आइटम गीतहरूभन्दा बहसको आइडिया बढि महत्वपूर्ण छ । मेरो नजरमा १२ एंग्री म्यान यस्तै फिल्म हो, जसले सोच्न बाध्य बनाउँछ । फिल्मको संवादमा निकै मिहनेत गरिएको छ । जब नेपाली फिल्म सुरुमात्रै हुँदै थियो, त्यतिबेला विदेशमा यस्तो फिल्म बनिसकेको थियो भन्ने यथार्थ थाहा पाउँदा आज पनि मन चसक्क घोच्छ ।
४) म्यारिज स्टोरी (२०१९)
मैले अघि नै भनिसकेँ– हामीले जीवनमा खासै वास्ता नगर्ने स–साना विषयमाथि बनेका फिल्महरूले मलाई निकै छुन्छ । त्यस्ता विषय जुन सानो हुन्छन्, तर गम्भीर र अर्थपूर्ण । म्यारिज स्टोरी यस्तै फिल्म हो जसले एक विवाहित जोडी अर्थात् थिएटर निर्देशक र अभिनेत्रीको जोडीको सम्बन्धको कथा भन्छ । उनीहरूबीचको प्रेम, सँगसँगै सम्बन्धको जटिलता । यो जोडी कसरी डिभोर्सको चरणसम्म पुुग्छ, त्यो पनि फिल्मले भन्छ । फिल्मको न्यारेटिभ र कलाकारको अभिनय दुवै शानदार छन् ।
बेबीज डे आउट (१९९४)
यो मेरा लागि सदावहार इन्टरटेनिङ सिनेमा हो । प्याट्रिक रिड जोन्सनले निर्देशन गरेको यो अमेरिकी फेमिली कमेडी फिल्मले अनावश्यक जोकहरू फलाक्दैन तर खराब प्रवृत्तिलाई गज्जब कमिक टाइमिङसहित कलात्मक हिसाबले देखाउँछ । एक धनाढ्यको बच्चा अपहरणका पछाडि तीनजनाको भागदौड यो फिल्मको कथा हो । धेरै अल्छी लागेको छ अनि हाँस्न मन छ भने यतिखेर यो फिल्म हेर्दा गज्जब हुन्छ ।