नेपालमा रहेका तलाउ, पोखरी तथा कुण्डहरू प्राकृतिक रूपमा रमणीय छन्। यस्ता कुण्डहरू धार्मिक हिसाबले पनि उत्तिकै प्रख्यात छन्। हिन्दूहरू तीज, छठ आदि पर्वमा कुण्डमा गएर स्नान तथा पूजा-आराधना गर्छन्। चितवनको माडीस्थित रेवानदीको दक्षिणस्थित सोमेश्वर पहाड नजिक परशुराम कुण्ड छ। यो कुण्डलाई धार्मिक रूपमा महत्वपूर्ण मानिन्छ। किंवदन्तीअनुसार उक्त कुण्डमा भगवान् परशुरामले तपस्या गरेका थिए। रामनवमीमा ठूलो मेला लाग्ने यो पवित्रस्थलमा चैते दसैंका बेला ६ दिने मेला लाग्छ। उक्त कुण्ड आसपास द्रौपदी कुण्ड, युधिष्ठिरको छाता तथा राजा विराटको गोठ आदि पनि छन्।