केबलकार चढ्न अब मनकामनासम्म धाइरहनु पर्दैन । थानकोटस्थित चन्द्रागिरि हिल्स लिमिटेडले ३८ वटा केबलकार सञ्चालनमा ल्याएको छ । थानकोटबाट केबलकारमा केवल ९ मिनेट हिँडेपछि चन्द्रागिरि पुगिन्छ । राजधानीबाट केही घण्टाको दूरीमै अब यो सुविधा उपलब्ध छ ।
हालै चन्द्रागिरि डाँडामा केबलकार सञ्चालनमा आएपछि दिनको झन्डै ३ हजार मानिस केबलकारमा ओहोरदोहोर गरिरहेका छन् । छिनमा घाम, छिनमा कुहिरो तथा छिनमै झरी पर्ने चन्द्रागिरिको मौसम बडो मनमोहक हुन्छ । ‘हो, यहाँको मौसमको कुनै भर हुँदैन ।’ केही दिनअघि भेटिएकी चन्द्रागिरि हिल्स लिमिटेडकी गेस्ट रिलेसन अफिसर रूपा क्षेत्री भन्दै थिइन् ‘हरेक क्षण बदलिरहने मौसमले धेरैलाई लोभ्याउँछ ।’ सूर्योदय र सूर्यास्तको दृश्य हेर्न पनि यो ठाउँ निकै चर्चित छ ।
सहरको व्यस्त दिनचर्या, धूलो, धूवाँ र कोलाहलयुक्त वातावरणबाट मुक्ति पाउन चन्द्रागिरिमा केबलकारको मज्जा लिन आउनेहरू दिन प्रतिदिन बढिरहेका छन् । उपत्यकावासीका लागि घुमघामको नयाँ गन्तव्य थपिएको बताउँछन् चन्द्रागिरि हिल्स लिमिटेडका जीएम अभिषेकविक्रम शाह । ‘हामीले स्वदेशी पर्यटकहरूलाई नै लक्षित गरेका छौं ।’ शाह भन्छन्– ‘विदेशीहरू आइदिए भने सुनमा सुगन्ध हुन्छ ।’ नजिकैको दूरीमा हुँदा समय र पैसा दुवै बचत हुनाले यहाँ धेरैको आकर्षण छ ।
मौसम खुलेका बेला यहाँबाट काठमाडौं उपत्यकालगायत सगरमाथा, अन्नपूर्ण र अन्य साना हिमालहरू नियाल्न सकिन्छ । साउन २४ मा भालेश्वर मन्दिर उद्घाटन भएपछि दर्शन गर्न आउनेहरूको संख्या उत्तिकै बढेको छ । चन्द्रागिरिमा अरू पनि सुविधा थपिएका छन् र थप केही कुरा विस्तार हुँदैछन् । रेस्टुराँ खुलिसकेको छ । एमपी थिएटरमा अब केहीपछि नाटक र खुला कार्यक्रमहरू हेर्न पाइनेछ । एनसेल र नेपाल टेलिकमको टावर बनेपछि फोन र थ्रीजी चलाउन समस्या छैन ।
साउन्ड पु्रफसहितको मल्टिपर्पोज हलको निर्माण सम्पन्न हुनै लागेको छ । अभिषेकविक्रम शाहका अनुसार यो हलमा चलचित्र हेर्न पाइनुका साथै सभा, सेमिनार तथा गोष्ठीहरूको आयोजना हुनेछ । यसमा १ सय २० देखि १ सय ५० जना अट्ने सिट हुनेछ । अहिलेदेखि नै बुकिङ सुरु हुन थालिसकेको रूपाले बताइन् । दुईवटा चिल्ड्ेरन पार्क तयार हुने क्रममा छन् । यहाँ २५ सय ५० मिटर अग्लो टावर पनि बन्दैछ । त्यहाँ हिमालयन जाभा कफी हाउसका साथै विभिन्न किसिमका पसल पनि खुल्ने भएका छन् ।
मन्दिरबाट एक किलोमिटरको दूरीमा रिसोर्ट बन्दैछ, जहाँ वर्ष दिनभित्र मानिसहरू बास बस्न सक्नेछन् । गेस्ट रिलेसन अफिसर क्षेत्रीका अनुसार यहाँ निकट भविष्यमै प्याराग्लाइडिङ, जिप फ्लायर र हर्स राइडिङको समेत सुविधा उपलब्ध गराउने तयारी भैरहेको छ । कुनै बेलाको यो जंगलले यसरी मुहार फेर्ला भन्ने कल्पनासम्म नगरिएको स्थानीय बासिन्दा रामप्रसाद खनाल बताउँछन् ।
कसरी पुग्ने ?
थानकोट प्रहरी चौकीनजिक ओर्लनेबित्तिकै बायाँतिर मोडिने एउटा बाटो आउँछ । चन्द्रागिरि हाइकिङका लागि प्रचलित यो रुटमा अचेल मानिसहरूको बाक्लै भीड देखिन्छ । गत साउन २४ गतेदेखि चन्द्रागिरि हिल्सले केबलकार सञ्चालनमा ल्याएपछि त्यहाँ यस्तो भीड बढेको हो । केबलकारमा ओहोरदोहोर गर्न प्रतिव्यक्ति ७ सय रुपैयाँ खर्च लाग्छ । थानकोट, चखेल, चित्लाङ र चन्द्रागिरि नगरपालिकाका बासिन्दाहरूलाई टिकटमा २५ प्रतिशत छुट प्रदान गरिन्छ ।
शारीरिक अशक्तता भएका व्यक्तिहरूलाई ५० प्रतिशत छुटको व्यवस्था छ । यहाँ सार्क राष्ट्रका पर्यटकले १ हजार १ सय २० रुपैयाँ तथा अन्य देशका पर्यटकले २ हजार ३ सय ३२ रुपैयाँ तिर्नुपर्छ । ३ फिटभन्दा साना बालबालिकाले नि:शुल्क रूपमा केबलकारको यात्रा गर्न पाउँछन् भने ४ फिटभन्दा माथिका बालबालिकाका लागि पूरै शुल्क तिर्नुपर्छ । हाल यहाँ २ सय ५० गाडी तथा ३ सय बाइक पार्किङ गर्न सकिन्छ ।