साप्ताहिक संवाददाता
एभीसी सेन्ट्रल जोनको उपाधि विजेता नेपाली टिमकी कप्तान हुन्— २५ वर्षीया अरुणा शाही । यस्तोमा उनी ऐतिहासिक सफलताका सबैभन्दा ठूला नायिका पनि सावित भइन् । उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको कप्तानी सम्हालेको पनि पहिलो पटक हो । उनले सन् २०१३ देखि नेपाली टिमबाट खेल्न थालेकी हुन् । त्यसयता उनी नेपाली टिमका नियमित सदस्य हुन् । उनी दोस्रो पटक दक्षिण एसियाली खेलकुद (साग) खेल्दैछिन् । सन् २०१६ को पछिल्लो सागमा नेपालले महिला भलिबलमा कांस्य जित्दा उनी त्यस टिमकी सदस्य थिइन् । उपाधि जितेर काठमाडौं फर्केयता त्यो सफलतामा उनको खुसी प्रस्ट देखिन्थ्यो, अनि त्यसमा गर्व पनि लुकेको थियो । उनीसँग गरिएको कुराकानी :
उपाधि जितेपछि सबैभन्दा ठूलो उपलब्धि के हो ?
हाम्रा खेलाडीको आत्मविश्वास बढेको छ । हामीले बहुमूल्य अनुभव पनि बटुल्यौं । अब दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्नेमा आशावादी भएका छौं ।
अबका सागमा प्रदर्शन कस्तो हुनेछ ?
अबको सागमा हामीले राम्रो खेल्नेछौं । अबको लक्ष्य भनेको स्वर्ण पदक नै हो । हामी यसका लागि सक्षम पनि छौं ।
बंगलादेशमा प्राप्त सफलताको रहस्य के हो ?
हामीले त्यहाँ निकै परिश्रमले खेल्यौं । टिमको संयोजन पनि निकै राम्रो छ । नयाँ खेलाडीमा अनुभव पनि थपिएको छ । यसले अबका प्रतियोगितालाई राम्रो गर्नेछ । थाइल्यान्डमा पनि हामीले राम्रो अभ्यासको मौका पायौं । त्यसले पनि फाइदा भयो । हामीले कमजोरी सुधार्ने पनि पर्याप्त प्रयास गरेका थियौं ।
समग्रमा टिमको प्रदर्शन कस्तो रह्यो ?
टिममा धेरैजसो नयाँ खेलाडी थिए । त्यसैले केही नमिल्न सक्ने डर पनि थियो । तर सबै खेलाडीले निकै राम्रो प्रदर्शन गरे । यही प्रदर्शनका आधारमा हामीले उपाधि जित्न सफल रहेका हौं । यो सबै खेलाडीको प्रयासबाट प्राप्त सफलता हो ।
नेपाल जित्नुको कारण प्रतियोगितामा श्रीलंका नभएर पनि हो कि ?
यस्तो भन्न मिल्दैन । त्यो हाम्रो समस्या पनि होइन । हामी कुनै पनि प्रकारको नतिजा निकाल्न सक्षम छौं । प्रतियोगितामा केही अरू टिम भएको भए पनि नतिजा जे सुकै हुन सक्ने थियो ।