साप्ताहिक संवाददाता
गत शुक्रबार बलिउडमा एकमात्र चलचित्र उजडा चमन प्रदर्शनमा आयो । आयुष्मान खुरानाको अपकमिङ चलचित्र बालासँग कथाको प्लट जुधेको आरोप लागेको यो चलचित्रले राम्रै व्यापार गर्ने अपेक्षा गरिएको थियो । यद्यपि त्यसको ठीक विपरीत चलचित्रले पहिलो विकेन्डमा १० करोडजतिको मात्र व्यापार गरेर निर्माताहरूको अपेक्षामाथि तुषारापात गरेको छ । त्यसो त यो चलचित्रको कुल बजेट नै १५ करोड मात्र हो ।
अघिल्लो शुक्रबार प्रदर्शित दुई चलचित्र हाउसफूल–४ ले भने निर्माताहरूको गोजी भरिदिएको छ । २ अर्ब जति लगानी भएको यो चलचित्रले दोस्रो विकेन्डसम्ममा सवा २ अर्ब बराबरको कारोबार गरेर आफूलाई सफल चलचित्रको श्रेणीमा उकासिसकेको छ । उता हाउसफूल–४ सँगै प्रदर्शन भएको साँढकी आँख भने समीक्षकहरूको समर्थनका बावजुद नराम्रोसँग डुबेको छ । ४५ करोड लगानी गरिएको यो चलचित्रले दोस्रो विकेन्डसम्ममा २५ करोड मात्र उठाउन सकेको छ ।
हलिउडमा पछिल्ला दुई शुक्रबार चलचित्र जोकरको व्यापारका कारण कुनै चलचित्र प्रदर्शनमा आएनन् । कात्तिक १ गते शुक्रबार प्रदर्शित चलचित्र मेल फिसेन्ट: मिस्ट्रेस अफ एभिलले भने तेस्रो वीकेन्डसम्ममा १ करोड ९३ लाख ६९ हजार ८ सय डलर बराबरको कारोबार गरेर निर्माताहरूलाई अलिकति भए पनि राहत दिएको छ ।