काठमाडौं उपत्यकाका झण्डै १२ लाख सवारी व्यवस्थापनको जिम्मेवारी एक हजार चार यस ४५ ट्राफिक प्रहरीको काँधमा छ । लकडाउनको समयमा सरकारले ल्याएको लकडाउन सवारी नीति कार्यान्वयनको मुख्य जिम्मेवारी पनि ट्राफिककै छ ।
असारको उखरमाउलो गर्मी । लगाउनु छ व्यक्तिगत सुरक्षा उपकरण (पिपिइ) । उभिनु छ सडकमा । कलंकी चोकमा भेटिएका सर्लाहीका नवीनकुमार महतो (२६) असिन-पसिन थिए । सवारी चेकजाँच उनको कर्तव्य, बुधबार दिउँसो पनि त्यसैमा व्यस्त थिए । ट्राफिक सहकर्मीले अलि परबाट इसारा गरेर रोकेका सवारी साधनको नजिक गएर सोधपुछ गर्ने जिम्मेवारी छ उनको । दैनिक कार्यतालिका नै हो यो नवीनको । उनीसँगै पीपीई लगाएर सिफ्टअनुसार ट्राफिक चेजजाँचमा सुर्खेतका पूर्णबहादुर डाँगी (२४), उदयपुरका गुणराज बस्नेत (२४)का साथै अरू सहकर्मी खटिन्छन् ।
‘४-५ घण्टा सडकमा पिपिइ लगाएर खटिँदा त गाह्रो हुँदोरहेछ । निकै गर्मी हुन्छ’, पूर्ण सुनाउँछन्, ‘तर कर्तव्य हो, ढुक्कले काम गरिरहेका छौं ।’ फौजी अनुशासन, नेतृत्वप्रतिको बफादारिता र सुरक्षा निकायको अनुशासन । त्यसकै पालना गर्दैै ट्राफिक प्रहरी दत्तचित्त भएर सधैं सडकमा खटिन्छन् । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका कलंकीको ट्राफिक व्यवस्थापनमा यी तीन जनासँगै ६० जना ट्राफिक प्रहरी परिचालित छन् ।
कोभिड-१९ सन्त्रास र लकडाउनपछि अरूको दैनिकी फेरिएको छ । तर घाम, पानी, हावाहुरी र धुलोधुवाँसँग जुधेर सडकमा खटिने ट्राफिकको दैनिकी उस्तै छ । भूमिका भने केही फरक भयो । सामान्य अवस्थामा सडक चलायमान बनाउन र सहरको जीवन गतिशील राख्नुपथ्र्यो भने लकडाउनका बेला सडक सुनसान बनाउनु पर्यो । लकडाउन खुकुलो भएपछि लागू भएको जोर–बिजोर प्रणाली, सवारी पास चेकिङदेखि मोटरसाइकलमा एक यात्रुमात्रको सवारीजस्ता नीति कार्यन्वयन गराउन तल्लीन छन् । यसबाहेक सवारी दुर्घटना न्यूनीकरण, ओभर स्पीड कन्ट्रोल, मापसे चेकिङ, ट्राफिक नियम पालना गराउनेजस्ता नियमित ड्युटी त छँदैछन् । साथै कोभिड-१९ बारे जनचेतना जगाउने प्लेकार्ड बोकेर सडकमा उभिने जिम्मा पनि वहन गरिरहेका देखिन्छन् । यसबीचमा सामाजिक दूरी कायम गर्न, सडक गतिविधि रोक्न, आपत परेकालाई गन्तव्यमा पुर्याउन, बिरामीलाई अस्पताल र घर पुर्याइदिन र इमर्जेन्सीमा परेकालाई ट्याक्सी खोजिदिन पनि ट्राफिकले भूमिका खेलेको महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकाल बताउँछन् । उनी भन्छन्, ‘कोभिड-१९ को जोखिममा ‘फ्रन्टलाइनर’का रूपमा सडकमा खटिने ट्राफिकलाई सुरक्षाका सबै सामग्री उपलब्ध गराएका छौं । मास्क, पिपिइ, सेनिटाइजर, चस्मा, ग्लोबजस्ता सामग्री सबैलाई पुर्याएका छौं ।’
