गिट्टी कुटेर चार जनाको परिवार पालिरहेकी हुन्छिन् आमा । दाइ गुड्डु पनि आमालाई सहयोग गर्न मजदुरी गर्छ । ५ वर्षको भाइ सारोको जिम्मेवारी घरमा रहेकी बहिनी हेर्ने हुन्छ । तर, एकदिन ऊ पनि दाइसँग काममा जाने जिद्दी कस्छ र दाइलाई पछ्याउँछ । गुड्डु उसलाई आफूसँग लान मान्दैन । भन्छ, ‘तँ सानो छस् । तँलाई केही पनि आउँदैन ।’ दाइको कुरा सुनेपछि सारो भन्छ, ‘म जे पनि उठाउन सक्छु ।’ ऊ नजिकै रहेको कुर्सी उठाएर टाउकोमा राख्छ, ढलिरहेको साइकल उठाउँछ । र, भन्छ, ‘म जे पनि उठाउन सक्छु ।’ भाइको जिद्दिपना देखेर गुड्डु उसलाई सँगै लान राजी हुन्छ ।
नजिकैको रेल स्टेसनसम्म पुग्दा सारो निकै थाकेको हुन्छ । सुतिरहेको सारोलाई गड्डु रेल स्टेसनमा रहेको एउटा बेञ्चमा सुताउँछ । उठाउने अनेक प्रयास गर्छ तर सारो उठ्दैन । ऊ भाइलाई आफू नआउँदासम्म त्यहीँ बस्न आग्रह गर्दै काममा जान्छ । जब सारो जाग्छ आफ्नो दाइलाई देख्दैन । दाइले निद्रामा भनेको कुरा पनि बिर्सन्छ । दाइको खोजीमा यताउता भौतारिन्छ । खोज्दा–खोज्दा थाकेपछि ऊ फेरि रोकिराखेको रेलमा गएर सुत्छ । जब ऊ जाग्छ, रेल चलिरहेको देख्छ । ओर्लने अनेक प्रयास गर्छ तर, प्रयास विफल भइदिन्छ । यसरी ऊ केही दिनमा खण्डवाबाट १६ सय किलोमिटर टाढा कलकत्ता पुग्छ ।
रेल रोकिनु । रेल चढ्ने मानिसहरूको भीड बढ्नु । अनि सारो रेलबाट ओर्लनु । सारो भीडमा एकछिन गुड्डुलाई खोज्छ । जोड–जोडले उसको नाम पुकार्छ । भोक र प्यासले थाकेको ऊ धेरै चिच्याउन सक्दैन । यहाँसम्म फिल्मले दाइ–भाइको प्रेम र उनीहरूको परिवारको गरिबीलाई चित्रण गरेको हुन्छ ।
भीडबाट विलय भएको ऊ एकाएक काउन्टरअघि देखिन्छ । गणेशतलाइका लागि टिकट माग्छ । तर, उसको कुरा कसैले सुन्दैन । ऊभन्दा पछाडि भीडमा उभिएकाले उसको अपमान गर्छन् । यहाँबाट फिल्मले नयाँ मोड लिन्छ । सारोको अपमानले एउटा निरीह र अबोध बालकमाथिको अपमान देखाएको छ । अलपत्र परेर काउन्टरको भित्तामा टिकट मागिरहेको बालकप्रति मानिसहरूको व्यवहारले हाम्रो समाजको चित्र र चरित्र देखाउँछ ।
विरक्तिएको ऊ त्यस रात सडक बालकसँग रेल स्टेशनमै सुत्छ । जहाँ रातमा केही मानिस आएर उनीहरूलाई बन्धक बनाउन खोज्छन् । सारो त्यहाँबाट बचेर दौडदै निकै टाढा पुग्छ । केही दिन सडकमै बिताएपछि उसको भेट नुर नाम गरेकी एक महिलासँग हुन्छ । नुरले सारोलाई आफ्नो कोठामा लान्छे र उप्रति प्रेम दर्शाउँछे । रामा नाम गरेको एक व्यक्तिले उसलाई घर खोज्नमा सहयोग गर्ने आश्वासन दिन्छे । उसलाई नुहाएर चिटिक्क पार्छे । लाग्छ अब रामा उसको भगवान बनेर आउँछ । तर, कथाले फेरि अर्कै मोड लिन्छ ।
