खल्तीमा सय रुपैयाँभन्दा कम छ, तर भोक निकै लागेको छ भने काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छरिएर रहेका ९५ वटामध्ये नजिकैको लुम्बिनी वा पाल्पाली तन्दुरी भोजनालयमा जानुहोस् । रोटी र तरकारी पेटभरि खानुहोस् ।’ यो कुनै अफर होइन, यथार्थ हो ।
काठमाडौंको कालिमाटी नजिकै टंकेश्वरबाट प्रारम्भ भएको लुम्बिनी तन्दुरी भोजनालयको यात्राले दुई दशक पार गरिसकेको छ । सस्तोमा खाना तथा खाजा ख्वाउने थलोका रूपमा काठमाडौं उपत्यकावासीहरूमा परिचित लुम्बिनी तन्दुरी भोजनालय कुनै चेन रेस्टुराँभन्दा कम छैन, तर यसका शाखैपिच्छे सञ्चालकहरू भने फरक–फरक छन् । जबकि मेनु भने प्राय: उस्तै हुन्छ । कोइलाको भुङ्ग्रोमा सेकेर पकाइएको रोटी र नानसँग राजमा करी, चिकेन करी, दही, चटनी, पालक पनिर, आलुमटर, मटर पनिर, दाल फ्राईजस्ता झन्डै तीन दर्जन परिकारको स्वाद लिन सकिने लुम्बिनी तन्दुरी भोजनालयका शाखाहरूलाई एक प्रकारको ‘फ्रेन्चाइज’ मान्न सकिन्छ ।
लुम्बिनीको कथा
‘सस्तोमा खाना ख्वाउँदा पनि हामीलाई केही न केही नाफा हुन्छ । हामी धेरै नाफा खोज्दैनौं ।’–हरिप्रसाद पोखरेल भन्छन् । हरिप्रसादका काका चूडामणि पोखरेल तथा रामप्रसाद पोखरेलले नै काठमाडौंको टंकेश्वरमा २०५२ ताका पहिलो लुम्बिनी तन्दुरी भोजनालय सञ्चालनमा ल्याएका थिए । यी पोखरेल बन्धु लुम्बिनी अञ्चलको अर्घाखाँची जिल्लाका हुन् । हरिप्रसादले इतिहास सुनाए–‘०५०/५१ सालतिर अर्घाखाँचीका एक मानिसले काठमाडौंको बालाजुमा खाजा होटल खोले । उनले त्यहाँ ५० पैसामा चिया, एक रुपैयाँमा समोसा बेच्न थाले । ती थिए कमलप्रसाद पोखरेल । उनले त्यही होटलको आम्दानीबाट राम्रैसँग घरव्यवहार चलाएको गाउँका सबैलाई थाहा थियो ।
त्यतिबेला चूडामणि र रामप्रसाद दिल्लीको एक सुकुम्बासी बस्तीमा होटल चलाउँथे । दिल्लीमा सस्तोमा खाजा तथा खानाका लागि तन्दुरी होटलहरू साह्रै प्रचलित थिए । चूडामणि र रामप्रसाद तन्दुरमा रोटी तथा त्यसका लागि आवश्यक तरकारी तयार पार्न पोख्त भैसकेका थिए । त्यही बेला दिल्ली महानगरपालिकाले सुकुम्बासी बस्ती भत्कायो अनि रामप्रसाद र चूडामणिलाई बालाजुमा होटल चलाइरहेका कमलप्रसादले काठमाडौं बोलाए । रामप्रसाद र चूडामणि चुल्होको डेक्ची र कराही बोकेर काठमाडौं छिरे अनि उनीहरूले नै टंकेश्वरमा लुम्बिनी तन्दुरी भोजनालय सुरु गरे ।’
हरिप्रसादका अनुसार, सुरुका दिनमा काठमाडौंका रैथानेहरूमा एकपाटो मात्र पकाएको रोटी खान हुँदैन, त्यस्तो रोटी भूतले मात्र खान्छ भन्ने भ्रम थियो । त्यसैले रामप्रसाद र चूडामणिलाई लोकल ग्राहक तान्न गाह्रो भयो । काठमाडौं आउने भारतीय तथा बोर्डरछेउका नेपालीहरूले पहिले नै तन्दुरी रोटीको स्वाद चाखिसकेका थिए । त्यसैले यो भोजनालयको पहिलो ग्राहक उनीहरू नै भए । बिस्तारै काठमाडौंवासी पनि तन्दुरीको स्वादमा भुलिन थाले । टंकेश्वरपछि कुलेश्वरमा दोस्रो लुम्बिनी तन्दुरी भोजनालय सञ्चालनमा आयो ।