महानगरीय ट्राफिक प्रहरी प्रभाग कलंकीका इन्स्पेक्टर पुरुषोत्तम कार्की ट्राफिक नेपाल प्रहरीको ‘ब्राण्ड एम्बेसडर’ भएको बताउँछन् । त्यसैकारण अलग्गै चिनिने गरी ट्राफिकलाई सेतो टोपी, पन्जा र बेल्ट दिइएको उनको तर्क छ । सबैभन्दा बढी ट्राफिक हुने साँझपखको समय कलंकीमा एकै पटक २० जना ट्राफिक खटिन्छन् । तथापि अहिलेको समयमा समस्या अझ जटिल छ । ‘इमर्जेन्सीको डिग्री नाप्नु नै अहिले परिरहेको मुख्य समस्या हो’, उनी भन्छन्, ‘बिरामी र अन्य अत्यावश्यक काम परेका मानिस बोकेका सवारी चिनेर सहजता प्रदान गर्ने काम साह्र्रै गाह्रो छ ।’ त्यसमाथि कलंकीको चापमा पनि ट्राफिक लाइटको व्यवस्था छैन ।
काठमाडौं उपत्यकामा अर्को सवारी चाप हुने चोक हो-थापाथली । नवलपरासीकी सीता रानामगर (२७) ले त्यहाँ ६ महिना काम गरिन् । उनी अहिले महाराजगन्जको महानगरीय ट्राफिक प्रहरी वृत्त अन्तर्गत छिन् । थापाथलीजस्तै महाराजगन्ज पनि बढी सवारीको चाप हुने ठाउँमा पर्छ । ‘सडकमा बसेर ड्युटी गर्दा पहिलो नजर नै ट्राफिकमा पर्ने भएकाले सबैको ‘आइकन’का रूपमा रहेका हुन्छौं’, उनले भनिन्, ‘त्यसैले पनि अनुशासित तवरमा सवारी व्यवस्थापनको जिम्मेवारी पूरा गर्नुपर्छ ।’
महाराजगन्जको ट्राफिक वृत्तको नेतृत्व गरिरहेका कन्चनपुरमा केशवराज भट्ट (३२) उनको कुरामा सहमत छन् । ‘ट्राफिक कलाकारभन्दा बढी वाच हुने आइकन हो,’ उनी भन्छन्, ‘सडक भनेको राज्यको रक्तसंचार पनि हो । सडकका हुने क्रियाकलापबाट राज्यको पहिचान हुन्छ ।’ दैनिक जीवनसँग सडक सम्बन्धित हुने भएकाले स-साना कुरामा पनि ट्राफिकसँग जोडिन्छन्, त्यसैले ट्राफिकको जिम्मेवारी संवेदनशील छ । देख्दा सजिलो लागेपनि ट्राफिकसँग अपेक्षा धेरै हुन्छ, तर स्रोत–साधन कम । त्यसैले विवेकमा चल्नुपर्ने बाध्यता रहेको उनको अनुभव छ । त्यसो त उनी सडकलाई खुला स्टेजका रूपमा लिन्छन् । आम मानिसले हेरिरहने त्यो स्टेजमा रहन पाउनुमा उनी गौरव गर्छन् ।
चाबेल, मित्रपार्क, गौशाला, पुनारो बानेश्वर, रातो पुलदेखि चुच्चेपाटी र सेतो पुलसम्म ट्राफिक व्यवस्थापन महानगरीय ट्राफिक प्रहरी वृत्त गौशालाले गर्छ । अस्तव्यस्त सडक, ठूला धार्मिक पर्वसमेत हुने भएकाले यो क्षेत्रको ट्राफिक व्यवस्थापन पनि चुनौतीपूर्ण छ । वृत्तको नेतृत्व गरिरहेका दलराम टमटा ट्राफिक व्यवस्थापनको अभावमा सहरको आवागमन ठप्प हुने भएकाले सहरलाई चलायमान गर्ने जिम्मेवारीमा गौरवबोध हुने बताउँछन् । ‘हजारौं मानिसको जीवन सहज बनाएर पुण्य कर्म गरेजस्तै अनुभूति हुन्छ,’ झण्डै १५ वर्ष ट्राफिक प्रहरी जीवन बिताएका टमटा अनुभव सुनाउँछन्, ‘हाम्रो अहोरात्र प्रयासकै कारण दमकल, एम्बुलेन्सलाई सहज भएको छ । ट्राफिक चुस्तदुरुस्त छ ।’ काठमाडौंबाहिर समेत काम गरेका उनी उपत्यकामा ट्राफिकको व्यवस्थापन प्रशंशायोेग्य रहेको तर्क गर्छन् । गएको शिवरात्रीमा सवारी आवागमन अन्यत्र डाइभर्ट नगरेरै ट्राफिकले मेलाका बेलामा पनि उत्कृष्ट सवारी व्यवस्थापन गरेको थियो ।
