गौरापर्वको मुख्य दिन अष्टमी (अठेवाली) मा बिरुडालाई घरमा लगेर पकाएर खाने चलन छ, बिरुडाले नै टाउको पुजन हुन्छ। हिमालयकी छोरी पार्वतीले भगवान् शिवलाई पति पाउन गौरा देवीको निराहार व्रत बसेको किंवदन्तीका आधारमा गौरा पर्व मनाइएको हो। पार्वतीले शिव पति पाएझै अविवाहित युवती शिवझै पति पाउन व्रत बस्ने गरेका छन्। विवाहित महिलाले भने पतिको दीर्घायुको कामना गर्छन्। त्यस क्रममा महिला एवं पुरुषहरूले वर्ष दिनका पीडा बिर्सन विभिन्न खेलहरू खेलेर मनोरञ्जन गर्छन्। अठेवालीका दिन गौरा देवीको प्रतिमालाई टाउकामा राखेर नचाइन्छ। पुरुषले धुमारी, ढुस्को, ठाडो खेल र देउडा खेल्छन्। धुमारी, ढुस्को र ठाडोमा खेलमा महाभारत, रामायण्ासहित धार्मिक ग्रन्थमा आधारित कथाहरू भनिन्छ। यद्यपि अचेल ठाडो खेलमा वीरगाथा हराउँदै जान थालेका छन्।
सामाजिक सद्भाव र महिलाहरूको सम्मानका लागि मनाइने गौरा सांस्कृतिक पर्व भएकाले सबैले मनाउनुपर्ने धारणा स्थानीय बूढापाकाको छ। पुरुषहरूले गौरा नचाउने स्थान नजिकै धुमारी, ढुस्को, देउडा खेल्ने चलन छ। धामी झाक्रीलाई खुसी बनाउन अठेवालीका दिन पुरुषहरू विशेष गरी देवी-देवताका गाथा समेटिएका खेलमा रमाउँछन्। गौरामा नयाँ पहिरन लगाउने तथा मीठो खाने चलन छ। गच्छेअनुसार सबैले मनाउने गौराको अन्तिम दिन बाजागाजासहित जलाशय वा नदी किनारहरूमा पूजा विसर्जन गरिन्छ।