साप्ताहिक संवाददाता
पोखरामा आयोजना हुने नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताका लागि सरकारले हालै प्रस्तुत गरेको बजेटमा पूर्वाधार निर्माणमा बजेट विनियोजन गरेपछि प्रतियोगिता प्रतिको संशय हटेको छ ।
अर्थमन्त्री डा युवराज खतिवडाले प्रस्तुत गरेको बजेट वक्तव्यमा राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन गर्न आवश्यक पूर्वाधार निर्माण एवं व्यवस्थापनका लागि रकम विनियोजन गरेको उल्लेख गरेका थिए ।
सरकारले आगामी फागुनमा गण्डकी प्रदेशमा नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्ने निर्णय गरिसकेको थियो । यसअघि सरकारको वार्षिक नीति तथा कार्यक्रममा राष्ट्रिय खेलकूदका सम्वन्धमा केही पनि उल्लेख नहुँदा प्रतियोगिता बारेमा अन्योलता छाएको थियो । बजेटमा समावेश भएपछि प्रतियोगिता सञ्चालन हुनेमा खेलकर्मी आशावादी छन् । यद्यपी कोभिड–१९ को प्रभाव लामो समयसम्म रहेको खण्डमा प्रतियोगिता तोकिएको मितिमा सम्पन्न हुने अवस्था भने देखिँदैन ।
राष्ट्रिय खेलकूद परिषद्का सदस्य राजेशकुमार गुरुङले राष्ट्रिय खेलकूदका लागि बजेट विनियोजनसँगै यस वर्ष प्रतियोगिता नहुने हो की भन्ने आशङ्का हटेको बताए । उनले विनियोजित बजेटबाट सन्तुष्ट हुने अवस्था नरहे पनि बजेट कार्यक्रमले प्रतियोगिताका सम्बन्धमा रहेको अन्योल भने हटाएको छ ।
नवौँ खेलकूदका लागि गण्डकी प्रदेशमा अधिकांश खेल पूर्वाधार भने तयारी अवस्थामा छन् । केही पूर्वाधार निर्माणको चरणमा रहेकामा केहीको निर्माण प्रक्रिया शुरु गरिने राष्ट्रिय खेलकूद परिषद्ले जनाएको छ । प्रतियोगिताका लागि स्वीमिङ पुल (पौडी पोखरी), सुटिङ रेञ्ज र हक्कीको पूर्वाधार छैन । त्यसैगरी बक्सिङका लागिसमेत संरचना तयार गर्नुपर्ने देखिन्छ ।
राष्ट्रिय खेलकूदका लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकूद विकास समितिले सरकारसँग खेल पूर्वाधार निर्माण तथा मर्मतसम्भारका लागि ४३ करोड ७० लाख बजेट माग गरेको छ । समितिका कार्यालय प्रमुख लक्ष्मणनाथ योगीले गण्डकीका ११ वटै जिल्लामा कम्तिमा एक खेल सञ्चालन गर्ने योजना समितिको छ ।
नेपाली खेलकूदको कुम्भ मेला मानिने राष्ट्रिय खेलकूद प्रतियोगिता सरकारले हरेक दुई–दुई वर्षमा आयोजना गर्छ । विसं २०३८ बाट यसको शुरु भएको यो प्रतियोगिताको पहिलो आयोजना काठमाडौंमा भएको थियो ।