साप्ताहिक संवाददाता
जासुसीको खतराका कारण संयुक्त राज्य अमेरिकाले आफ्ना सेनालाई चिनियाँ कम्पनीको मोबाइल एप टिकटकको प्रयोग गर्नबाट निषेध गरेको छ । अमेरिकाले सुरक्षा चुनौतीको कारण देखाउँदै सेनालाई टिकटक चलाउन रोक लगाएको हो ।
केही समयअघि अमेरिकी सञ्चारमाध्यमहरूसँग कुरा गर्दै अमेरिकी सेनाकी प्रवक्ता तथा प्रमुख सेनानी रोबिन ओचोआले यो एप साइबरका दृष्टिले खतरनाक रहेको बताएकी थिइन् । प्रवक्ता ओचोआले सैन्य अधिकारीहरूलाई सरकारी स्वामित्वमा रहेका फोनहरूमा सन् २०१९ को डिसेम्बरको तेस्रो साताबाट टिकटक प्रयोग नगर्न बताएकी थिइन् ।
त्यस्तै अमेरिकी सिनेटर चक शुमरले अमेरिकी विदेशमन्त्री रायन म्याकार्थीलाई चीनमा बनेको टिकटक एपले आफ्नो देशको सुरक्षा व्यवस्थामा असर पार्न सक्ने चिन्ता व्यक्त गर्दै पत्रसमेत लेखेका थिए । चीनले टिकटकको माध्यमबाट संवेदनशील व्यक्तिगत जानकारी, आईपी ठेगाना र प्रयोगकर्ताको स्थानको जानकारी लिने काम गरेको सिनेटर शुमरले पत्रमा उल्लेख गरेका थिए ।
चिनियाँ कम्पनी बाइट डान्सको स्वामित्व रहेको यो एपमाथि अमेरिकासहित अन्य केही मुलुकले पनि कडा निगरानी गरिरहेका छन् । संसारभर आधा अर्बभन्दा बढी प्रयोगकर्ता रहेको यो एपले १५ सेकेन्डसम्मको भिडिओ बनाउनका लागि सहयोग गर्छ ।