साप्ताहिक संवाददाता
रंगकर्मी अनुप बराल यतिबेला पोखरामा नाट्य कार्यशाला सञ्चालन गरिरहेका छन् । मास्टर्स अफ एक्टिङमार्फत उनले १५ जना युवायुवतीलाई नाट्य क्षेत्रको जानकारी दिँदै उनीहरूको अभिनय गर्ने हुटहुटीमा सहजता प्रदान गरिरहेका छन् । १५ दिने यो कार्यशालामा रंगक्षेत्रमा स्थापित हुन चाहने युवाहरूको सहभागिता छ । पोखरा थिएटरको आयोजनामा पोखरा थिएटरको गन्धर्व नाटकघरमा सञ्चालित यो कार्यशालापश्चात् प्रशिक्षार्थीको आत्मविश्वास वृद्धि भै रंगक्षेत्रमा स्थापित हुन उनीहरूलाई सहयोग पुग्ने बरालको विश्वास छ ।
सुनसरीमा सडक नाटक
सामाजिक विकृति तथा नकारात्मक सामाजिक सोंचका विरुद्ध सुनसरीका विभिन्न स्थानमा युवाहरूले सडक नाटक प्रस्तुत गरेका छन् । सामाजिक समस्या न्यूनीकरण गर्न तथा महिलाहरूलाई सामाजिक रूपमा प्रोत्साहित गर्ने उद्देश्यले विभिन्न समुदायमा सडक नाटक प्रस्तुत गरिएको युवा विकास केन्द्रका अरुण खड्काले जानकारी दिए ।