नेपाली संगितका धरोहर दीप श्रेष्ठको सांगीतिक यात्रा ५० बर्ष पुगेको छ । अब्बल गायिकी मार्फत श्रोताहरुका प्रिय गायक बनेका दीपको रचना र संगीतमा तयार भएका गीतहरुले उनको क्रियाशिलता र क्रियटिभिटीलाई अझ बढुवा दिएको छ । उनको ५ दशकको यो यात्रा र अदभूत गायिकी क्षमतालाई हङकङेली दर्शक, श्रोताहरुले सम्मान र माया दिने भएका छन् ।
सरगम साँझ ३ मा उनै गायक दीप श्रेष्ठ आफ्नो ब्याण्डसहित हङकङ जाने भएका छन् । कार्यक्रम नेपाल क्लब हङ्कङले आयोजना गरेको हो । नेपाली सांगीतिक आकाशका उज्जवल नक्षत्र दीप श्रेष्ठ आफैमा संगीतको वादशाह हुन् । संगीतमा निरन्तर पाँच दशक एउटा ईतिहास नै हो । उनको संगीत यात्रा सेलिब्रेशन गर्न पाउँनु हाम्रो लागी खुसीको कुरा हो, नेपाल क्लबकी अध्यक्ष रीता गुरुङ् बताउँछिन् ।
२०२५ सालमा म पत्थरको देउता हैन् भन्ने गीत गाउँदै संगीतमा होमिएका दीप श्रेष्ठले कहिल्यै पछाडी फर्केर हेर्नु परेन । उनका सयौं गीतहरु श्रोताहरुका मन मस्तिष्कमा गढेका छन् । वितेका कुरा, कति कमजोर रहेछ भाग्य, तिमी टाढा हुदा, हर रात सपनीमा, आँखाहरुमा चाह लगायतका गीतहरु जति बर्षपछि सुन्दा पनि उत्तिकै कर्णप्रिय लाग्छन् ।
हरेक बर्ष आयोजना गरिने सरगम साँझको यो तेश्रो संस्करण हो । क्लबले यस अघि प्रेमध्वज प्रधान र दीपक जंगमलाई सम्मान गरिसकेको थियो ।
कार्यक्रममा गायीका दृष्टि श्रेष्ठ, मिस ग्राण्ड ईन्टरनेशनल नेपाल २०१८ फस्र्ट रनरअप तथा मिस पुर्वाञ्चल २०१६ सेकेण्ड रनरअप इक्सा मादेनले पनि आफ्नो प्रस्तुती दिनेछन् । डिसेम्बर ३० तारिकका दिन याउमा तेई स्थित कम्युनिटी हलमा बेलुकी ७ बजेबाट कार्यक्रम शुरु हुनेछ ।