साप्ताहिक संवाददाता
मोरङको झोराहाट नाटकघरमा मालिनी नाटक मञ्चन भैरहेको छ । यो नाटक हेर्ने दर्शकको भिड बढ्दै गएको नाट्य समुहले जनाएको छ । साहित्यकार रविन्द्रनाथ टेगोरको चर्चित नाटक हो मालिनी । नेचुरल्ली दीपकले नेपालीमा अनुवाद गरेको मालिनी मंसिर १४ गतेदेखि मञ्चन भइरहेको छ । युवाकलाकार सुदीपजंग कार्कीले निर्देशन गरेको नाटकको मुख्य भूमिकामा भरत गुरागाईं देखिन्छन् ।
गुरागाईं झोराहाट नाट्य समूहका अध्यक्ष पनि हुन् । गुरागाईंसहित अनु श्रेष्ठ, निराशा ढुंगेल, प्रज्वल काफ्ले, सुरज माझी, प्रदीप सरदार, दीक्षा चौधरी, शिवलाल सरकार, अजय सुवेदी, विजय थारु, दीपक निरौला, विवेक मिश्र, चन्दन माझी प्रवेश तिम्सिना र नुना कट्टेलले अभिनय गरेका छन् । समाजसेवी भक्तकिरण राईसागको सहकार्यमा निर्माण भएको मालिनी हेर्न विशेष गरी विद्यालय र कलेजका विद्यार्थीहरुको भीड लाग्ने गरेको छ ।
यसअघि पनि झोराहाटमा विभिन्न नाटक मञ्चन भइसकेका छन् । नाटक मञ्चनको प्रदेश–१ का सामाजिक विकासमन्त्री जीवन घिमिरेले उद्घाटन गरेका थिए । यता, आरोहण गुरुकुल विराटनगरले सुरु गरेको काव्यारोहणको दोस्रो शृंखलामा वरिष्ठ कवि तुलसी दिवस उपस्थित हुने भएका छन् ।
हरेक महिनाको पहिलो शनिबार आयोजना हुने काव्यारोहणमा यसअघि आयामेली कवि बैरागी काइँला प्रस्तुत भइसकेका छन् । अग्रजहरुको सम्मानस्वरुप वरिष्ठ कविलाई हरेक महिना उपस्थित गराइने कार्यक्रम संयोजक धीरज राईले बताए । हाटखोलास्थित गुरुकुलको सुशीला कोइराला नाटकघरमा कार्यक्रम हुनेछ ।