आफ्नो खराब बानी तथा गलत प्रवृत्ति त्याग्न प्रेरणा दिने तथा खराब प्रवृत्तिमाथि असल प्रवृत्तिको विजय देखाएर मानिसलाई सही बाटोमा हिँड्न प्रेरित गर्ने चाडहरूमध्ये एक हो— रंगहरूको उत्सव फागु । फागु, होली, होरी जे नामले मनाइए पनि यो रंगहरूको उल्लासमय पर्व हो । फागुन शुक्ल अष्टमीका दिन हनुमानढोका दरबार परिसरमा विभिन्न रंगीन ध्वजाद्वारा निर्मित चिर गाडेर विधिवत् रूपमा पूजा गरी फागु पर्व आरम्भ गरिन्छ ।
फागुको धार्मिक, पौराणिक, सामाजिक, मनोवैज्ञानिक तथा आयुर्वेदिक महत्व पनि छ । आयुर्वेदमा रंगहरूको उपचार पद्धति अर्थात् कलरथेरापीका बारेमा विशद् चर्चा गरिएको पाइन्छ । जसअनुसार शुद्ध रंगको लेप प्रयोग गरेर विभिन्न चर्मरोगको उपचार गर्न सकिन्छ । बेसारजस्ता प्राकृतिक रंगको प्रयोगले मानव स्वास्थ्यमा पुग्ने लाभका बारेमा हामी अनभिज्ञ छैनौं ।
फागुमा शुद्ध रंग तथा शुद्ध पानी प्रयोग गर्न नसकिने होइन, यद्यपि आजभोलि विभिन्न रसायनयुक्त रंगको प्रयोगले फागु पर्वको महत्त्वलाई विकृत बनाउँदै लगेको छ । हिजोआजको होलीमा डिजेल, लुब्रिकेन्ट, घर पोत्ने रंग, फर्निचरमा लगाउने रंगजस्ता हानिकारक रसायन मिश्रित पदार्थको प्रयोग हुन थालेको छ । यो पक्कै पनि राम्रो चलन होइन, यस्ता रसायनिक पदार्थले आँखा तथा छालालाई प्रत्यक्ष हानि पुर्याउँछन् । शिष्ट, सभ्य एवं मर्यादित रूपमा प्राकृतिक रंग प्रयोग गरी होली खेल्नु नै यो पर्वको विशिष्टता हो ।
सामाजिक तथा मनोवैज्ञानिक दृष्टिकोणले पनि होलीको विशेष महत्व छ । वैमनस्यता त्यागेर मित्रता बढाउन होलीले उत्प्रेरकको भूमिका निर्वाह गर्छ । होली इच्छा र स्वीकृतिमा रंग प्रयोग गरेर मनाइने चाड हो, तर आपसी सद्भाव खल्बलिने र विवाद बढाउने तवरले यो पर्व मनाउनु भनेको होलीको मर्ममाथिकै प्रहार हो । हार्दिकता र शान्तिपूर्ण वातावरणमा होली खेल्नुमै होली पर्वको गुढ अर्थ लुकेको छ ।
फागुमा बढीभन्दा बढी रंग प्रयोग गरिन्छ । यस्ता रंग प्रयोग गर्दा महिलाहरूले आफ्नो सौन्दर्यमा बढी ध्यान दिनुपर्छ । महिलाहरूको कोमल छालालाई सामान्य रंगले पनि हानि पुर्याउन सक्छ । विभिन्न रंग पर्दा केशको सौन्दर्य हराउनुका साथै केश झर्ने, चायाँ पर्ने जस्ता समस्या देखा पर्न सक्छन् । यो रंगको पर्व त हो नि भनेर जथाभावी रंग प्रयोग गर्ने हो भने त्यसले हाम्रो स्वास्थ्य एवं सौन्दर्यलाई क्षति पुर्याउन सक्छ । फागुका नाममा आजभोलि प्रयोग गरिने कतिपय रंगमा मिसाइएका कृत्रिम रसायन एवं अन्य वस्तु मानव स्वास्थ्यका दृष्टिले समेत हानिकारक भएको कुरालाई विज्ञानले पुष्टि गरिसकेको छ । सिसा मिसिएका रंगको प्रयोगले छालाका रोग तथा फोक्सोको क्यान्सर हुन सक्छ, त्यसैले होली खेल्दा रंगको प्रयोगमा विशेष ध्यान पुर्याउनुपर्छ ।