साढे दुई वर्षदेखि काठमाडौं उपत्यकाको विभिन्न ठाउँको ट्राफिक व्यवस्थापनको अनुभव संगालेका छन्–धनगढी फूलबारीका अतीत पौडेल (२९) ले । ट्राफिक महाशाखा बग्गीखाना र कलंकीमा काम गरिसकेका उनी केही महिनायता भने महानगरीय ट्राफिक प्रहरी परिसर भक्तपुरमा रहेर काम गरिरहेका छन् । परिसरले ठिमीदेखि साँगासम्म ७ प्वाइन्टमा रहेर ट्राफिक व्यवस्थापन गर्छ । उनको अनुभवमा बढी सवारी चाप हुने ठाउँको ट्राफिक व्यवस्थापन गर्न गाह्रो हुन्छ भने कम चाप हुने ठाउँमा तुलनात्मक रूपमा सहज ।
उपत्यकाका तीन वटा जिल्ला काठमाडौं, भक्तपुर, ललितपुरको ट्राफिक व्यवस्थापनको जिम्मेवारी ट्राफिक महाशाखाले लिन्छ । महाशाखाका प्रमुख एसएसपी ढकालकाअनुसार ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा अधिकृतदेखि जवानसम्म गरी १ हजार ४ सय ४५ जना खटिएका छन् । उपत्यकाका १ सय ५२ ठाउँमा ट्राफिक प्वाइन्टमार्फत सहरको मोबिलिटी सहज पार्न ट्राफिक प्रहरीले काम गरिरहेको छ । ४६ वटा ठाउँमा संयुक्त चेक प्वाइन्ट, ३९ ठाउँमा राति पनि ट्राफिक प्रहरी तैनाथ गरिएको छ ।
उपत्यकाका गुड्ने झण्डै १२ लाख सवारी साधनको व्यवस्थापन यही महाशाखाले गरिरहेको छ । उपत्यकाको २ हजार १४ किलोमिटर सडकमा १२ लाख सवारी साधनको चाप कल्पनामात्रै गर्न सकिन्छ । ‘१ किलोमिटरमा झण्डै १२ सय सवारी साधन पर्न जान्छ । सामान्य अवस्थामा यो पार गर्न नसक्ने अवस्था हुन्छ, तर हामीले त्यसलाई चलायमान बनाइरहेका छौं,’ एसएसपी ढकाल सुनाउँछन्, ‘सरकारले यति ठूलो जिम्मेवारी हामीलाई दिएकोमा गर्व छ । यो व्यवस्थापनमा सक्रियता हामीले नदेखाउने हो भने त उपत्यकाको सवारी आवागमन ठप्प नै हुन्छ ।’ विभिन्न प्राकृतिक विपत्ति र राजनीतिक उथलपुथलमा पनि ट्राफिक प्रहरीको विशेष भूमिका रहने गरेको छ । यी तमाम जिम्मेवारीबीच पनि कहिलेकाहीँ केही ट्राफिक प्रहरीको बोलीवचन तथा व्यवहारका कारण विवादमा पर्ने गरेको छ ।
अनेकन समस्या
लकडाउनभन्दा केही महिनाअघि प्रहरीले युवा स्वयंमसेवकलाई ट्राफिकका रूपमा परिचालन गरेको थियो । त्यो अभियानको समापनमा एक स्वयंसेवकले भनिन्, ‘हामी ट्राफिकलाई गाली गथ्र्यौं । हामी त सडकमा दुई घण्टा पनि उभिन नसक्ने रहेछौं । १६-१६ घण्टा ट्राफिक कसरी उभिन्छ होला ?’
