साप्ताहिक संवाददाता
स–साना टुक्रामा काटेको खसी, कुखुरा वा राँगाको मासुलाई तातो तेलमा डिप फ्राई गर्ने । मासु खैरो हुन्जेल वा राम्रोसँग नभुटिउन्जेल तारेर झिक्ने । अर्को भाँडामा आफ्नो इच्छाअनुसार सुकेको खुर्सानी, जिरा/धनियाँ, मरिच तथा तोरीको गेडालाई हल्का भुट्ने र सबैलाई एक ठाउँमा मिसाएर सिलौटा वा ग्राइन्डरमा सुक्खा पिस्ने ।
मासु फ्राई गर्दा कराईमा बचेको अलिकति तेलमा मेथी फुराउने । त्यसमा लसुन र अदुवाका लाम्चा टुक्रा हालेर हल्का तार्ने । अब बेसार, मिट मसला वा गरम मसला, खुर्सानीको धूलो, चाट मसला तथा नुन हालेरराम्रोसँग चलाउँदै पकाउने ।
सबै मिसिएपछि सिलौटा वा ग्राइन्डरमा सुक्खा रूपमा पिसेको मसला हाल्ने र केहीबेर चलाउने । सबै मसला मिसाएपछि त्यसमा पहिले फ्राई गरिएको मासु हाल्ने । उक्त मसलाले सबै तेल सोसेको खण्डमा फेरि केही तेल हाल्ने अनि आवश्यकताअनुसार कागतीको रस निचोरी चलाउने ।
मासुको यो अचार सेलाएपछि सर्भ गर्नुपर्छ । मासुको अचार सिसीमा राखेर केही समयपछि पनि खान सकिन्छ । यसलाई खानाका साथै बियर वा मदिरा पिउदा स्न्याक्सका रूपमा खाँदा अझ स्वादिलो हुन्छ ।