साप्ताहिक संवाददाता
अभिनेता प्रदीप खड्का र कर्मा एउटै पर्दामा देखिने भएका छन् । उनीहरु चलचित्र ‘कबड्डी’ को तेस्रो सिरिजमा सँगै देखिने भएका हुन् । हाल आउँदो चैत २२ देखि प्रदर्शनमा आउउने चलचित्र ‘लभ स्टेसन’मा व्यस्त अभिनेता प्रदीपले ‘कबड्डी कबड्डी कबड्डी’मा अभिनयका लागि आफूले लिखित सम्झौता भने नगरेको बताएका छन् ।
स्क्रिप्टको काम भइरहेको चलचित्रमा प्रदीपले अभिनय गर्ने लगभग तय भइसकेको छ । उनले भनेका छन् ‘चलचित्रमा अभिनय गर्ने सम्भावना धेरै छ तर मैले साइन गरिसकेको छैन ।’ उनले यो चलचित्रमा काम गर्ने मनस्थिती भने बनाएको बताएका छन् । भन्छन् ‘चलचित्रमा कथाको काम भइरहेको छ र चलचित्र गर्ने सेड्युलमा पनि छ तर साइन गरेको छैन ।’
यो चलचित्रका लागि कर्मा भने फाइनल भइसकेका छन् । प्रदीप आफैले पनि बैशाख देखिको समय कबड्डीको लागि छुट्याइएको बताउँदै आएका छन् । प्रदीपसंगै यसपटक सिरिजमा कर्मा पनि भित्रिदैछन् ।चलचित्रमा प्रदीप र कर्मासँगै कबड्डी सिरिजका दयाहाङ राई, बुद्धि तामाङ, विजय बराल र रिश्मा गुरुङ पनि फाइनल भैसकेका छन् ।
यसैगरि चलचित्र निर्माता मध्येका एक निश्चल बस्नेत पनि अघिल्लो दुइ सिरिजमा देखा परिसकेका छन् । यदि उनि पनि यस सिरिजमा देखिए भने दर्शकले प्रदीप, निश्चल, कर्मा र दयाहाङलाई एउटै चलचित्रमा देख्न पाउनेछन् । चलचित्र रामबाबु गुरुङले निर्देशन गर्नेछन् । यो चलचित्रका लागि २०७६ को भाद्र १३ को डेट बुक गरिएको छ । यो डेटमा चलचित्र रिलिज नभएको खण्डमा दसैंमा रिलिज गर्ने बताइएको छ ।