‘अरुण तरेर नाना तमोर तरेरआयौँ हामी वीरताको गाथा कोरेर !’
गायक प्रदीप देवानको यो गीत माओवादी युद्धताका निकै चर्चित थियो । उनी युद्धयात्रालाई ‘वीरताको गाथा’का रूपमा गाउँदै गाउँगाउँमा पुग्थे, जनताबीच समाज रूपान्तरणको सपना देखाउँथे । यस्तै गीत सुनेर माओवादी आन्दोलनप्रति आकर्षित हुने थुप्रै मान्छे समाजमा छँदै छन् । तर, युद्ध सकिएको एक दशकपछि प्रदीपको गीतियात्राले १ सय ८० डिग्रीको फन्को मार्यो । एक वर्षअघि उनले गणेश स्तोत्रको भजन गीत रेकर्ड गरेर युट्युबमा अपलोड गरे– जय गणेश, जय गणेश, जय गणेश देव !
क्रान्तिका गीत गाएर अरूलाई उद्वेलित पार्ने देवानको आफ्नो भजन अवतरणबारे बेग्लै तर्क छ । भन्छन्, ‘संसार चेतना र भौतिकताले चलेको हुन्छ । यसलाई मानिसले स्वीकार गरेका छैनन् । धर्मगुरुहरूले संसार आध्यात्मिक मात्रै हो भनेर बुझे, कम्युनिस्ट राजनीति गर्नेले सबै भौतिक मात्रै हो भनेर बुझे । तर, एउटै मानिसमा दुवै चेतना हुनु जरुरी छ । क्रान्तिकारी गीत गाउनु भौतिकवादी हुनु हो र भजन गाउनु आध्यात्मिक हुनु हो । संसार नै यसरी चलेको हुन्छ ।’
देवान आफूहरूले देखेको सपना भने नभुलेको दाबी गर्छन् । काठमाडौंको निजी संगीतालयमा संगीत सिकाउँदै गरेका देवान २०५६ सालमा भूमिगत भएर युद्धमा सहभागी भएका थिए । जनयुद्ध र जनआन्दोलनपछि देशमा गणतन्त्र स्थापना भएको छ । उनीसँगै भूमिगत मुख्य नेताहरू सिंहदरबार डोरिए । कति मन्त्री भए, सांसद भए । दुई जना नेता (पुष्पकमल दाहाल र डा. बाबुराम भट्टराई) त प्रधानमन्त्री नै बने । देवान डा. भट्टराई प्रधानमन्त्री हुँदा उनको सचिवालयमा पनि रहेका थिए । अहिले भने उनी पार्टीले आफूजस्ता कलाकारलाई उपयोग गर्ने र फ्याँकिदिने गरेको गुनासो गर्छन् ।
कम्युनिस्टहरू भौतिकवादी हुन्छन् । उनीहरू भगवान् मान्दैनन् र भगवान्को भजन पनि गाउँदैनन् । देवान भने आध्यात्मिकता र भौतिकता एक सिक्काका दुई पाटा भएको व्याख्या गर्छन् र आफूले गाएको गणेश भजनको औचित्य पुष्टि गर्न खोज्छन् ।
हिन्दू धार्मिक अनुष्ठान र महायज्ञहरूमा वाद्यवादक बनेका अर्का कलाकार हुन्— सुजन लामा । महोत्तरी खयरमाराका लामा स्कुल पढ्दापढ्दै माओवादी युद्धमा सहभागी भएका थिए । ‘पढ्ने–सिक्ने उमेरमा माओवादीले लग्यो’, २०५९ सालमा युद्धमा पूर्णकालीन भएका उनी भन्छन्, ‘शान्ति–प्रक्रियामा आएपछि पार्टी फुटेसँगै अब कता जाने, के गर्ने भन्ने निर्णय गर्न सकिनँ ।’ त्यसपछि गुजाराका लागि व्यावसायिक वाद्यवादनमा लागेको उनी बताउँछन् । माओवादीका कार्यक्रममा उनी कहिले गीत गाउँथे, कहिले बाँसुरी बजाउँथे, कहिले नाच्थे पनि । ‘२०६५ सालपछि अबको जीवन कसरी गुजारा गर्ने भन्ने चिन्ता भयो’, लामा भन्छन्, ‘सुरुवाती दिनमा मैले काठमाडौंका केही दोहोरी साँझमा पनि काम गरेँ । मसँग अरू सीप र दक्षता पनि केही थिएन, गुजारा गर्नकै लागि यात्रा यता मोडिएको हो ।’
लामासँगै युद्धमा गाउँदै र नाच्दै हिँडेका सहयात्रीहरू अहिले कोही विदेश भासिए । कति व्यापार–व्यवसायमा लागे, कति व्यावसायिक गीत/संगीतमा कष्टको जिन्दगी बिताइरहेछन्, हिजो देखेका सपना लिएर मन्त्री–प्रधानमन्त्री हुनेहरूले नसम्झिएको गुनासो लामाको पनि छ । भन्छन्, ‘नेताहरूले नै बिर्सेपछि युद्धकालीन गीत–संगीतको औचित्य सकिएजस्तो भएको छ ।’
