साप्ताहिक संवाददाता
कोरोना भाइरस (कोभिड– १९) को सम्भावित जोखिम हुन नदिन गोरखाको सिरानचोक गाउँपालिका– ७ ले गाउँमा आएका पाहुनालाई समेत स–सम्मान आफ्नै घर फर्काउन थालेको छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि गठित स्थानीय प्रतिकार्य समितिले गाउँमा आएका पाहुनालाई आएकै दिन घर फर्काउने गरेको हो । सो समितिले आइतवार लमजुङको विचौरबाट पैदल हिँड्दै कृष्णबहादुर नेपालीको घर आएका उनका नातिलाई घर बाहिरै ससम्मान खाना खुवाएर फर्काइएको वडाध्यक्ष सुरज ढकालले जानकारी दिए ।
‘कोरोना भाइरसको सम्भावित जोखिम न्यूनीकरणका लागि गठित प्रतिकार्य समिति २४सै घण्टा सजग अवस्थामा रहन्छ’, उने भने, ‘गाउँमा नयाँ मान्छे आएको जानकारी पाउनेबित्तिकै समितिको बैठक बसेर आवश्यक निणर्य गर्छ ।’
समितिले गाउँमा आएका पाहुनालाई की १४ दिन क्वारेन्टाइनमा राख्ने वा बस्न नचाहे खाना खुवाएर स–सम्मान फिर्ता पठाउने गरेको वडाध्यक्ष ढकालले जानकारी दिए । गाउँपालिकाले पालिकाभित्र कोरोना भाइरसको सम्भावित जोखिम हुन नदिन सचेतता अपनाउन भन्दै १ सय ४२ वटा टोल प्रतिकार्य समिति गठन गरेको गाउँपालिका अध्यक्ष राजु गुरुङले जानकारी दिए ।
‘प्रतिकार्य समितिले गाउँभित्रका लागि अत्यावश्यकबाहेक गाउँ बाहिर पनि जान दिँदैन र गाउँ बाहिरकालाई गाउँमा आउन पनि दिदैँन’, उनले भने ।
(आवरण तस्विरः तनहुँको व्यासनगरपालिका–६ स्थित बाह्रबिसेका बासिन्दाले लकडाउन कार्यान्वयन गर्न रुख ढालेर सडक अबरुद्ध गरेपछि त्यस क्षेत्र पार गर्न स्कुटरलाई बोक्न परेको दृश्य । कोभिड–१९ को सङ्क्रमण न्यूनीकरण गर्न नयाँ मानिसलाई गाउँ प्रवेशमा रोक लगाउन सडक अबरुद्ध गरिएको छ । तस्वीर : सानेबहादुर नेपाली, रासस)