साप्ताहिक संवाददाता
आज अन्तर्राष्ट्रिय महिला दिवस । विश्व खेलकुद इतिहासमा यस्ता केही महिला खेलाडी छन्, जसको प्रभाव अत्यधिक छ । अझ भनौं, यिनै महिला खेलाडीहरू विश्व खेलुकदलाई आफू अनुकूल फेर्न सफल रहे । उनीहरूको उपस्थितिबिना अहिलेको विश्व खेलकुद वर्तमान स्थितिमा आउने थिएन । यी महिला खेलाडीको योगदान खेलकुदमै मात्र सीमित रहेन । यसको प्रभाव समग्र समाजमा पनि पर्यो ।
एनिका सोरेन्सटम
गल्फमा पुरुष जति सफल हुन सक्छ्न, महिला पनि उत्तिकै सफल हुन सक्छन् भन्ने सबैभन्दा राम्रो उदाहरण हुन्— एनिका सोरेन्सटम । एनिकाले १८ वर्ष गल्फ कोर्समा बिताइन् र त्यसक्रममा ७२ एलपीजीए तथा १२ इन्टरनेसनल उपाधि जितिन् । उनी जुनियर स्तरमा टेनिस र फुटबलमा पनि उत्तिकै राम्रो खेलाडी थिइन् । एनिकाले खास नाम कमाएको खेल गल्फ नै थियो र त्यस क्रममा उनी पुरुष खेलाडी सरह नै चर्चामा रहिन् ।
बोनी ब्लेयर
शीतकालीन खेलकुदले पाएको सबैभन्दा ठूला नाम हुन्छन्— बोनी ब्लेयर । उनलाई स्पिड स्केटरमा अहिलेसम्मकै महान खेलाडी मानिन्छ । ब्लेयरले ६ वटा शीतकालीन ओलम्पिक पदक जितेकी छिन्, जसमा ५ वटा स्वर्ण पदक छन् । शीतकालीन खेलकुदमा उनलाई अमेरिकी खेलकुद इतिहासकै सर्वाधिक सफल खेलाडी मानिन्छ । उनकै कारणले हिउँमा खेलिने खेल अमेरिका, क्यानाडा तथा अरू प्रमुख युरोपेली देशमा लोकप्रिय भएको मानिन्छ ।
स्टेफी ग्राफ
महिला टेनिसमा स्टेफी ग्राफ जत्तिको लोकप्रिय खेलाडी विरलै होलान् । विश्व टेनिसमा पुरुष मात्र सुपर स्टार हुने समयमा यी जर्मन खेलाडीले पनि त्यही प्रतिष्ठा आत्मसात् गरिन् । कीर्तिमान २२ ग्रान्ड स्लाम उपाधि जितेकी ग्राफ सर्वाधिक लामो समय नम्बर १ खेलाडी रहिन् । अहिले पनि महिला टेनिस भनेपछि ग्राफको नाम आइहाल्छ । अहिलेको पुस्ताका जति पनि महिला खेलाडी छन्, प्रायः सबैको आदर्श ग्राफ नै हुन् ।
बिल्ली जिन किङ्ग
बिल्ली जिन किङ्ग तिनै खेलाडी हुन्, जसले वुमन्स टेनिस एसोसियसन (डब्लूटीए) स्थापना गरिन् । उनले आफ्नो खेल जीवनमा कुल ३९ ग्रान्ड स्लाम उपाधि जितिन, जसमा १२ एकल उपाधि समावेश छ । उनले आफू खेलुन्जेल पुरुष र महिलाको समान अधिकारका लागि लडिन् । उनी महिला खेलाडी पनि पुरुष जक्तिकै हुने दाबी गर्थिन् र त्यस त्रममा पुरुष खेलाडीलाई आफूविरुद्ध खेल्ने चुनौती पेस गर्थिन् । उनलाई सेक्स वारको प्रतीकसमेत मानिन्छ ।
सेरेना विलियम्स
महिला टेनिसमा सेरेना विलियम्सलाई पुरुष खेलाडी जत्तिकै खेल्न सक्ने खेलाडी मानिन्छ । उनको शारीरिक बनावट नै त्यस्तै छ । उनको खेल पनि उत्तिकै अब्बल दर्जाको छ, अन्यथा उनले सर्वाधिक ग्रान्ड स्लाम उपाधि जित्ने खेलाडीको सूचीमा स्टेफी ग्राफलाई पछाडि पार्ने थिइनन् । अमेरिकाकी यी अश्वेत खेलाडीलाई महिला विश्व टेनिसकै सर्वाधिक सफल खेलाडी मानिन्छ । उनी अहिलेसम्म पनि सक्रिय छिन् र सन्यास लिंदासम्म उनको नाममा अरू धेरै कीर्तिमान थपिइसक्नेछ ।
मार्टिना नभ्रातिलोभा
सेरेना विलियम्स र स्टेफी ग्राफले जुन सफलता प्राप्त गरे, त्यसको जग बसाउने खेलाडी हुन्— मार्टिना नभ्रातिलोभा । उनी चरम शीतयुद्धका बेला तत्कालीन साम्यवादी चेकोस्लाभाकिया छाडेर अमेरिका गइन् र अमेरिकाकै लागि टेनिस खेलिन् । उनको त्यो काम त्यति बेला अदम्य साहसको प्रतीक थियो । उनी समलिंगी महिलाको अधिकारका लागि लड्ने प्रखर खेलाडीसमेत हुन् । मार्टिना सामान्य महिला पनि शारीरिक रूपमा फिट हुनुपर्छ भन्ने धारणा राख्छिन् ।
फ्लोरेन्स ग्रिफिथ जोन्स
विश्व एथलेटिक्समा उनी फ्लो जो नामले बढी चिनिइन । यी अमेरिकी खेलाडी विश्व एथलेटिक्समा सबैभन्दा तीव्र गतिको धाविकाका रूपमा चर्चित रहिन् । सन् १९८८ को सोल ओलम्पिक्समा उनले सय तथा दुई सय मिटर दुवैमा स्वर्ण पदक जितेर विश्व खेलकुदमा तहल्का मच्चाइन् । उनले एथलेटिक्समा फेसन पनि भित्र्याइन्, तर उनको ३८ वर्षको उमेरमै निधन भयो । जोन्सलाई महिला एथलेटिक्समा ग्ल्यामर प्रवेश गराउने श्रेयसमेत जान्छ ।
मिया ह्याम
फिफाले निकालेको विश्वका उत्कृष्ट १ सय २५ खेलाडीको सूचीमा पर्ने दुर्लभ महिला फुटबल खेलाडी हुन्— मिया ह्याम । यो सूचीमा दुई महिला खेलाडी मात्र छन् । विश्व महिला फुटबलले पाएको अहिलेसम्मकै सबैभन्दा ठूला स्टार हुन्— मिया ह्याम । उनी १५ वर्षकै उमेरमा अमेरिकी टिममा परिसकेकी थिइन् र संन्यास लिनुअघिसम्म आफूलाई प्रत्येक पटक सफल सावित गरिन् । अमेरिकामा महिला फुटबलको जग बसाउने श्रेय पनि उनैलाई जान्छ ।