साप्ताहिक संवाददाता
नेपाल टेलिभिजनबाट प्रसारण हुँदै आएको हाँस्य टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किगो नि’ बीचको विवाद झन् बढेको छ । लामो समयदेखि उनीहरुविच भैरहेको चर्काचर्की मत्थर हुन सकेको छैन । मिडिया हबले भद्रगोलका पात्र र चरित्र चोरेको आरोपमा ‘सक्किगो नि’ टिमविरुद्ध प्रहरीमा उजुरी दिएपछि विवाद थप चर्किएको हो ।
मिडिया हबले उत्पादन गर्दै आएको भद्रगोलबाट कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे ‘पाँडे’ लगायत कलाकारको बलियो टिम अलग्गिएर ‘सक्किगो नि’ प्रशारण गरिरहेका छन् । मिडिया हबले लामो समयदेखि आफुहरुसँग विभिन्न विषयमा किच–किच गरेपछि छुट्टिएर अर्को कार्यक्रमको आयोजना गरिएको अर्जुन घिमिरे (पाँडे) ले बताए । आफुहरुले उत्पादन गरेका पात्र र चरित्र कलाकार आफ्नै नितान्त हुने भएकाले विभिन्न झमेलामा नपार्न उनले मिडिया हबलाई आग्रह गरे ।
‘सक्किगो नि’ टेलिसिरियल उत्पादन थालेका उनीहरुको हुलिया र चरित्र पहिलेको जस्तै छ । सोहि कारण मिडिया हबले प्रहरीमा उजुरी दिएको हो । अहिले प्रहरीले अनुसन्धान गरिरहेको जनाइएको छ ।
प्रहरीमा उजुरी दिएपछि आइतबार प्रहरीसामु कुमार कट्टेल ‘जिग्री’, अर्जुन घिमिरे पाँडे लगायत पुगेर आफ्नो धारणा दिएका छन् ।
कलाकार कुमार कट्टेलले सामाजिक सन्जाल फेसवुकमा स्ट्याटस राख्दै भनेका छन्, ‘यही देशमा बसेर कलाकारिता गर्नु र कलाकार बन्नु नै मेरो गल्ती हो भने उजुरी मात्र किन हातमा हत्कडी नै लगाएर थुनिदिनुस् ।’ सक्किगो नि टिमलाई नेपालका धेरै कलाकारले समर्थन गर्दै समग्र कलाकारलाई स्वदेशमै काम गरि खाने वातावरण मिलाइदिन सरकारसँग माग समेत गरेका छन् ।