सारो त्यहाँबाट पनि भाग्छ । रामा र नुरको गतिविधिमा उसलाई शंका लाग्छ । यहाँ एउटा बालकको मनोविज्ञानलाई दर्शाउन खोजिएको छ । ५ वर्षीय बालकले घटना र परिवेशअनुसार प्रदर्शन गरेको चलाखी र चतुरताले फिल्ममा फेरि नयाँ रौनक थपिदिन्छ । यहाँनिर भारतमा सडक बालबालिकाको अवस्था दर्शाउन खोजिएको छ । सांकेतिक रूपमा मानिसहरूको कठोरता र निर्दयीपनलाई पनि देखाइएको छ । नुरले रामामार्फत उसलाई कतै बेच्न खोजेकोजस्तो देखिनुले बालबालिका बेचबिखनको विषयलाई पनि सांकेतिक रूपमा प्रस्तुत गरिएको छ ।
सारो दुई महिनासम्म नजिकैको हौराह पुल वरिपरि बस्छ । उसले त्यहाँ निकै संघर्षपूर्ण र पीडादायी अवस्थामा यो समय बिताउँछ । फोहर र कवाडी संकलकको रूपमा उसलाई देखाइन्छ । लाग्छ, अब ऊ यसरी नै आफ्नो जीवन ओतबिनाको खुला संसारमा काँधमा बोरा बोक्दै बिताउनेछ । अरूले खाएको हेरेर आफूले खाएको कल्पना गर्दै आफ्नो पेट भर्नेछ । तर, यसअघि जस्तै फिल्ममा फेरि ट्विस्ट आउँछ । एक युवकले उसलाई प्रहरीसम्म पुर्याइ दिन्छन् । प्रहरीले अनाथालय पठाउँछ । यसबीच बालकले आफ्नी आमाप्रति देखाएको प्रेमले सबैलाई भावुक बनाउँछ । एउटा बालकलाई आफ्नी आमाबिनाको समय कति कठिन हुन्छ भन्ने फिल्मको दृश्यले बुझाउँछ ।
लाग्छ, अब ऊ अनाथालयमा पढ्छ, हुर्किन्छ र ठूलो मान्छे बन्छ । तर, त्यस्तो केही हुँदैन । बरू फिल्मले नयाँ मोड लिन्छ । उसलाई अष्ट्रेलियाको एउटा परिवारले ‘एडप्ट’ गर्न चाहेको कुरा बताइन्छ । परिवारको फोटोसमेत देखाइन्छ । विभिन्न सपना बाँडिन्छ । अन्ततः सारो अष्ट्रेलिया पुग्छ । यसअघिसम्म सारोप्रति सहानुभूति राखिरहेका दर्शकलाई यो घटना असामान्य पनि लाग्न सक्छ । तर, सारोको दुःखमा सहानुभूति प्रकट गरिरहेका दर्शकहरू अष्ट्रेलियामा उसलाई अथाह प्रेम गर्ने आमा–बुबा भेटिएको खुसीमा पक्कै रम्छन् । सबैले बिर्सन्छन्, सारो कसको खोजीमा थियो भन्ने । स्वयं सारो पनि बिर्सन्छ आफ्नो विगत । ऊ अंग्रेजी सिक्छ । स्कुलमा पढ्न थाल्छ । अब के हुन्छ ? कसैले सोचेका हुँदैनन् । त्यसपछि फिल्ममा न भारतीय परिवेश देखाइन्छ न सारोकी जन्मदाता आमा र रेल स्टेशनमा भाइ खोज्दै भौतारिएको दाइलाई नै । फिल्म अंग्रेजी भाषामा बग्न थाल्छ ।
