मुलुक नै कोरोना भाइरस (कोभिड–१९) को सम्भावित जोखिमविरुद्ध जुधिरहेका बेला पूर्वीसुर्खेतको भेरीगंगा नगरपालिकालाई भने एउटा नयाँ खालको चुनौति थपिएको छ– फिरन्ते राउटे समुदायलाई यसको सङ्क्रमणबाट कसरी जोगाउने भनेर । नेपालमा अन्यत्रजस्तै यस क्षेत्रमा पनि लकडाउनको पालना गर्ने, गराउने र महामारीबारे जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका ब्यक्तिलाई राउटे समुदायको स्वास्थ्यबारे एक नयाँ चुनौती थपिएको हो । यो समुदायको कुनै एकजनामा कोरोना भाइरसको सङ्क्रमण भयो भने सबै समुदायमा एकैपटक प्रसार हुनसक्ने चिन्ता यस क्षेत्रमा बढेको छ ।
आमनागरिकले लकडाउनको पालना गरेर सङ्क्रमण फैलिन नदिन सतर्कता अपनाए पनि फिरन्ते राउटे समुदायलाई भने यसको कुनै प्रवाह छैन । निर्धक्क रुपमा गाउँशहर डुल्ने उनीहरुको परम्परागत बानी र प्रवृत्तिका कारण लोपोन्मुख राउटेहरुमा कोभिड–१९ को सङ्क्रमण फैलिनसक्ने खतरा देखिएको हो । नगर उपप्रमुख रेणु आचार्यले यदि एकजना राउटेमात्र भाइरस सङ्क्रमित भएभने सिंगो बस्ती नै प्रभावित हुने र अन्य समुदाय (गैरराउटे) समेतलाई पनि सजिलै सार्नसक्ने चिन्ता व्यक्त गर्छिन् । “लकडाउनका कारण मानिसहरु अत्यावश्यक कामबाहेक घरबाहिर निस्केका छैनन् तर राउटेहरुलाई त्यसको कुनै वास्ता छैन,” उनले भनिज्, “राउटेलाई सुरक्षित राख्न सकिएन भने अहिलेसम्मका हामीले अपनाएका अरु रोकथाम र सावधानीका प्रयासहरु पनि काम नलाग्ने हुन सक्छन् ।”
भेरीगंगालाई यतिबेला राउटे समुदाय टाउको दुखाई बन्नुको कारण उनीहरुले राज्यको कानून नमान्ने भएकोले हो । उनीहरु प्रहरी प्रशासनदेखि डराउँदैनन् । राज्यको कानूनको परिधिबाट यो समुदाय बाहिरै छ । उनीहरुको समुदायका मुखियाको निर्देशन चल्छ । त्यसैले अधिकांशले अहिलेसम्म नागरिकता पनि लिएका छैनन् । आधुनिक औषधि उपचार पद्धतिमा उनीहरुको खासै विश्वास छैन । स्थायी बसोबास, खेतीबालीप्रति पनि उनीहरुको कुनै आर्कषण छैन । उनीहरुले शौचालय प्रयोग गर्दैनन् । सरसफाइमा उनीहरुको ध्यान छैन । रुखका पात जम्मा पार्छन् र यसैले बेरेर गुजुमुज्ज परेका छाप्रो (टहरा) बनाउँछन् र सबैजना एकै ठाउँमा बस्ने गर्दछन् । यसकारण पनि कुनै एकजनालाई यो भाइरसले छोयो भने यो सङ्क्रमण एकैपटक सबैमा जाने र बस्ती नै सखाप पार्नसक्ने खतरा देखिएको छ ।
एकै ठाउँमा नबस्ने, घुमफिर गर्न रुचाउने हुँदा राउटे समुदायलाई सम्भावित सङ्क्रमणको जोखिम अरु बढी हुने देखिन्छ । नगरपालिकाले लकडाउन अवधिका लागि दुई जना स्वास्थ्यकर्मी बस्तीमा खटाएको छ । इलाका प्रहरी कार्यालय छिन्चुले बस्तीमा नयाँ मानिस प्रवेश गर्न नदिन प्रहरी परिचालन गरी निगरानी बढाएको छ । नगर उपप्रमुख आचार्यले राउटे अगुवाहरुले ‘नयाँ रोग फैलिएको छ रे ?’ भनेर सोध्ने गरेको बताउँदै भन्नुभयो, “कोरोना भाइरस हो, त्यसबाट तपाइँहरु पनि जोगिनुपर्छ भन्दा हामीलाई त केही हुँदैन भन्छन् ।” आफूले पृथ्वीलाई केही नबिगारेकाले यस्तो महामारीले आफुहरुलाई कुनै असर नपर्ने राउटेहरुले बताउने गरेको आचार्यको भनाइ छ ।
महामुखिया महिनबहादुर शाहीले रोगव्याधीले नछुने भन्दै यदि कुनै समस्या देखिएमा जडिबुटी खाएर निको पार्ने बताउनुभयो । उनी भन्छन् “हामी जङ्गलका राजालाई सहरको महामारीले छुँदैन, बरु सरकारले जङ्गलका मान्छे भनेर उल्टै राउट्यालाई हेला ग¥याको छ, त्यसैमा दुःख लाग्याको छ,” “राउट्यालाई राउट्या हुन दिनुप¥यो, हामी जनता हुन सक्दैनौँ ।” जङ्गल छेउछाउ मानिसको बस्ती बस्न थालेपछि कन्दमूल, गुनाबाँदर पाइन छाडेको, आफूले बनाएका काठका सामग्रीले बजार नपाएको राउटे अगुवाहरुको गुनासो छ ।
नगरपालिकाले राउटेहरुलाई लकडाउनको अवधिमा बाहिर जान नदिन खाद्यान्न वितरण गरेको छ । कोसी, मुधुसजस्ता काठे सामग्री बनाएर बिक्री गर्ने या अन्नसँग साट्ने राउटेको दैनिकी हो । “लकडाउनको अवधिमा बस्तीबाहिर जान नपरोस् भनेर चामल, दाल, नून, तेल लगायतका खाद्य सामग्री वितरण गरेका हौँ,” नगर प्रमुख भुपेन्द्रबहादुर चन्दले भने, “चैत महिनासम्म पुग्ने खाद्यान्नको व्यवस्था गरिदिएका छौँ, तत्काल खाद्यान्नकै लागि बस्ती बाहिर जानुपर्ने बाध्यता हट्ने हाम्रो विश्वास छ ।”
राउटेहरु हाल १५० को सङ्ख्यामा छन् । वर्षेनि घट्दो राउटेको जनसङ्ख्याप्रति न राज्यको चासो छ नत आदिवासी जनजाति क्षेत्रका अगुवाहरुको नै । आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठानमा सूचिकृत ५८ जनजातिमा राउटे पनि पर्दछन् । तर यिनीहरु आदिवासी जनजाति उत्थानको बहसबाट अलग्गै छन् । आम जनजातिभन्दा हजारौँ गुणा पछाडि परेका छन् ।