त्यसपछि अर्घाखाँचीका पोखरेलहरू दिल्लीमा तन्दुरी पोल्ने काम छोडेर काठमाडौं आउन थाले । अर्घाखाँचीबाट सीधै आउनेहरूले यतै प्रशिक्षण लिए, सिक्दै गए र लुम्बिनी तन्दुरीलाई उपत्यकाभरि बिस्तार गर्दै गए । बिस्तारै त्यसमा अर्घाखाँचीका पौडेलहरू पनि मिसिए अनि बिस्तारै अरू पनि । हरिप्रसाद भन्छन्– ‘अहिले पनि काठमाडौं उपत्यकाका ८० प्रतिशत लुम्बिनी तन्दुरी भोजनालयका सञ्चालक पोखरेलहरू नै छन् ।’
पाल्पाली पनि लुम्बिनी
कतै लुम्बिनी कतै पाल्पाली नाममा यत्रतत्र तन्दुरी भोजनालय सञ्चालित छन् । थापाथलीको नर्भिक हस्पिस्टल छेउमा लुम्बिनी तन्दुरी सञ्चालन गरिरहेका हरिप्रसाद पाल्पाली भोजनालय पनि लुम्बिनी तन्दुरी भोजनालयअन्तर्गत नै रहेको बताउँछन् । एउटा खोल्सोले पाल्पा र अर्घाखाँचीलाई छुट्टयाएको छ । उनीहरू पनि पोखरेलका दाजुभाइ खलक नै हुन् । पाल्पाबाट आएर तन्दुरी भोजनालय सञ्चालन गरेकाले उनीहरूले पाल्पाली नाम राखेका मात्र हुन् ।
लगभग ६ वर्षअघि नेपाल सरकारमा लुम्बिनी तन्दुरी व्यवसायी संघ दर्ता भएको छ, जसमा ९५ भन्दा बढी तन्दुरी व्यवसायी आबद्ध छन् । यसमा पाल्पाली तन्दुरी भोजनालयहरू पनि गाभिएका छन् भने यसमा लोकप्रिय तन्दुरी तथा कान्तिपुर तन्दुरी पनि आबद्ध छन् । प्रत्येक वर्ष उनीहरूको साधारणसभा हुन्छ र त्यहाँ आफ्ना कामकारबाहीको लेखाजोखा गरिन्छ । अहिले लुम्बिनी तन्दुरीका अध्यक्ष खिमानन्द बस्याल छन् भने महासचिव नेत्रप्रसाद पोखरेल हुन् ।
कुरा स्वादको
‘सस्तो मात्र भनेर पनि हुँदैन, स्वाद पनि दिन सक्नुपर्छ’ भन्ने कुरामा लुम्बिनी तन्दुरी व्यवसायी संघसँग आबद्ध सबै तन्दुरी व्यवसायी एकमत छन् । उनीहरू भन्छन्– ‘हामी ग्राहकहरूसँग डराउँछौं । एउटा ग्राहक बासी खानाको सिकार भयो भने उसका कारण घटीमा १० जना ग्राहक भड्किन्छन् ।’ एक त तन्दुरी रेस्टुराँहरूमा प्राय: खाना बासी रहन पाउँदैन । रह्यो भने पनि उनीहरू त्यसलाई मिल्काउँछन् । लुम्बिनी–पाल्पाली भोजनालयका रोटीमा नुन र पानीबाहेक केही पनि नमिसाइने उनीहरूको दाबी छ । व्यवसायीहरू भन्छन्– हामी ‘नाफाभन्दा पनि ग्राहकहरूको आगमन निरन्तर भैरहोस् भन्ने चाहना राख्छौं ।’
जापानमा पनि लुम्बिनी
तोयनाथ पोखरेल बागबजारमा कान्तिपुर तन्दुरी भोजनालय सञ्चालन गर्थे । जापान गएपछि सन् २००९ मा उनले जापानको होकाइदो सहरको नाकाजिमामा लुम्बिनी तन्दुरी क्याफे सञ्चालनमा ल्याए जुन उक्त क्षेत्रमा निकै लोकप्रिय छ । विशेषगरी एक हजार यानमा पाइने तन्दुरी सेटले जापानी ग्राहकहरूको मन जितिरहेको छ । विदेशमा खोलिएको यो पहिलो लुम्बिनी भोजनालय भएको बताइन्छ । अहिले भने कतार, दुबई तथा मलेसियामा पनि लुम्बिनी तन्दुरीको विस्तार भैसकेको छ ।