साप्ताहिक संवाददाता
नेपाली पुरुष राष्ट्रिय टिमका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन्— हरि खड्का । निराजन रायमाझीसँगै उनी संयुक्त रूपमा सर्वाधिक १३ गोल गर्ने खेलाडीमा पर्छन् । यिनै हरि अहिले महिला फुटबल टिमको प्रशिक्षक छन् । एक वर्षयता उनी प्रशिक्षकको भूमिका छन् र उनको आगमनयता पनि नेपालले तीन फाइनल गुमाइसकेको छ । हिरो गोल्डकप तथा साफ च्याम्पियनसिपपछि हरिको नेतृत्वमा नेपालले हालै नादेझ्दा कपको फाइनल खेलेको थियो ।
किर्गिस्तानमा फेरि एकपटक फाइनलमा पराजित भए पनि नेपाली टिमको प्रदर्शनमा भने प्रशिक्षक हरि खुसी नै देखिए । उनको भनाइ थियो, ‘म खुसी छु, किनभने नेपालले राम्रो खेलेको हो ।’ अझ उनको भनाइ मान्ने हो भने नेपालले उनले अपेक्षा गरेको भन्दा पनि राम्रो खेलेको छ । हरि के पनि मान्छन् भने फाइनलको प्रतिद्वन्द्वी उज्वेकिस्तानको स्तर नेपालको तुलनामा राम्रो छ र फाइनलमा नेपालले स्पष्ट देखिने खालको केही भूल गरेको थियो ।
नेपाल फाइनलमा किन लगातार पराजित भैरहन्छ त ? यसको स्पष्ट उत्तर हरिसँग पनि छैन । उनी यो प्रश्नको सिधा उत्तर दिन पनि चाहिरहेका छैनन् । बरू यही प्रश्नमा उनको उत्तर हुन्छ, ‘हाम्रो लक्ष्य फाइनलमा पुग्ने र जित्ने भन्दा पनि टिमको स्तर कसरी वृद्धि गर्ने हो ।’ खड्काले भनेका छन्, ‘हाम्रो उद्देश्य कसरी राम्रो फुटबल खेल्ने भन्ने हो ।’ वास्तवमा यो कुटनीतिक उत्तर हो, हरि नै त्यस्ता प्रमुख जिम्मेवार व्यक्ति हुन, जसले यसको ठोस उत्तर खोज्नुपर्छ ।