उल्लास र उमंग सञ्चार गर्ने पर्व होलीका बेला गाउँघरमा जोगिरा सरर लयमा गाइने गीत सुनिन छाडेको छ । होली आएको संकेत गर्न दुई साता अघिदेखि नै गाउँघरमा जोगिरा सरर... लयको गीत सुनिन छाडेपछि जोगिरा लोप हुन थालेकोमा गाउँलेहरू चिन्तित पनि छन् । रंगहरूको पर्व होलीमा जोगिरा सुन्न नपाउँदा होली खल्लो हुँदै गएको गाउँलेहरू बताउँछन् ।
यो वर्ष यहाँ कहींकतै जोगिरा लय हालिएको धुन सुनिएको छैन । विशेष गरी तराई–मधेसका जिल्लामा रमाइलो गरी होली मनाउन बूढापाका तथा तन्तेरीहरू जोगिराको भाका हाल्थे । समूह बनाएर युवादेखि बूढापाकाहरू ढोल, मुजुरा, हार्मुनियम तथा डम्फु–झ्याली बजाउँदै जोगिरा गाउँथे ।
जोगिरा लयमा विभिन्न हाँसो ठट्टा, गालीगलौज, व्यग्य गीत, भजन अनि चुड्का भन्दै रमाइन्थ्यो । अपशब्द प्रयोग गरेर गालीगलौज र हाँसो–ठट्टा गर्दा पनि सबैले सामान्य रूपमा लिन्थे, तर आजभोलि गाउँ, टोल, चोक, बजार कहीं–कतै पनि जोगिरा लय सुनिँदैन । जोगिरा सुन्न नपाएपछि चार–पाँच वर्षदेखि होली खल्लो लागिरहेको छ भन्छन् अवधि सांस्कृतिक विकास केन्द्रका अध्यक्ष आरडी ठाकुर । यसको आफ्नै महत्व छ, जोगिरा सुन्दै शुद्ध माटो र हिलोले होली खेले भाइचारा एवं प्रेम अझ मजबुत हुने ठाकुर बताउँछन् ।
पहिले–पहिले होली सुरु हुन नपाउँदै नयाँ ढोल, मुजुरा र हार्मुनियम किन्ने–बनाउने तथा पुराना भएकालाई मर्मत सम्भारको चटारो हुन्थ्यो तर अहिले त्यस्तो केही देखिँदैन, –सिहोखोर गाविस–४ का ७० वर्षीय सजन धोबी बताउँछन् । सजनले १० वर्षअघिसम्म होलीका बेला जोगिरा गाएरै ६ महिनाको खर्च जम्मा गर्थे तर अब त्यो परम्परा लोप हँुदै गएकोमा दु:खी छन् उनी ।
उता वसन्तपुर गाविसका प्रेम गिरी पनि समूह बनाएर जोगिरा सरर गाउँदै गाउँ–गाउँ चहार्थे तर अहिले जोगिरा बोलीमा मात्र सीमित भएको उनले गुनासो गरे । होलीका बेला एफएम र टेलिभिजनबाटै जोगिरा प्रसारण हुने हुँदा भर्खरै सिकिरहेकाहरूले विस्थापित बन्नुपरेको गिरीले बताए । जोगिरा गाउन धेरै मेहनत गर्नुपर्छ, एफएममा सजिलै सुनिने हुँदा धेरै उतै आकर्षित हुन्छन्, गिरीले भने । यद्यपि गाउँघरमा गाएको जस्तो एफएमबाट सुनेर आनन्द आउँदैन, उनले भने ।
जोगिरा सुन्न पहिले–पहिले टाढा–टाढाबाट साथीभाइ तथा इष्टमित्रहरू आफ्नो घर आउँथे भन्दै वसन्तपुरकै कैलाशनाथ मिश्रले त्यसले दु:ख साटासाट र एक–अर्काको पीर–मर्का कम गर्ने गरेको बताए । खुसीका साथ रंग र अबिर खेलेर फेरी घर फर्कन्थे, उनले थपे । जोगिरा नगाइँदा अहिले गाउँघर, सहरबजार एवं चौकहरू सुनसान छन् । होली आएको संकेत पाउन समेत गार्हो भएको छ, उनी भन्छन् ।
जोगिरा गाउँदै रंग र अबिर खेलेर मनाइने होलीले अर्कै मज्जा दिन्छ भन्छन् महाराजगन्जका ढृगनाराण पाण्डे । उनले जोगिराले दु:ख–पीडामा मल्हम लगाउने भएकाले तराई–मधेसको यो महत्वपूर्ण परम्परा लोप हुन नदिन सबै सक्रिय हुनुपर्ने सुझाव दिए ।