रंगकर्मीहरूले गत मंगलबार एकमुस्ट दसैं मनाएका छन् । कोजाग्रत पूणिर्माको दिन अनामनगरस्थित मण्डला थिएटरमा आयोजित दसैं कार्यक्रममा रंगकर्मसँग सम्बन्धित थुप्रै कलाकार, लेखक तथा समीक्षकहरूको उपस्थिति थियो । सबैले आफूभन्दा अग्रजसँग टीका र जमरा लगाएर दसैंको शुभकामना तथा आशीर्वाद लिए । टीका आदान-प्रदान कार्यक्रममा यो वर्ष वयोवृद्ध संस्कृतिविद् सत्यमोहन जोशीबाट टीका थापेपछि आफूभन्दा अग्रजसँग टीका लगाउने र अनुजलाई टीका लगाइदिने कलाकारहरूमा सुनिल पोखरेल, सौगात मल्ल, कर्म, सरिता गिरी, राजन खतिवडा, खगेन्द्र लामिछाने, रवीन्द्रसिंह बानियाँ, विजय बराल, केदार श्रेष्ठ, रामबाबु गुरुङ, सुभद्रा अधिकारीका साथै साहित्यकार किशोर नेपाल, खगेन्द्र संग्रौला आदि पनि थिए ।
जम्पिङ फ्रग पोखरामा
मण्डला थिएटर, नेपालको नाटक जम्पिङ फ्रग दशैंको पूर्व सन्ध्यामा पोखरामा प्रदर्शन भएको छ । सजन थापामगरद्धारा निर्देशित नाटकमा मास्क, पपेट र म्युजिक (मुकुन्डो, कठपुतली र संगीत) को समायोजन रहेको थियो । भ्यागुताको प्रेमकथामा आधारित उक्त नाटकले अहिलेको युगमा मानवीय प्रेम तथा सद्भाव संकटग्रस्त अबस्थामा रहेको बताउँदै भ्यागुताको माध्यमबाट मानवीय प्रेमप्रति व्यंग्य गरेको छ । जम्पिङ फ्रगमा अनुपम शर्मा, मोहम्मद नाजिर हुसेन, विजय बराल, विकास जोशी, सजन थापामगर, प्रकाश गन्धर्भ, विराट बस्नेत, आदित्य कटवाल, कमल देवकोटा, उमेश तामाङ आदि कलाकारले अभिनय गरेका थिए ।