साप्ताहिक संवाददाता
बनिष शाह, भिजुअल एडिटर
कति वर्ष भयो चलचित्र सम्पादन गर्न थाल्नुभएको ?
एसएलसी दिए लगत्तै सहायकका रूपमा काम गरेँ, सम्भवत: १६ वर्षको थिएँ ।
तपाईं त दिवंगत चरित्र अभिनेता रवि शाहको छोरा, उहाँजस्तै अभिनयमा नलागेर किन चलचित्र सम्पादक हुनुभयो ?
अभिनेता अनुहारर क्रेजरहेसम्म चल्छ, त्यसपछि ऊ बेरोजगार जस्तै हुन्छ । हामी जस्ता प्राविधिक जति पुराना भयौं, उति दक्ष एवं व्यस्त हुँदै जान्छौं, त्यसैले ।
हालसम्म कतिवटा चलचित्र सम्पादन गर्नुभयो ?
सहायक नभै एकल निर्देशन गर्न थालेको चलचित्र ‘मजदुर’ देखि हो, त्यसपछि अहिले हालैको ‘ड्रिम्स’सम्म आइपुग्दा २ सयभन्दा बढी भए होलान् ।
त्यसो भए त लाखौं कमाइसक्नु भयो होला हैन ?
हामी ‘पोस्ट प्रोडक्सन’ गर्नेहरूलाई निर्माण पक्षले अनुबन्धित गर्दैनन् अर्थात् बिना कन्ट्रायाक्ट काम गरिन्छ । त्यसैले कतिले त अहिलेसम्म पारिश्रमिक दिएका छैनन, कतिले आधा जति दिए आधा बाँकी छ । अनि सम्पादकलाई यति नै दिनुपर्छ भन्ने छैन, त्यसैले प्राय: हरेक प्रोजेक्टमा साग किनेसरी बार्गेनिङ गरिरहनुपर्छ । यस्तोमा कसरी कमाइन्छ ? त्यही हो घरको चुल्हो निभ्न दिएको छैन ।
तपाईंहरूको यो समस्या सुन्ने कुनै निकाय त होला ?
निकाय भनेको चलचित्र प्राविधिक संघ हो । अब कानुनी कन्ट्रयाक्ट गर्ने कुरामा संघले पहल गरोस् भन्ने हामी चाहन्छौं ।
बलिउडमा पनि काम गर्नुभयो नि ?
उता चलेका सम्पादकहरू सुबोध श्रीधर, पप्पु शर्मा, कुलदीप मेहर, अशोक श्रीवास्तवहरूको सहायक सम्पादक भएर चलचित्र दावा, इन्साफ, सर उठाके जिओ, दिवाने आदि दुई दर्जन जति चलचित्रमा काम गरेँ ।
किन बलिउड छाडेर नेपाल आउनुभएको त ?
त्यतिबेला म १९ वर्षको थिएँ । मलाई साढे सातको दशाले घुमायो, त्यसैले मनमा देशमा केही गर्नुपर्छ भन्ने सोच पलायो ।
साढे सातको दशाले घुमायो रे ?
हो नि, उतै बसिरहेको भए, सम्भवत: अहिले बलिउडको सिनियर एडिटर हुन्थे । जीवनस्तर पनिराम्रै हुन्थ्यो ।
यो कामबाट साह्रै निराश पो हुनुभएछ, किन हो ?
निराशभन्दा पनि यो क्षेत्रमा काम गर्नेहरूको संकीर्ण विचार, सरकारको यो क्षेत्रप्रतिको उदासीनता आदिका कारण कहिलेकाहीँ दिक्क लाग्छ । अन्यथा मलाई आफ्नो काम (सम्पादन) गर्न सधैं मज्जा लागिरहेकै छ ।
प्राविधिक ज्ञान भएका पाँच निर्देशक ?
किशोरराना, प्रदीप श्रेष्ठ, अनिष कोइराला,रञ्जितराना तथा स्व. शिवरेग्मी ।
अहिलेका निर्देशकहरू नि ?
अल्पज्ञानमा काम भैरहेको छ । काम गर्दै सिक्दै ।
अहिलेका निर्देशकहरूमा के कमी पाउनुभएको छ ?
निर्माताको दबाबमा काम सक्नुपर्ने बाध्यताले गर्दा उनीहरूको सिर्जनशीलतामा बन्देज लागेको पाएको छु ।
एनालग (रिल) तथा डिजिटलमध्ये कुन प्रविधिमा सम्पादन गर्नरमाइलो ?
एनालग त हराइसक्यो, तर त्यसमा काम गर्दारमाइलो हुन्थ्यो । एड्भेन्चर गरेजस्तो लाग्थ्यो । डिजिटलमा चाहिँ सहजर सुविधा बढी भएकाले सजिलो छ ।