चैत महिनाको प्रारम्भसँगै सुदूरपश्चिमका गाउँ-गाउँमा हुड्के नाचको लहर छ। वसन्त ऋतुको सुरुवातसँगै प्रारम्भ हुने हुड्के नाचमा ऋतुराग गाइन्छ भने त्यसमा देउताले राससित गरेको लडाइँको बहादुरी र घटनालाई गीतका माध्यमबाट सुनाइन्छ। यसमा बाइसे-चौबीसे राज्यका बेला सुदूरपश्चिममा शासन गर्ने राजाहरूको बखान, सुदूरपश्चिमेली सभ्यता र संस्कृतिलाई गीत एवं नृत्यका माध्यमले प्रस्तुत गरिन्छ। हुड्के समुदायका व्यक्ति महिना नसकिएसम्म गैरदलित समुदायको घरआँगनमा गएर कथा सुनाउने चलन छ। उनीहरू रात-दिन घरघरमा गाउँदै हिँड्छन्। हुड्के घरमा नआए अशुभ हुने विश्वास छ। दलितमध्येका बादी तथा दमाईं समुदायले गैरदलितको घरमा गएर हुड्के नाच देखाएर अन्न र पैसा लिन्छन्। विवाह, व्रतबन्धजस्ता शुभ कार्यमा पनि हुड्को बजाएर रमाइलो गर्ने चलन छ। यसमा महिला र पुरुष दुवै 'जोडी' बनाएर गाउँछन्। पुरुषको बजाउने र महिलाको नाच्ने जिम्मेवारी हुन्छ। यहाँका बासिन्दाले मान्दै आएको कुमाउँनी संस्कृतिबाट भित्रिएको यो नाच प्रदर्शन गर्न सीमा जोडिएका भारतीय गाउँका मानिसहरूसमेत आउँछन्। भारतको कुमाउँ क्षेत्र र सुदूरपश्चिमका पहाडी जिल्लाको भाषा र संस्कृतिमा समानता पनि पाइन्छ।