आगन्तुकहरूलाई किराँत संस्कृतिको रमाइलो अनुभूति गराउने गरी फिदिमको सुकेपोखरीमा पाँचवटा होमस्टे सञ्चालनमा ल्याइएको छ । तङ्सिङ एग्रो टुरिज्मको अग्रसरतामा सञ्चालनमा आएका ती होमस्टेको नाम छिभुरो, लुगुन, टेकबीर, सुकेपोखरी तथा अस्मिता राखिएको छ । यी होमस्टेलले सुकेपोखरी घुम्न आउनेहरूलाई रैथाने मौलिक खाना तथा बासको सुविधा उपलब्ध गराउँछन् । दस जनासम्मको क्षमता भएका यी होमस्टेमा खास गरी किराँत संस्कृतिसँग सम्बन्धित सेवा–सुविधा उपलब्ध गराइन्छ ।
यी होमस्टेमा उपलब्ध परिकारहरूमा किराँतहरूको विशेष परिकार ‘वाचिपा’, केराको पातमा राखेर पोलेर बनाइने कोदोको रोटी ‘पेम्पाक’का अतिरिक्त सिस्नोको दाल, मकैको ढिँडो, उवाको रोटी तथा तोङ्बा अनि गुराँस र टिम्मुरको रक्सी छन् । यी होमस्टेमा खर्सुको चिया, टिम्मुर, चिङ्फिङ, खानाक्पाको अचार, झ्याउ र मालिङ्गो टुसाको तरकारी, भुइँस्याउ, किबी, सिसिफल, कटुसजस्ता फलफूलको स्वादसमेत लिन पाइन्छ ।
होमस्टेमा आउने पर्यटकलाई किराँतहरूको लोकप्रिय साकेला नृत्यले स्वागत गर्ने चलन पनि बसाल्न लागिएको छ । सुकेपोखरीलाई पाँचथरको मेचीमार्गको पौवाभञ्ज्याङ, फालोट हुँदै कञ्चनजंगा पुग्ने प्रस्तावित पर्यटकीय पदमार्गले भेट्छ । पौवा क्षेत्रबाट निर्माण थालिसकिएको पदमार्ग सुकेपोखरीसम्म पुगिसकेको छ ।
पौवाभन्ज्याङबाट आधा घन्टाको पैदल यात्रापछि सुकेपोखरी पुगिन्छ । करिब ३ हजार मिटर उचाइमा अवस्थित सुकेपोखरीमा हिउँ खेल्न आउनेको समेत घुइँचो लाग्छ । यहाँबाट कञ्चनजंघा, कुम्भकर्ण, मकालु, सगरमाथा आदि हिमश्रृंङ्खला अवलोकन गर्न सकिन्छ ।