साप्ताहिक संवाददाता
कान्तिपुर पब्लिकेसन्स २८ औं वर्षमा प्रवेश गरेको छ । थापाथलीस्थित कान्तिपुर मिडिया ग्रुपको कर्पोरेट कार्यालय, सेन्ट्रल बिजनेस पार्क परिसरमा पब्लिकेसन्सले बुधबार एक समारोहसहित वार्षिकोत्सव मनाएको हो ।
समारोहलाई सम्बोधन गर्दै ग्रुपका अध्यक्ष कैलाश सिरोहियाले नेपालका ठूला–ठूला राजनीतिक आन्दोलन र परिवर्तनमा कान्तिपुरले सधैं महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । अभिव्यक्ति स्वतन्त्रताको प्रतिकूल अवस्थासँग जुध्दै कान्तिपुर अघि बढेको बताउँदै उनले भने, ‘हामीले बेलाबेलामा थुप्रै धम्की र चेतावनीको सामना गर्नुपरेको छ । ती सारा धम्की तथा व्यवधानलाई चिर्दै निर्भीक पत्रकारितामा हामी अगाडि बढेका छौं ।’ उनले सबैको साथ–सहयोगमा निरन्तर निर्भीक पत्रकारिताको यात्रामा अघि बढ्ने प्रतिज्ञा दोहोर्याए ।
कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्माले पछिल्लो समय पत्रकारिता क्षेत्रमा केही अवरोध सिर्जना भएको चर्चा गरे । ‘चुनौतीलाई चिरेर कसरी अघि बढ्ने भन्ने हाम्रो प्रश्न छ । १० वर्षअगाडि जसरी कान्तिपुरमा पत्रकारिता गरियो, अब त्यो ढंगले गरेर हुन्न । छुट्टै ढंगले अघि बढ्नुपर्ने दबाब छ,’ उनले भने । त्यसका लागि पछिल्लो समय समाजसँग प्रत्यक्ष संवादको सुरुवात गरेको उनको भनाइ थियो । पत्रिकाले डिजिटल स्वरूपलाई पनि फरक र सशक्त ढंगले अगाडि बढाउने प्रयत्न गरिरहेको उल्लेख गरे ।
द काठमाडौं पोस्टका प्रधान सम्पादक अनुप काफ्लेले मिटू आन्दोलन, भ्रष्टाचारलगायतका धेरै विषयमा खोजमूलक र प्रभावकारी रिपोर्टिङ गरेको बताए । ‘हामीले निडर भएर धेरै मुद्दा उठायौं । निष्पक्ष पत्रकारितालाई मूल ध्येय मानेर कार्यसम्पादन गर्यौं,’ उनले भने । काफ्लेले आफू द काठमाडौं पोस्टबाट बिदा भएको पनि घोषणा गरेका थिए ।
साप्ताहिक तथा नारी मासिकका सम्पादक राजाराम गौतमले कान्तिपुर अहिले अवसर र चुनौती दुवैको बीचमा रहेको बताए । ‘कान्तिपुर समाज परिवर्तनमा उल्लेखनीय योगदानसहित सारथि बनेर अघि बढेको छ । अनुदार शासकले पैदा गरेका अप्ठेरासँग भिड्दै आएको छ,’ उनले भने, ‘त्यसलाई चिर्दै अघि बढ्नुको विकल्प छैन ।’ नारी र साप्ताहिकले सामाजिक मुद्दालाई सशक्त ढंगले उठाउँदै आएको र त्यसमार्फत समाजको सांस्कृतिक समृद्धिमा योगदान दिन आफूहरू कटिबद्ध रहेको उनले उल्लेख गरे ।
नेपाल साप्ताहिकका सम्पादक वसन्त बस्नेतले समृद्धिको एजेन्डा लिएर भोट माग्नेहरूले नै बाटो बिराएर अहिले अभिव्यक्ति स्वतन्त्रतामा अवरोध खडा गरिरहेको बताए । अवरोधसँग भिड्दै आफूहरूले जनताको पक्षमा उभिएर सत्तालाई दबाब दिँदै सचेत बनाउने काममा लागिरहेको उनको दाबी थियो । ‘नेपालले राजधानी र राजधानीबाहिरका विभिन्न इस्युहरूमा कभर स्टोरी बनाएको छ । डिजिटल पाटोमा पनि फरक र समयानुकूल परिष्कृत काम गर्दै गइरहेको छौँ,’ सम्पादक बस्नेतले भने ।
वार्षिक उत्सवका अवसरमा पब्लिकेसन्सले विभिन्न विभागमा काम गर्ने पत्रकार तथा कर्मचारीमध्येबाट उत्कृष्ट छनोट गरी एवार्डसमेत प्रदान गरेको थियो । वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेल प्रतियोगिताका विजेताहरू पनि पुरस्कृत भएका थिए ।