साप्ताहिक संवाददाता
दुवै मृगौलाले काम गर्न छाडेपछि त्रिभुवन शिक्षण अस्पतालमा उपचारार्थ रहेकी गायिका जलजला परियारलाई संगीतकार सुनिल मास्केको संयोजकत्वमा एक लाख ३३ हजार ५ सय रुपैयाँ सहयोग गरिएको छ । केही दिनअघि मात्र संगीतकार मास्केले आफ्नो फेसबुक मार्फत् गायिका जलजला परियारको उपचारका लागि सहयोग जुटाउन अपिल गरेपछि गीतसंगीतको क्षेत्रमा लागेका विभिन्न स्रष्टाहरुले सहयोग गरेका थिए ।
संगीतकार मास्केले १० हजारबाट सुरु गरेको सहयोगमा गीतकार श्रवण जोशी, नूतन भुसाल, योगेन्द्रमणि दाहाल बादल थकाली गायक रामकृष्ण ढकाल, गायीका स्मिता दाहाल, त्रिलोक राना, ऐरेन्जर अमुल कार्की र एलिस कार्की लगायतका स्रष्टाले हातेमालो गरेका थिए ।
अर्की गायिका माण्डवी त्रिपाठीले व्यक्तिगत रुपमै ५ हजार रकम सहयोग गरेकी छन् भने गायक राजेशपायल राईको संयोजकत्वमा जम्मा भएको ३ लाख ८४ हजार ८ सय ६० रुपैयाँ पनि सहयोग गरिएको छ ।
यता, कलाकार केदार घिमिरे (माग्ने बुढा)ले पनि ५० हजार सहयोग गरेका छन् भने गायिका सुनिता दुलालले २० हजार सहयोग गरेकी छन् ।
त्यसैगरी नेपाल आइडलका प्रतियोगी सागर आलेले ५० हजार सहयोग गरेका छन् भने भद्रगोल टीमले ४० हजार सहयोग गरेका छन् । नेपाली तारा सिजन –३ मा उत्कृष्ट ६ बाट बाहिरिएकी गायिका जलजला परियार पछिल्लो समय शास्त्रीय संगीतको अध्ययन गरिरहेकी थिइन् ।