कुहिरीमण्डल धुँवा । पानी पर्नेबित्तिकै पाइला चाल्न नसकिने हिलो । अत्याधिक सवारी चाप । कानुन मिच्ने र झगडालु सवारी चालक । ट्राफिक प्रहरीले भोगिरहने समस्या हो ।
त्यसमाथि केही छिटो वा ढिलो भइदिँदा सडकमा हुइँकिनेले ट्राफिकलाई धारे हात लगाइ हाल्छन् । पिक आवरमा अत्याधिक सवारी चाप हुने सडकमा जब ट्राफिकको भाषामा क्यु (यात्रुको भाषामा जाम) हुन थाल्छ, घरमा पुग्न हतारो भएका यात्रुहरू ट्राफिकलाई गाली गर्न थाल्छन् । यसैबीच पनि अस्तव्यस्त र साँघुरो सडकमा जताततै अवरोधकाबीच घुसेर सवारी व्यवस्थापन गरी यात्रुलाई चाडो गन्तव्यमा पु¥याउन तल्लीन रहनु ट्राफिक प्रहरीको कर्तव्य हुन्छ । त्यतिमात्रै होइन, ट्राफिकको ध्यान सडकमा ट्राफिक नियम पालना गराउनेदेखि दुर्घटना न्यूनीकरण, सडक नियम पालना नगर्नेलाई कारवाही, चिट काट्ने, कक्षा लिनेदेखि दुर्घटनाको अनुसन्धानसम्मको काममा ध्यान दिनुपर्ने हुन्छ ।
सडकमा सवारीको चाप बढेपनि सडकको अवस्था उस्तै छ, पर्याप्त पूर्वाधार छैन । ट्राफिक लाइट, ट्राफिक आइल्याण्डको अभाव छ । टेक्नोलोजीमा आधारित ट्राफिकिङमा नेपाल पछाडि नै छ । नाइटभिजन सिसिटिभीको अभाव भएकाले राती हुने ‘हिट एन्ड रन’ घटनामा अनुसन्धान गर्न गाह्रो परिरहेको छ । सडक दुरावस्था उस्तै छ, ट्राफिक चिन्ह नहुँदा अर्को समस्या छ । ‘यही अवस्थामा नयाँ सवारी साधन बढ्ने र पुरानाको व्यवस्थापन नहुने हो भने अबका चार–पाँच वर्षमा धान्नै नसकिने ट्राफिक चाप हुन्छ’, गौशाला ट्राफिक वृत्तका प्रमुख टमटा भन्छन् ।
दैनिक १६ घण्टासम्म सडकमा बिताउने प्रहरीले व्यवहारिक समस्या पनि उत्तिकै झेल्नुपर्छ । सडक समयमै नबन्दा, मर्मत सम्भार नहुँदा धूलो र हिलोको सामना गर्नुपर्छ । ट्राफिक प्रहरीको अर्को समस्या भनेको बाथरुम, ट्वाइलेट, खानेपानी र खाजाको उपयुक्त प्रबन्ध नहुनु पनि हो । कतिपय ठाउँमा ट्राफिक प्रहरी बस्नका लागि ब्यारेकको समेत अभाव छ । यसमा सरोकारवाला निकाय मौन छन् । ट्राफिक महाशाखाका प्रमुख ढकाल भन्छन्, ‘धुलो धुँवा खाएर १६-१६ घण्टा सडकमा उभिने प्रहरीलाई दुःख त छ नै ।’ कोभिड–१९ को त्रासका बीच दवाबमा कर्मचारीलाई काम नगराउने र बिदाको व्यवस्था गर्ने गरिएको उनी बताउँछन् ।