साप्ताहिक संवाददाता
अमेरिकाको मिचिगनमा डाक्टरहरूले एक युवा खेलाडीको दुवै फोक्सो प्रत्यारोपण गरेको दाबी गरेका छन् । हेनरी फोर्ड अस्पतालका मेडिकल टिमले १७ वर्षीय ती खेलाडीको गत अक्टोबर १५ मा करिब ६ घण्टा लगाएर शल्यक्रिया गरेको बताएका छन् । ती खेलाडीलाई गत सेप्टेम्बर ५ मा सेन्ट जोन अस्पतालमा भर्ना गरिएको थियो । केही दिनमै श्वासप्रश्वासमा समस्या भएपछि उनलाई सेप्टेम्बर १२ मा भेन्टिलेटरमा राखिएको थियो ।
स्वास्थ्यमा अझै खराबी आएपछि उनलाई मिचिगन पुर्याइएको थियो । उनको अवस्था गम्भीर भएपछि डाक्टरहरूले फोक्सो प्रत्यारोपण गर्ने निष्कर्षमा पुगेका थिए । भेपिङका कारण ती खेलाडीको फोक्सोमा पूरै असर गरेको थियो । ई–सिगरेट वा कुनै डिभाइसबाट वाफका रूपमा निकोटिन लिनुलाई भेपिङ भनिन्छ । अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले पहिलो पटक भेपिङकै कारण यसरी शल्यक्रिया गर्नुपर्ने भएपछि भेपिङले मानिसको जीवनमा पार्ने असरलाई गम्भीर रूपमा लिएको बताएको छ ।
यसका कारण भेपिङसँग जोडिएको रोगका कारण कमसेकम ३९ अमेरिकीको मृत्यु भइसकेको छ र २ हजारभन्दा धेरै मानिस अस्पताल पुगेका छन् । त्यसैले अब भेपिङका लागि प्रयोग गरिने डिभाइस वा यससम्बन्धी सबै सामग्री प्रयोगमा रोक लगाइनुपर्ने आवाजसमेत उठेको छ ।