एकै पटक कथा २० वर्षपछि धकेलिन्छ । सारो जवान देखिन्छ । ऊ होटल म्यानेजमेन्ट पढ्नका लागि मेलबर्न पुगेको हुन्छ । त्यहाँ ऊ लक्की नाम गरेकी अमेरिकी युवतीसँग प्रेममा पर्छ । दर्शकलाई लाग्न सक्छ, यो के भइरहेको छ ? कथा अलि फितलो लाग्न थाल्छ । सारोका साथीहरू, उसकी प्रेमिका र उसको परिवारको परिवेशमा घुमेको कथामा यतिबेला कुनै अर्थ भेटिदैन । तर, भारतीय साथीहरूसहित आयोजित एक भोजमा सारोले जब जेरी देख्छ । कथाले फेरि नयाँ मोड लिन्छ । जेरीले उसलाई विगतमा फर्काउँछ । किनकि बाल्यकालदेखि उसको जेरी खाने सपना अधुरो थियो । दुई भाइले कोइला चोरेर बेचेका थिए । साहूजीले आफ्ना कामदारलाई कोइला दिएवापत दूध दिन आग्रह गरे । त्यत्तिकैमा सारोले छेउको पसलमा जेरी पाकिरहेको देख्यो र दाइसँग भन्यो, ‘गुड्डु मलाई जेरी चाहियो ।’ सारोले जेरीतिर हेर्दै भाइलाई भन्यो, ‘एक दिन म तँलाई जेरी किनेर दिन्छु ।’ सारो खुसी हुँदै भन्छ, ‘सबै पसल किनौँला ।’ दुवै हाँस्छन् ।
२० वर्षपछि जेरी देख्दा सारो विगतमा पुग्छ । त्यही पलमा जतिबेला ऊ आफ्नो दाइसँग जेरी मागिरहेको हुन्छ । सारो जेरीको वासना लिन्छ अनि एक टुक्रा खान्छ । यतिबेला सारोसँग जेरी छ तर, उसको दाइ छैन । ऊ निकै भावुक हुन्छ । त्यति नै बेला उसकी प्रेमिका आइपुग्छे । सारो उसलाई भन्छ, ‘म कलकत्ताबाट आएको होइन । म कतैबाट हराएको हुँ ।’
साथीहरू उसलाई गुगलको सहायताले आफ्नो गाउँ पत्ता लगाउन सुझाउँछन् । ऊ त्यसै गर्छ । गुगलमार्फत आफ्नो ठाउँको खोजी र पटक–पटक उसको दिमागमा घुमिरहने आमा, गुड्डु र गाउँको चित्रले उसलाई फिल्ममा निकै निरीह देखाइन्छ । शारीरिक रूपमा ऊ ठूलो भए तापनि उसको मानसिकतालाई लेखकले उही बाल्यकालमा फर्काइदिन्छन् । यतिबेला फेरि सारोको अनुहारमा उही कलकत्तामा भौतारिएको बेसहारा बालकको दृश्य नाच्न थाल्छ । त्यतिबेला पनि ऊ आमाको खोजीमा भौतारिएको थियो, अहिले पनि ।
सारो र लक्कीलाई केही रात फिल्ममा सँगै देखाइन्छ । लक्कीसँग हुँदा पनि रातमा उठेर ऊ गुगलमा आफ्नो ठाउँ खोज्छ । लक्कीले आफूलाई सारोले कम महत्व दिन थालेको महसुस गर्छे । उनीहरूको सम्बन्ध बिग्रन्छ । एकातिर परिवारको याद त अर्कोतिर प्रेममा दरार । ऊ भावनात्मक रूपमा निकै कमजोर भइसकेको हुन्छ । उता कर्म दिएकी आमा सू बिरामी हुन्छिन् । सारो उनलाई भेट्न जान्छ । त्यति नै बेला सारोले सू बाँझो नभएको तर, विश्वभर छरिएर रहेका अनाथहरूको सहायताका लागि सन्तान जन्म नदिएको कुरा थाहा पाउँछ । दुवै भावुक हुन्छन् । दर्शकलाई पनि यतिबेलाको माहोलले पक्कै भावुक बनाउँछ ।
सारोलाई विगतका विभिन्न घटनाले पछ्याउन छाड्दैनन् । तर, ठाउँ पत्ता नलाग्नाले ऊ विक्षिप्त हुन्छ । त्यही आक्रोश आफूसँगै ‘एडप्ट’ भएर आई एउटै घरमा बस्ने दाइ सन्तोषमाथि पोख्छ । आमा र बुबामाथि पनि पोख्छ ।
