साप्ताहिक संवाददाता
चलचित्र प्राविधिक संघले कोरोना भाइरसको असरका कारण दैनिक ज्यालादारीमा काम गर्ने फिल्म प्राविधिकको जीवनायापनमा समस्या उत्पन्न भएको भन्दै सहयोग आव्हन गरेपछि फिल्मकर्मीले यसमा चासो देखाउन सुरु गरेका छन् ।
अभिनेता पल शाहले आज शुक्रबार फेसबुकबार्फत फिल्म प्राविधिकका लागि पाँच लाख रुपैयाँ सहयोगको घोषणा गरेका छन् । ‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरुको जनजीवनलाई सहज बनाउनका लागि मैले आर्थिक सहयोग गर्ने घोषणा गर्दछु,’ उनले फेसबुकमा लेखेका छन्, ‘मेरो यो सहयोग वितरण कार्यमा चलचित्र प्राविधिक संघले सहजिकरण गर्ने आशा राखेको छु। आर्थिक अवस्था कमजोर हुनुुभएका चलचित्र क्षेत्रमा सक्रिय तपाईहरु सबैको साथमा म सधै हुुनेछु। ’
यसअघि आज बिहानमात्रै दीपकराज गिरीले छक्कापन्जा टीमको तर्फबाट प्राविधिककै लागि एक लाख १० हजार रुपैयाँ सहयोगको घोषणा गरेका थिए । घोषणका क्रममा उनले अन्य चलचित्रकर्मीलाई पनि सहयोगको अपिल गर्दै लेखेका थिए, ‘चलचित्रकर्मी साथीहरु, हामीलाई सुटिङको समयमा भोक लाग्दा खाना खुुवाउने, गर्मी हुँदा छाता ओढाउने, राम्रो देखाउन गह्रुंगो लाइट उचाल्ने प्राविधिकहरुका लागि यो कठिन समयमा केही सहयोग गरौं ।’