
साप्ताहिक संवाददाता

च्याब्रुङ नाचको आधारभूत ताल कुसरक्पा हो। यसमा पनि विविधता हुन्छ। यो कहिले गोलो घेरामा, कहिले अर्धगोलाकार त कहिले सरल रेखामा नाचिन्छ। यसमा सबैले एउटै तालमा खुट्टाहरू अघिपछि सार्छन् भने हातले गर्ने अभिनय पनि रोचक हुन्छ। रमाइलो त के छ भने, च्याब्रुङ पारखीहरूले त्यसको गति, बोल र अभिनय हेरेरै नृत्य कहाँ पुग्यो भन्ने थाहा पाउन सक्छन्। यो नृत्यमा कुखुराको भाले, परेवा, मुजुर, ढुकुर, कोइली, भँगेरा, सर्प, पतली, दुम्सी, मृग, बाँदरजस्ता जीवजन्तुको हाउभाउको अनुकरण गरिएको हुन्छ। च्याब्रुङ नाच विवाह, भोजभतेरमा तन्नेरीहरू नाच्छन् भने देवीदेवताको पूजाआजामा परिवारका सदस्यहरू एकै समूहमा नाच्छन्। यो नाचमा गाइने मुन्धुममा पृथ्वीको वर्णन गरिएको हुन्छ।