साप्ताहिक संवाददाता
काठमाडौंबाट नजिकैको दूरीमा प्राकृतिक सुन्दरताको आनन्द लिन सकिने रिसोर्टको खोजीमा हुनुहुन्छ भने ललितपुरको नखीपोटस्थित कान्तिपुर कोलोनीसँगैको सिलौटी रिसोर्ट उपयुक्त गन्तव्य हुन सक्छ । नख्खुखोलाको किनारैमा अवस्थित यो रिसोर्टबाट चम्पादेवी तथा चन्द्रागिरीको आकर्षक दृश्यावलोकन गर्न सकिन्छ ।
पाँच वर्षअघि सञ्चालनमा आएको सिलौटी ४ रोपनीमा फैलिएको छ । सानो चिताकर्षक म्युजियमजस्तो देखिने सिलौटीमा फलफूलका बोट–बिरुवादेखि लिएर विभिन्न चराचुरुंगीसम्म हेर्न पाइन्छ । ९ वटा सुविधासम्पन्न कोठा, १ सय ५० जना अट्ने सेमिनार हल, बार, कफी सप, बालबालिकाहरूका लागि किड्स गार्डेन तथा लाइभ फिसिङ यहाँका विशेषता हुन् ।
बंगुरको सेकुवा, झानेको मम, टर्कीको मासु, फिस तावा, फिस स्टीमका साथै सस्तो र मीठो थाली यो रिसोर्टका प्रमुख परिकार हुन् । ‘लोभलाग्दो भूबनोट, चराचुरुंगी, स्वीमिङ पुल, लाइभ फिसिङ सबैका कारण रिसोर्टमा युनिक अनुभव हुन्छ,’ सञ्चालक कविन न्याछ्यौं भन्छन्, ‘साउना स्टिम, ज्याकुजी तथा जिम हलको सुविधा पनि छ ।’ रिसोर्टले अर्डरअनुसार लोकल कुखुरा, सी फुड तथा ढिडोको व्यवस्था समेत गर्दै आएको छ ।
‘हाम्रो रिसोर्टको प्रमुख विशेषता सस्तो र मिठो खानाका साथै मनोरम पारिवारिक एवं प्राकृतिक वातावरण हो,’ सञ्चालक मदनबहादुर लिम्बू भन्छन् । लिम्बूका अनुसार यो रिसोर्टले चार छाक खाना १२ देखि १३ सयमै सर्व गर्छ भने कोठाको मुल्य पनि १२ देखि १५ सय मात्र छ । काठमाडौं नजिकै रहेकाले यो रिसोर्ट कपल स्टे, नाइट स्टे, विवाह र बर्थ डेका लागि उपयुक्त गन्तव्य हुन सक्छ ।