ऊ आफ्नो गाउँको खोजीमा लागिरहेका बेला एक दिन गुगलमा आफ्नी आमाले काम गरेको ठाउँ देख्छ । त्यहाँ भएका ढुङ्गाका संरचनाहरू याद गर्छ । त्यति नै बेला उसले अण्डवा जिल्लामा रहेको गणेशतलाइ भन्ने ठाउँ फेला पार्छ । यो खुसीको खबर सुनाउन ऊ लक्कीको कोठामा जान्छ । सारोको कुरा सुनेर लक्की पनि खुसी हुन्छे । सूले खुसीका आँसु बगाउँछे । सारोलाई भारत पठाउँछे । यहाँ एउटी आमाले अर्की आमाका लागि देखाएको सद्भावले धेरैको मन जित्छ । यो घटनाले जीवन रहस्य हो र असम्भव खोजलाई हामीले स्वीकार्नुपर्छ भन्ने कुरा बताउँछ ।
सारो आफ्नो घर आउँछ । आफू सानोमा पौडी खेलेको खोला । हिँडेको जङ्गल । बाटो । ऊ यी सबै ठाउँमा आफ्नो बाल्यकाल सम्झन्छ । पर्दामा बेलाबेला बाल्यकालिन सारो देखिन्छ । ऊ आफ्नो गाउँ पुग्दा पहिलेको घर गोठमा परिणत भएको हुन्छ । सारोको सबै उत्साह सकिन्छ । दर्शकको मनमा हलचली मचिन्छ । ऊ एक महिलालाई सोध्छ । तर, ती महिला अंग्रेजी बुझ्दिनन् । त्यति नै बेला एक वृद्ध त्यहाँ आएर अंग्रेजीमा कुरा गर्छन् । सारोले आफ्नो सानोको फोटो देखाउँदै वृद्धलाई आफ्नी आमासँग भेटाइदिन आग्रह गर्छ । उसको कुरा सुनेर वृद्धको अनुहारमा आएको भावले सारोको आफ्नी आमासँग भेट हुँदैन भन्ने दर्शकलाई लाग्न सक्छ ।
तर, एकछिन कतै हराएका वृद्ध एकाएक फेरि आएर आफूलाई पछ्याउन भन्छन् । वृद्धलाई पछ्याउँदै गर्दा सारो परैबाट आफ्नी आमालाई देख्छ । आमाले सारोलाई । आमा–छोराको मिलनपछिको क्षण फिल्मको सबैभन्दा बलियो पक्ष हो । सारोले हिन्दी बिर्सिसकेको हुन्छ, आमालाई अंग्रेजी आउँदैन । तर, उनीहरू स्पर्शले एकाअर्कासँग संवाद गर्छन् । एकअर्काको हात समाएर संसारको सबैभन्दा सुन्दर भाषा बोल्छन्, प्रेमको । उनीहरूमा भावुकता र करुणा छचल्किन्छ । हजारौं शब्दद्वारा व्यक्त गर्न नसकिने कुरा एउटा तस्विर बोल्छ भनेझैं फिल्ममा त्यो क्षणले लाखौं शब्दभन्दा धेरै कुरा बोलिरहेको हुन्छ । आमाको अँगालोमा बेरिएको सारोले एकाएक आफ्नो दाइबारे सोध्दा उसले सारो हराएकै रात संसार छाडेको कुराले माहोललाई झन् भावुक बनाइदिन्छ । यो क्षणले धेरै दर्शकलाई रुवाइदिन्छ ।
फिल्मले दिन खोजेको महत्वपूर्ण सन्देश पनि यहिँ छजस्तो लाग्छ । अष्ट्रेलियाको शानदार जीवन छाडेर सारो आफ्नी आमाका लागि एउटा सानो गाउँमा आउँछ । तर, हामी आफूसँगै भएकी आमालाई वृद्धाश्रम पठाएर आफू ठूला महल वा विदेशमा रमाइरहेका छौं । सम्पन्नता र पैसाले हामीलाई परिवार बिर्साएको छ । यो फिल्मले ती सबै छोराहरूको आँखा खोलिदिएको छ जसले विदेशमा रमाएर आफ्नो माटो र परिवार बिर्सिएको छ । आफूलाई जन्मदिने आमाको ममता बिर्सिएको छ ।
