दशैं र तिहार भनेपछि संसारको जुनसुकै कुनामा रहेका नेपालीको मन एकाएक उत्साहित हुन्छ । किनभने, दशैं र तिहार नेपालीहरुले मनाउने सबैभन्दा ठुला पर्व हुन् । यि पर्व नेपालमा मात्रै कहाँ मनाइन्छ ? संसारका कुना–कुनामा पनि नेपालीहरु जम्मा हुन्छन् र सेलिब्रेट गर्छन् । कुरा हङकङको पनि त्यस्तै हो ।
नेपालीहरुको बाक्लो उपस्थिती रहेको हङकङमा पनि नेपालीहरु तिहार धुमधामका साथ मनाउँदै आएका छन् । दशैं मनाएको केहि हप्तापछि आउने अर्को ठुलो चाड तिहारलाई विशेष बनाउन यहाँका नेपालीहरु विभिन्न कार्यक्रमहरुको आयोजना गरिरहेका हुन्छन् । यसपटक पनि उनीहरु तिहारलाई उल्लासमयपुर्ण किसिमले मनाउन तयार छन् । यद्यपी, यहाँ लामो समयदेखि आन्दोलन भैरहेको छ र यो आन्दोलन नेपालीहरुको मनोरन्जनात्मक कार्यक्रममा भिलेन बनेर उभिएको छ ।
हङकङमा करिब ४ महिनादेखि निरन्तर चलेको आन्दोलनले नेपाली जनजीवन अस्तव्यस्त पारेको छ । सुपुर्देगी विधेयक विरुद्ध शुरु गरिएको आन्दोलनले उग्ररुप लिएपछि त्यसको प्रभाव नेपालीहरुमा पनि परेको हो । उनीहरुका दैनिक क्रियाकलापमा समेत परेको छ ।
कतिसम्म भने नेपालीहरुले बर्षेनि मनाउने चाडपर्वमा समेत खुलेर मज्जा लुट्न पाएका छैनन् । हङकङमा बस्दै आएका ओम गुरुङ भन्छन्, ‘हामी यो आन्दोलन छिट्टै सकियोस् भन्ने कामना गरेका छौं, आशा छ आन्दोलन सकिएर पहिलेको जस्तै हङकङ बन्नेछ ।’ उनले आन्दोलनले चाडपर्वमा मात्रै नभएर दैनिक जिवनमा समेत असर परिरहेको बताए ।
हङकङमा प्राय हरेक कार्यक्रम सार्वजनिक विदा (आईतबार)का दिन आयोजना गरिन्छ । अन्य समयभन्दा शनिबार र आईतबार आन्दोलनमा व्यापक सहभागी हुनाले गर्दा तय गरिएका कार्यक्रमहरु प्रभावित भैरहेका छन् ।
डरै–डरमा तिहार सेलिब्रेट
तिहारमा दिदीबहिनीहरुले आफ्ना दाजुभाईहरुलाई भाईटिका लगाईदिन्छन्, दाजुभाईले पनि आफ्ना दिदीबहिनीहरुलाई मायाको चिनो दिदै आर्शिवाद दिन्छन् । विदेशमा टिका लगाईन्छ तर आफ्नो देशमा जस्तो देउसी र भौलो खेल्न त सहज छैन ।
देउसी र भैलोको लागि जातीय, क्षेत्रीय र भौगोलिकताको आधारमा स्थापना भएका समाजहरुले कार्यक्रमहरुको आयोजना गर्छन । गीत, संगितमा नाच्दै र देउसी भैलो गीत गाउँदै तिहार मनाईन्छ । यद्यपी, जारी आन्दोलनले नेपालीहरुलाई खुलेर सेलिब्रेट गर्न डराइरहेका छन् ।
कहाँ के कार्यक्रम हुँदैछ ?
