परापूर्व कालमा समुन्द्र मन्थनबाट उत्पन्न भएको कालकुट विषले संसार भष्म पार्न लागेपछि भगवान शिवले कालकुट नामक विष पिएर पृथ्वीको नास हुनबाट बचाएको र उक्त विषले छटपटिएका शिव भगवान् उत्तरी हिमालय प्रेदश तिर लाग्दा विषको पीडा मेट्नको लागि आफूसँग भएको त्रिशूलले भित्ता छेडेर गंगाजल उत्पन्न गराई प्यास मेटाएको र शिवले गोसाँईकुण्ड उत्पत्ती गरेको पौराणिक ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ । त्यसै ग्रन्थ र धार्मिक बिश्वासको साथ यस पबित्र कुण्डमा मेलाको सुरु भएको छ ।
बिहिवार भदौ २ सम्पन्न हुने गोसाँईकुण्ड मेला भर्न हजारौं दर्शनार्थीको अहिले यो क्षेत्रमा घुईचो लाग्न थालिसकेको छ । गोसाँईकुण्डमा स्नान गर्नाले हालसम्म गरेका पापबाट मुक्ति मिल्ने तथा मनले चिताएको कुरा पुरा हुने जनविश्वासका कारण वर्षेनी हजारौं भक्तजनहरूको आगमन हुने गरेको छ । दशहरा जनैपुर्णिमाको दिन मात्र हैन याहाँ नाग पञ्चमीदेखिनै कुण्डवरपर र शिव मन्दिर वरिपरी ध्वजापतकाले सिंगारेर रङ्गीचङ्गी बनाउने काम हुन्छ ।
ऐतिहासिक तथा धार्मिक पर्यकीय पवित्र तीर्थस्थल गोसाँईकुण्डकमा मेला यहि साउन २७ गतेदेखि सुरुभएर भदौ ६ गते सकिने छ । कुण्डमा वर्षको दुई पटक जनै पुर्णिमा र दशहरामा भव्य मेला लाग्छ । धार्मिक एवंम पवित्र तीर्थस्थल गोसााईकुण्डमा वर्षेनि ७० हजार तीर्थयात्रीहरूले दर्शन गर्ने अनुमान गरिएको छ ।
४ हजार ३ सय १० मीटरको उचाईमा अवस्थित गोसाँईकुण्ड उत्तरी रसुवाको स्याफ्रु गाविस वडा नं. ६ मा रहेको छ । मेलाको अवसरमा हजारौं तीर्थ यात्रीहरूको आगमन हुने हुदाँ सदरमुकाम धुन्चेदेखि घट्टेखोला, चन्दनवारी, चोलाङपाटी र गोसाईकुण्डमा रहेको सयौं होटलहरू खचाखच हुने भएकोले आर्थिक विकासमा समेत टेवा पुग्ने गरेको गोसाँईकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष संजिव डिएम बताउँछन् ।