फिल्म सकिएपछि अष्ट्रेलियाकी कर्मदिने आमा सू र भारतकी जन्म दिने आमा फातिमाबीचको मिलनलाई देखाइदिएको छ । सारोले अष्ट्रेलियामा बिताएका पलका तस्बिरहरू देखाइएको छ । सबैभन्दा महत्वपूर्ण कुरा त उसको नाम सारो नभएर सेरु भएको थाहा हुन्छ । जसको अर्थ हुन्छ, लायन अथवा सिंह ।
यो फिल्म सत्य घटनामा आधारित हो । आफ्नो गाउँबाट हराएपछि सारोले कसरी भोक र भयको सामना गर्छ भन्ने कुरा फिल्मले दर्शाउँछ । उसले आफ्नो परिवारसम्म पुग्न गरेको प्रयासले धेरैलाई भावुक बनाउँछ । जीवनमा खोज जारी राख्नुपर्छ असम्भव केही छैन भन्ने सन्देश फिल्मले दिएको छ । आमा–छोराको प्रेम देखाएको छ । सम्बन्धहरूको महत्व झल्काएको छ । सबैभन्दा महत्वपूर्ण कुरा त फिल्मले आशा र भरोसाको दियो जलाएको छ ।
तर, फिल्ममा एउटा कुरा भने फितलो लाग्न सक्छ । सारो हराएपछि उसको आमा र दाइमा बितेको प्रलयबारे फिल्म मौन छ । त्यसैगरी हरेक सम्बन्धहरूको महत्व सिकाएको फिल्मले अन्तिममा लक्कीलाई बेवास्ता गरिदिन्छ । सारोलाई अथाह प्रेम गर्ने लक्की, उसलाई गुमाउन नचाहने लक्की । के सारोसँग भारतमा आएर बस्न सक्दिनथी ? यदि यसो भएको भए फिल्मले पारिवारिक सम्बन्धको मात्र होइन, प्रेमको महत्व पनि महसुस गराउन सक्थ्यो भन्ने एउटा प्रश्न हुन सक्छ । तर, अर्को दृष्टिकोणबाट हेर्ने हो भने सारोलाई आमासँग भेट गराउनुलाई लक्कीले आफ्नो प्रेमभन्दा महत्वपूर्ण ठानेकी पनि हुन सक्छ । प्रेमी–प्रेमिकाको प्रेमभन्दा आमा र सन्तानको प्रेमको महत्वलाई विशेष रूपमा प्रष्ट्याउन खोजिएको पनि हुन सक्छ ।
सारोको जीवन गाथामा बनेको यो फिल्म ‘अ लङ जर्नी टू होम’ नामक पुस्तकमा आधारित रहेर बनाइएको हो । जसको निर्देशन हलिउड निर्देशक गर्थ डेभिसले गरेका हुन् । लेखन लुक डेभिसको हो । फिल्ममा युवा अवस्थाको सारोको भूमिकामा देव पटेल, बाल्यअवस्थाको भूमिकामा सन्नी पवार, सूको भूमिकामा निकोल किडमेन, आमाको भूमिकामा प्रियंका बोस र प्रेमिकाको भूमिकामा रोन्नी माराको अभिनय रहेको छ । फिल्मको कथामात्र होइन, निर्देशन र कलाकारको प्रस्तुति पनि लोभलाग्दो छ । त्यसैले त मलाई जीवनमै पहिलो पटक कुनै फिल्मबारे लेख्ने जाँगर चलेको छ । लेखिसकेपछि पनि मेरो दिमागबाट यो फिल्मको चित्र हट्न सकेको छैन । यस्ता फिल्महरू बारबार बन्दैनन् । त्यसैले यहाँ म तपाईंहरूलाई यसको लिंकसहित अहिले नै हेरिहाल्न सुझाव दिइरहेको छु ।
ट्विटरः @novelkrishna
फिल्म लायन हेर्नुहोला