साप्ताहिक संवाददाता
रेडियो कान्तिपुरले गत असोज २८ गते १७ औं वर्षमा प्रवेश गरेको अवसर पारेर आयोजित कार्यक्रममा ७५ वर्षीय गीतकार रत्नशमशेर थापालाई लाइफ टाइम एचिभमेन्ट एवार्डद्वारा सम्मानित गरिएको थियो । सञ्चारमन्त्री मीनेन्द्र रिजाल तथा कान्तिपुर मिडिया ग्रुप (केएमजी) का अध्यक्ष कैलाश सिरोहियाले गीतकार थापालाई नगद ५० हजार रुपैयाँ, सम्मानपत्र तथा ट्रफी हस्तान्तरण गरेका थिए ।
समारोहलाई सम्बोधन गर्दै अध्यक्ष सिरोहियाले विगत १६ वर्षका हरेक मोडमा श्रोताहरूको साथ पाएकाले रेडियो कान्तिपुरले लोकप्रियताको शिखर चुम्न सफल भएको बताउँदै श्रोता एवं शुभेच्छुकहरूप्रति आभार प्रकट गरेका थिए । 'शाहीकालमा कान्तिपुर एफएममा आक्रमण गरी उपकरणहरू लुटियो, तैपनि श्रोताहरूलाई सुसूचित गर्ने कर्तव्यबाट हामी पछाडि हटेनौं,' अध्यक्ष सिरोहियाले विगत सम्झँदै भने— 'लोकतन्त्र दिगो भए मात्र मिडिया झाँगिन्छ । त्यति बेला हाम्रो जुन दृढविश्वास थियो, त्यो अहिले पनि छ ।'
समारोहमा रेडियो कान्तिपुरमा गत वर्ष भरी विभिन्न ९ विधामा सर्वाधिक प्रसारण भएका गीत-संगीत तथा संगीतकर्मीहरूलाईसमेत पुरस्कृत गरिएको थियो । उक्त अवसरमा उत्कृष्ट गीतकार, संगीतकार, लोक/ आधुनिक/पप/गायक तथा गायिका, ब्यान्ड तथा चलचित्र संगीतलाई पुरस्कृत गरिएको थियो । जसअन्तर्गत गीतकारतर्फ डा. कृष्णहरि बराल, संगीतकारतर्फ हरी लम्साल, ब्यान्डतर्फ अल्बाट्रस तथा चलचित्र संगीततर्फ यी आँखामा तिमी छौ (नाइँ नभन्नु ल-२) उत्कृष्ट रहे । यसबाहेक गायन विधातर्फ सुगम पोखरेल (पप—पुरुष), आस्था राउत (पप-महिला), उदय सोताङ (गायक—आधुनिक), मिलन अमात्य (गायिका-आधुनिक), पशुपति शर्मा (गायक-लोक) तथा पूर्णकला बिसी (गायिका-लोक) उत्कृष्ट रहे । रेडियो कान्तिपुरले सम्मानसाथ प्रतिगीत दस रुपैयाँका दरले रोयल्टी प्रदान गर्दै आएको छ । नेपाली रेडियोको इतिहासमा रेडियो कान्तिपुर गीतको सबैभन्दा बढी रोयल्टी प्रदान गर्ने रेडियो स्टेसन हो । समारोहमा थम्सन नेपाल (पहिलो), अवानी एजेन्सी (दोस्रो) तथा म्याक्स मिडिया (तेस्रो) लाई उत्कृष्ट एजेन्सीका रूपमा पुरस्कृत गरिएको थियो ।
नारायण गोपालको २४ औं स्मृति दिवसलाई समेत सन्दर्भ पारिएको संगीत सम्मान समारोहको प्रारम्भ उनकै गीतबाट गरिएको थियो । काठमाडौं विश्वविद्यालयका संगीत संकायका विद्यार्थीहरूको संगीत संयोजनमा प्रारम्भ भएको उक्त समारोहलाई धर्मेन्द्र सेवान, प्रमोद खरेल, मिलन अमात्य, विष्णु चेम्जोङ, नवराज बस्नेत, हरि लम्साल, विश्व नेपाली आदिले गीत-संगीतमार्फत संगीतमय बनाए । शंकर बिसीको लोक नृत्यले रमाइलो बनेको कार्यक्रममा चलचित्र 'अधकट्टी' तथा 'लभ यु बाबा' का कलाकारको नृत्य पनि आकर्षक रह्यो । रेडियो कान्तिपुर तथा कान्तिपुर टेलिभिजनबाट प्रत्यक्ष प्रसारण गरिएको उक्त समारोहमा कान्तिपुर टेलिभिजनका सन्दीप क्षेत्रीको हास्य प्रस्तुति तथा १९७४ एडीको कन्सर्ट पनि रोमाञ्चक रह्यो । रेडियो कान्तिपुरका आरजेहरूले पालैपालो सञ्चालन गरेको समारोहमा संगीत क्षेत्रका लोकप्रिय अनुहारहरूको उपस्थिति थियो ।
यसबीच गत शुक्रबार साँझ नै अन्नपूर्ण होटलमा आयोजित एक अर्को समारोहमा केएमजीका अध्यक्ष सिरोहियाले रेडियो कान्तिपुरमा वर्षभरिमा उत्कृष्ट काम गर्ने आरजे, पत्रकार तथा कर्मचारीहरूलाई पुरस्कृत गरे । समारोहमा आरजे भूपेन्द्र खड्काले आउट स्ट्यान्डिङ परफर्मेन्स एवार्ड जिते । आस्था श्रेष्ठ आरजे अफ दि इयर भइन् भने श्याम श्रेष्ठ टेक्निसियन अफ द इयरका रूपमा पुरस्कृत भए । रामचन्द्र महर्जनले उत्कृष्ट समाचारवाचकको पुरस्कार पाए भने प्रेमसागर भट्टराई लेखा शाखाबाट तथा परमानन्द खनाल प्रशासन शाखाबाट उत्कृष्ट घोषित भए ।