साप्ताहिक संवाददाता
छोटो समयमै नेपाली घरेलु क्रिकेटले ठूलो छलाङ मारेको छ । इपीएल, डीपीएल हुँदै नेपाली क्रिकेटले अब पीपीएलको अनुभव गर्दैछ ।
सहकार्यमा फ्यान्टासी
पोखरा प्रिमियर लिग अर्थात् पीपीएललाई लक्षित गरेर नेपाली क्रिकेटमै पहिलो पटक आधिकारिक रुपमा अनलाइन क्रिकेट फ्यान्टासी पनि सञ्चालनमा आएको छ । क्रिकेट समर्थकहरूले (LetzCricket) मा लगइन गरेर यो फ्यान्टासीमा सहभागिता जनाउन सक्नेछन् । यो अनलाइन फ्यान्टासीमा विजयी हुने प्रतियोगीलाई पीपीएलमा सहभागी टिमका मार्की प्लेयर्सद्वारा साइन गरिएको क्रिकेट ब्याट पुरस्कार स्वरुप प्रदान गरिनेछ ।
विगत केही वर्षदेखि नेपाली तथा अन्तर्राष्ट्रिय क्रिकेटका गतिविधि समेटेर अनलाइन पोर्टल चलाउँदै आएको लेट्जक्रिकेट ९ीभतशऋचष्अपभत० सँगको सहकार्यमा यो फ्यान्टासी लिग सञ्चालनमा आएको हो । यसअघि पनि लेट्जक्रिकेटले विभिन्न घरेलु क्रिकेट प्रतियोगितामा फ्यान्टासी लिग सञ्चालन गरेको थियो । यसपटक भने आधिकारिक रुपमा पीपीएलसँग आबद्ध भएर फ्यान्टासी सञ्चालन भएकाले यसले बृहत् रूप लिने अनुमान गरिएको छ । यसअघि नेपाली घरेलु लिगहरू एभरेष्ट प्रिमियर लिग (इपीएल) तथा धनगढी प्रिमियर लिगलाई लक्षित गरेर लेट्जक्रिकेटले अनलाइन क्रिकेट फ्यान्टासीको प्रयोग गरेको थियो । प्रतियोगिताका आधिकारिक आयोजकसँग आबद्ध नभए पनि उक्त फ्यान्टासी लिगले क्रिकेट समर्थकमाझ राम्रै छाप छोडेको थियो ।
अघिल्लो प्रयोगमा फ्यान्टासीले बटुलेको यही लोकप्रियताका आधारमा पीपीएलका आयोजकहरूले फ्यान्टासीलाई आधिकारिकता प्रदान गरेका हुन् ।
के हो फ्यान्टासी ?
खेलकुद, टेक्नोलोजी तथा परिकल्पनाको मिश्रण हो— फ्यान्टासी । फ्यान्टासीमा आफ्नो कल्पनाअनुरूपका खेलाडीहरू समेटी कुनै एक प्रतियोगिता वा खेलका लागि एउटा टिम बनाइन्छ । आफुले उक्त टिम बनाएपछि, आफ्ना टिमका खेलाडीले प्रतियोगितामा गरेको प्रदर्शनअनुरूप प्वाइन्ट पाइन्छ, तर आफ्नो टिम बनाउन टिमका केही मापदण्ड हुन्छन् र ती मापदण्ड खेलको फम्र्याट तथा लेभलअनुसार फरक–फरक हुन सक्छन् ।
पीपीएल फ्यान्टासीका नियम
पीपीएल फ्यान्टासी खेल्न पीपीएलको आधिकारिक वेबसाइटमा गै फ्यान्टासीमा लगइन गर्नुपर्ने हुन्छ । त्यसपछि आफ्नो टिम बनाउँदा, ब्याट्सम्यान र बलर समान चार–चार तथा एक विकेटकिपर र एक अलराउन्डर अनिवार्य राख्नुपर्ने हुन्छ । प्लेइङ ११ मध्येको बाँकी १ खेलाडी भने आफ्नो इच्छा अनुसार राख्न पाइन्छ । यसरी ११ जनाको टिम बनाउँदा प्रतियोगिताको एउटै क्लबका ६ भन्दा बढी खेलाडी राख्न पाइँदैन र दिइएको रकमले पुग्ने गरी टिम बनाउनुपर्ने हुन्छ ।
फ्यान्टासीले यो अनलाइन गेम खेल्ने व्यक्तिभित्र लुकेको म्यानेजरियल क्षमतालाई उजागर गर्छ र उपहार जिताउँछ । फ्यान्टासीमा आफूलाई मन पर्ने खेलाडीले नजिताउन पनि सक्छन्, तर आफूभित्रको क्रिकेटको ज्ञान, क्षमता एवं कौशलले भने पक्कै जिताउँछ । यसमा इच्छुक सबैले सहभागिता जनाउन सक्छन् ।
विशेष सुझाव : फ्यान्टासी टिम बनाउनुअघि फ्यान्टासीका नियम बुझेर आफ्नो टिम तयार पार्नुहोला ।