मकवानपुर फापरबारीकी निर्मला घिसिङ पनि भेदभावरहित समाजको सपना देखेर माओवादी युद्धमा पुगेकी थिइन् । छोरीलाई विभेद गर्ने समाजमा हुर्केकी घिसिङले कलिलै उमेरमा युद्धका धेरै गीत गाइन् । सानैदेखि गाउने रुचि भएकी उनले माओवादीको जनकलाकारको टोलीमा मिसिएर गाउन थालिन् । पछिल्लो समय उनले गाएको नेत्रविक्रम चन्द ‘विप्लव’ द्वारा रचित ‘कसले बनायो दाजै उडी जाने बस’ गीतले पनि चर्चा बटुलेको थियो । गत वर्ष निर्मला गायनसम्बन्धी रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा गीत गाउँदै गरेकी भेटिइन् । ‘हिजो एक हिसाबले गीत गाएर हिँडेको मान्छे, आज फरक धारका गीत गाएर जीवन धानीरहेकी छु’, उनी भन्छिन् ‘मलाई म व्यावसायिक गायिका हुँ भनेर चिनाउनु थियो, त्यसैले मैले त्यो प्लेटफर्म प्रयोग गरेकी हुँ ।’
निर्मला आज फरक परिचय बनाउन चाहन्छिन् । किन त ? ‘जे सोचेर क्रान्तिका गीत गाएर हिँडियो, त्यो सपना पूरा भएन,’ निर्मला भन्छिन्, ‘शान्ति प्रक्रियापछि हामी कलाकारहरू अस्तव्यस्त भयौँ, अनि मैले यो बाटो रोजें ।’ उनी हिजोको दिनलाई खुकुरीको धारको यात्रा मान्छिन् । ‘आज मैले जुन परिचय पाएको छु, त्यो तिनै दिनहरूको देन पनि हो । त्यहीँबाट मेरो गायन कलाको सुरुवात भएको हो । काँडाको बाटोमा हिँडेको फल हो, आजको सफलता ।’ आज व्यावसायिक गायनमा आफ्नो फरक छाप पारेकी भए पनि हिजोका सपना आफूले नबिर्सेको उनी सुनाउँछिन् । हिजोका सपना बिस्तारै पूरा हुँदै जालान् भन्नेमा उनी आशावादी छिन् । युद्धमा छँदा व्यावसायिक गीतलाई ‘बुर्जुवा गीत गाउनु हुन्न’ भन्ने धारणा भएको उनी सम्झन्छिन् । ‘अहिले भने आफ्नो कलाक्षमता जसरी देखाए पनि हुन्छ भनेर छाडिदिएका छन् । मैले आफ्नो क्षमताको बाटो समातेर केही पहिचान बनाएको छु । जो क्रान्तिकारी गीत नै गाउने हो भन्नेमा छन्, उनीहरू अहिले पनि अन्योलमा छन्,’ निर्मला भन्छिन् ।
युद्धकालमै चर्चित बनेका मोहित श्रेष्ठ पनि आफ्नो बाटो व्यावसायिक दुनियाँमा कसरी खोज्ने भन्ने दुविधामा छन् । रोल्पामा भएको सांस्कृतिक कार्यक्रममा उनको गीत सुनेर भक्कानिएका प्रचण्ड र डा. भट्टराई मूलधारको राजनीतिमा सक्रिय नै छन् । तर, मोहित भने आफूहरू पछि परेको सुनाउँछन् । ‘त्यो समयमा हामीले अग्रमोर्चामा रहेर काम गर्नुपथ्र्यो, अब त्यो अवस्था रहेन’, उनले भने, ‘कलाकारहरू पछाडि परियो ।’
दाङका मोहित २०५४ सालमा जनवादी गीत गाउँदै युद्धमा होमिएका थिए । हिजो वर्गसंघर्षमा सहभागी जनकलाकारहरू आज भरिया, ज्यामी, किसान, मजदुर र खेताला भएको मोहित बताउँछन् । अहिले आफ्नै बाँकी जिन्दगी कसरी गुजार्ने भन्ने चिन्ता छ उनलाई । भन्छन्, ‘अब जीवन धान्न केही गर्नुपर्छ भनेर भिडियो एडिटिङ सिक्दैछु । मेरो जुन हाल छ, पार्टीका ठूलाठूला कार्यकर्ताहरूको पनि त्यही हाल छ ।’ जनयुद्धमा लागेर केही मान्छे कमाएजस्तो लाग्ने मोहितलाई जिन्दगीको २५ वर्ष भने गुमाएजस्तो लागेको सुनाए ।