साप्ताहिक संवाददाता
नेपालमा थप तीन जनामा कोरोना (कोभिड १९) संक्रमण देखिएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड १९ का थप तीन नयाँ केस देखिएको पुष्टी गरेको हो ।
मन्त्रालयकाअनुसार मुम्बईबाट फर्किएका कैलालीका एक २१ वर्षीया पुरुषमा कोरोना संक्रमण देखिएको छ । यस्तै, उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीया अर्का पुरुषमा पनि कोरोना संक्रमण देखिएका छ ।
कैलालीकै ३४ वर्षीया एक महिलामा पनि कोरोना संक्रमण पुष्टी भएको छ । ती महिला १४ चैतमा धनगढीमा कोरोना पोजेटिभ देखिएका दुबईबाट फर्किएका युवककी आफन्त रहेको बताइएको छ । धनगढीकी स्थानीय महिलामा कोभिड १९ पुष्टी भएसँगै नेपालमा स्थानीय व्यक्तिमा पहिलो पटक कोभिड १९ संक्रमण देखिएको हो ।
यसअघि पुष्टी भएका सबै कोभिड १९ संक्रमितहरु विदेशबाट आएका थिए । यससँगै नेपालमा कोभिड १९ संक्रमितको संख्या ९ पुगेको छ । एकै पटक तीन जनामा कोभिड १९ पुष्टी भएको नेपालमा पहिलो पटक हो ।
नेपालमा पहिलो पटक गत माघमा पहिलो कोभिड–१९ संक्रमित व्यक्ति भेटिएका थिए । चीनको बुहानबाट फर्किएका उनी उपचारपछि निको भएर घर फर्किसकेका छन् ।
दोस्रो संक्रमण ४ चैतमा फ्रान्सबाट कतार हुँदै काठमाडौं आएकी एक नेपाली महिला विद्यार्थीमा देखिएको थियो । उनमा १० चैतमा कोभिड–१९ पोजेटिभ पुष्टी भएको थियो । उनको अहिले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भैरहेको छ ।
तेस्रो संक्रमण १२ चैतमा युएईबाट आएका धादिङका ३२ वर्षीय युवामा पुष्टी भएको थियो । उनी ६ चैतमा नेपाल आएका थिए । ती व्यक्तिको पनि शुक्रबार ट्रपिकल तथा सरुवा रोग अस्पतालमै उपचाररत छन् ।
चौथो कोभिड १९ पुष्टी १४ चैतमा धनगढीका एक युवामा भएको थियो । ३४ वर्षीय ती युवा दुबईबाट नयाँदिल्ली हुँदै ७ चैतमा काठमाडौं ओर्लिएका थिए । त्यसपछि उनी भोलिपल्ट प्लेनबाट नेपालगन्ज र त्यहाँबाट हायसमा धनगढी पुगेका थिए । उनको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ११ चैतमा उपचार गर्न भर्ना भएका थिए । उनको अहिले सेती अस्पतालमै उपचार भैरहेको छ ।
पाँचौ कोभिड-१९ को संक्रमण चैत ४ को फ्लाइटमा बेल्जियमबाट फर्किएकी बाग्लुङकी एक १९ वर्षीया युवतीमा पुष्टी भएको थियो । पाँचौ केसका रुपमा १५ चैतमा उनमा कोभिड-१९ पुष्टी भएको थियो । त्यसको पाँच दिनपछि चैत २० गते नेपालमा छैटौ कोभिड १९ संक्रमित भेटिएकी थिइन् । उनी पनि बेल्जियमबाट आएकी बाग्लुङकी युवतीकी नातेदार थिइन् । फ्रान्सबाट फर्केकी संक्रमित विद्यार्थी, बेजिल्यमबाट फर्केकी युवती र ती वृद्धा दोहाबाट क्युआर ६५२ फ्लाइटबाट काठमाडौं फर्केका थिए । एकै फ्लाइटमा फर्केका तीन जनामा कोभिड-१९ संक्रमण देखिएको थियो ।