साप्ताहिक संवाददाता
नेपाली बजारमा एफटेक ब्रान्डका बाइक भित्रिएका छन् । म्याक्स भिजन लिमिटेडले एफटेकका तीन मोडलका बाइक नेपाली बजारमा सार्वजनिक गरेको छ । गत आइतबार नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले एक कार्यक्रमका बीच बाइक सार्वजनिक गरे । भारतमा उत्पादित एफटेकका तीन मोडलका बाइक टर्बो, नाइट राइडर र स्कोर्पियन नेपाली बजारमा भित्रिएका छन् ।
शक्तिशाली इन्जिन र अत्याधिक माइलेज, आरामदायी र सुरक्षित मोटरसाइकल पारखीहरूका लागि यी बाइक निकै उपयोगी भएको कम्पनीले जनाएको छ ।
एफटेकका मोटरसाइकल उच्च प्रविधिबाट सुसज्जित छन् । १ सय ७० सीसीको शक्तिशाली इन्जिन, बीएस ४ उत्सर्जन न्यूनता तथा बीएस ६ कम्प्याटिबल इन्जिन, एबीएस, ४५ किलोमिटरको उच्च माइलेज, २० लिटरको ठूलो इन्धन ट्यांकी तथा अतिरिक्त सुरक्षाका लागि साइड स्ट्यान्ड सेन्सर आदि विभिन्न फिचरहरू यी बाइकमा उपलब्ध छन् । टर्बोको मूल्य ३ लाख ९ हजार ९ सय र नाइट राइडर तथा स्कोर्पियनको मूल्य ३ लाख १९ हजार ९ सय रुपैयाँ तोकिएको छ ।