अभिनेता राजेश हमालले एसिड आक्रमणमा परेर उपचार गराइरहेकी वीरगञ्जकी किशोरी मुस्कान खातुनलाई भेट गरेका छन् । आज दिउँसो साढे १२ बजे मुस्कानलाई भेट्न अस्पताल पुगेका हमालले जब उनलाई देखे, केहि समय बोल्नै सकेनन् ।
अस्पतालमा मुस्कानसँग झण्डैं आधा घण्टा गफ गरेर हमाललले मुस्कानको अनुहारमा मुस्कान थप्ने प्रयास गरे । उनको अगाडी बसेर अभिनेता हमालले भने, ‘निको भैसकेछ त, अब त घर जान धेरै दिनपनि बाँकी छैन होला ।’
हमाललाई देखेपछि मुस्कान केहि समय हेरेको हेरै भइन् । अनि मुस्कानको अर्ध जलेको चेहरा मुस्कुरायो । हमालले मुस्कानलाई सोधे, ‘दुखेको छ हो ?’ धेरै मधुरो स्वरमा मात्रै बोल्ने मुस्कानले भनिन्, ‘उम ।’ हमालले फेरी थपे, ‘जति दुख्नुछ दुःखोस्, त्यसपछि कहिल्यै दुख्नेछैन ।’ अहिले जुन घटना भयो, त्यसलाई सामना गरेर पढाई र करिअरको ध्यान दिएर अगाडी बढ्नुपर्छ है ? – मुस्काइन् मुस्कान ।
फ्युचरमा के बन्ने इच्छा छ ? उनले भनिन्, ‘डाक्टर ।’ हमालले भने, ‘तिम्रो उमेरमा म कलाकार बन्छु भनेर लागेको थिएँ, कलाकार भएँ । तिमी डाक्टर हुन्छु भनेकी छौं, जसरी पनि डाक्टर हुनुपर्छ नि !'
संसारमा बोल्नै नसक्ने, देख्नै नसक्ने, हिड्नै नसक्ने धेरै व्यक्तीहरु पनि छन्, तिमी त मज्जाले बोल्न, हिड्न सक्छ्यौ । घाइते बनेको उनको हात समात्दै हमाल भन्छन्, ‘अनुहार भन्ने कुरा त हाम्रो पनि चाउरी पर्छ । तर, कहिल्यै हिम्मत हार्नु हुन्न । यस्ता कुराले त तिमी झन् स्ट्रङ्ग हुनुपर्छ ।’
मुस्कानलाई भेटेपछि साप्ताहिकसँग संक्षिप्त गफ गर्दै हमालले एसिड आक्रमण गर्नेलाई कडा भन्दा कडा सजाय हुनुपर्ने बताए । उनले भने, ‘यस्तो घटना हुनु आफैमा दुःखद् कुरा हो, सरकारले मुस्कानसँगै अरु धेरै मुस्कानहरुको यथासिघ्र चाँडो उपचारमा सहयोग गरिदिनुका साथै जघन्य अपराध गर्ने जो कसैलाई पनि ठुलो सजाय दिनुपर्छ ।’
१४ वर्षीया मुस्कान कीर्तिपुर अस्पतालमा उपचाररत छिन् । हिजो मात्रै मुस्कानको अर्को शल्यक्रिया भएको छ । काम नगर्ने भएपछि डाक्टरले उनको दायाँ कान काटेका छन् । कान काटिएपछि मुस्कान थप बिक्षिप्त भएकी छिन् । पार्ट टाइमर अभियन्ता उज्ववल थापाका अनुसार मुस्कानको लागी कृत्रिम कान निर्माण भइसकेको छ । केहि दिनमै उनलाई उक्त कान दिइनेछ । सहयोग र मुस्कानलाई हौसला दिन आउनेहरुको भिड लागिरहेपछि मुस्कान थप बलियो बनेको उनको भनाई छ ।
भदौ २० गते बिहान करिब ६ बजेतिर घरबाट विद्यालय हिँडेकी मुस्कान खातुनमाथि वीरगञ्जमा एसिड प्रहार भएको हो । कक्षा ९ मा पढ्दै गरेकी वीरगञ्ज छप्कैया– ३ की मुस्कानले एक युवकको प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड प्रहार भएको थियो । नारायणी अस्पतालमा भएको प्राथमिक उपचार पश्चात यतिबेला उनको काठमाडौँ स्थित कीर्तिपुर अस्पतालमा थप उपचार भइरहेको छ । आक्रमण गर्ने युवकलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
मुस्कानको शल्यक्रिया भयो । घाँटी र हातमा एसिडले धेरै असर गरेको छ । शल्यक्रिया पश्चात मुस्कान खतरा मुक्त छिन् । तर, निको हुन धेरै समय लाग्ने चिकित्सकले जनाएका छन् । हालसम्म मुस्कानलाई बलिउड अभिनेता अमिताभ बच्चन, शाहरुख खान, कृती सेनन, बरुण धवनले भिडियो तथा समाजिक सन्जालबाट मुस्कानको स्वास्थ्य लाभको कामना गरेका छन् भने नेपालकी चर्चित मोडल नीति शाह, गायक राजु लामा, पुर्व मिस नेपाल श्रृंखला खतिवडा लगायतले भेटेर प्रत्यक्ष रुपमा स्वास्थ्य लाभको कामनासहित सरकारसँग आक्रमणकारीलाई कडा भन्दा कडा सजाय दिन माग गरेका छन् ।