गत हप्ता काने पोखरी समाज हङकङले तिहार विशेष एक कार्यक्रमको आयोजना गरिसकेको छ । कार्यक्रममा भेला भएका काने पोखरी बासीहरुले सामुहिक रुपमा देउसी खेले । टेबल टेबलमा नाङ्लो, सयपत्री फुलसहित देउसी भट्याउँदै दक्षिणा मागे । कार्यक्रमका संयोजक जीवन गुरुङ भन्छन्, ‘हामीले करिब ४ लाख रुपैयाँ संकलन गरेका छौं । तिहारमा गाउँका सबैजना एकसाथ भेला भएर यस्तो कार्यक्रम गर्दा रमाइलो पनि हुन्छ र संकलन गरिएको रकम संस्थाको कोषमा जम्मा पनि हुन्छ ।’
देउसी भन्ने बित्तिकै साथीभाई भेला भएर घरघरमा गई आँगनमा घुम्दै भट्याउदै दक्षिणा मागिन्छ । तर, त्यहि अनुरुप बिदेशमा देउसी खेल्न जाने ठाउँ हुँदैन, उनले भने, ‘हामी आपसमा भेट भएपछि त्यो वातावरणलाई नेपाल बनाउँछौं ।’ हङकङमा भएपनि भन्छन्, ‘बिदेशमा भएपनी नेपालमा जस्तै रमाएर तिहार मनाउने गरिन्छ, यसका लागी साथिभाईहरुसँग रकम उठाइन्छ र धुमधाम इन्जोए गरिन्छ ।’
संस्थाको च्यारिटीको लागि खेलिएको देउसी भएपनि यसले हुर्किदै गरेका नयाँ पुस्तालाई हाम्रो संस्कृतिप्रति अभ्यस्त बनाउँछ, उनी भन्छन् ।
खोटाङ समाज हङकङले पनि तिहारलाई मध्यनजर गर्दै हिन्सको कार्यालयमा देउसी भैलो कार्यक्रमको आयोजना गरेको छ । समाजका सक्रिय सदस्य मज्जाको राई भन्छन्, ‘तिहारमा शुभकामना आदनप्रदानसँगै समाजको आर्थिक कोषलाई मजबुत बनाउन पनि कार्यक्रमले टेवा पुग्छ ।’
मगर संघ हङकङले तिहार विशेष देउसी भैलो कार्यक्रमको आयोजना गर्ने भएको छ । अक्टोबर २७ तारिकका दिन हङकङ स्थित मंकि हिलमा भब्यरुपमा तिहार मनाउने तयारी भैरहेको छ ।
हङकङमा रहेका भारितिय भुपु सैनिकहरुको संगठन भारतिय गोर्खा भुपु सैनिक संघले तिहारको उपलक्ष्यमा खाना पार्टीका साथै देउसी भैलो कार्यक्रमको आयोजना गर्यो । तिहार शुरु हुनु अगाबै रौनकताका साथ कार्यक्रम सम्पन्न गरिएको थियो ।
संखुवासभा समाज हङकङले पनि देउसी भैलो तथा तिहार शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ । १० नोभेम्बरका दिन ब्लु ओसियन रेष्टुरेन्ट एण्ड बारमा कार्यक्रमको आयोजना गरिने भएको छ ।
आफ्नो भाषा, धर्म र संस्कृतिको संरक्षण तथा प्रर्वदन गरौं भन्ने मुल नाराको साथमा स्थापना भएको किरात याक्खा छुम्मा हङकङले पनि देउसी भैलो कार्यक्रम २०१९ को आयोजना गरेको छ । ३ नोभेम्बरका दिन बगैचा रेष्टुरेन्टमा कार्यक्रमको आयोजना गरिनेछ ।
९ नोभेम्बरका दिन मर्दी खोला सेवा समिती कास्की हङकङले पनि आफ्ना समाजका सदस्यहरुलाई शुभदिपावलीको उपलक्ष्यमा शुभकामना आदनप्रदानका साथै रात्रीभोज कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रम ईण्डिन क्लब जोर्डनमा आयोजना हुनेछ ।
हङकङमै रहेको अर्काे संस्था श्रीमनकामना पेल्काचौर सेरोफेरो समाज स्याङ्जाले पनि २६ अक्टोवरका दिन तिहारलाई मध्यनजर गर्दै बार्षिक भेटघाट र तिहारको शुभकामना आदनप्रदानको कार्यक्रम आयोजना गरेको छ ।