
साप्ताहिक संवाददाता

ज्वालामुखी देवी
धादिङको चैनपुरमा पर्ने ज्वालामुखी देवीको मन्दिरमा दसैंमा बढाइँ दिने चलन छ । सदरमुकाम धादिङबेसीबाट काफलपानीसम्म गाडीमा सहजै पुग्न सकिने यो मन्दिर आसपासबाट धादिङका सबै गाविस हेर्न सकिन्छ ।
बडिमालिका
बाजुरा जिल्लाको बढी मालिका मन्दिर दसैंमा धेरै घुइँचो लाग्ने मन्दिर हो । बडा दसैं तथा चैतेदसैंमा विशेष मेला लाग्ने बडिमालिका मन्दिरलाई ठूलो शक्तिकेन्द्र मानिन्छ । १२ हजार २ सय १९ फिट उचाइमा अवस्थित यो मन्दिरमा अष्टमीका दिन बलि दिएर टीका लगाउन घरमै पुग्ने चलन छ । सदरमुकाम मार्तडीबाट तीन दिनको पैदल यात्रा गरी बडिमालिका मन्दिर पुग्न सकिन्छ ।
नरदेवी
काठमाडौंको मध्यभागमै रहेको नरदेवीमा पहिले–पहिले मानिसहरूकै बलि दिइने हुनाले यी देवीको नाम नरदेवी राखिएको किंवदन्ती छ । नरदेवी न्युरोड–इन्द्रचोकबाट नजिकै पर्छ । नरदेवीको आराधना गर्नाले सुख, समृद्धि एवं मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ । यहाँ पञ्चबलि दिने चलन छ ।
संकटा
हालको काठमाडु मल अर्थात् नेपाल वायुसेवा निगमको कार्यालयपछाडिको टेबहाल गल्लीमा प्रसिद्ध संकटा भगवतीको मन्दिर छ । संकटा मन्दिरको पहिलो तल्लामा संकटा देवीको मूर्ति छ भने तल्लो तल्लामा करुणामय अवस्थित छन् । यो मन्दिरमा विशेष गरी शनिबार तथा दसैंका बेला भक्तजनको ठूलो भीड लाग्छ ।