
साप्ताहिक संवाददाता

भनिन्छ, विवाह नै प्रेमको उत्कर्ष हो । प्रेम गरेका अधिकांश जोडा–जोडी आफ्नो प्रेमलाई विवाहको रूप दिन चाहन्छन् । यद्यपि केही प्रेम विवाहसम्म नपुग्दै टुक्रिन्छन् भने कतिपय प्रेमले विवाहकै रूप लिन्छन् । यो वर्ष कलाकारिता क्षेत्रमा केही विवाह भएका छन् । तीमध्ये केही प्रेम विवाह हुन् भने केहीले मागी विवाह गरेका छन् ।
लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका अभिनेता राजबल्लभ कोइरालाको विवाह यही वर्ष सम्पन्न भएको छ । अमेरिकाको डिसी महानगर क्षेत्रको स्प्रिङ्गस फिल्डमा राज बल्लभले आफ्नी प्रेमिकालाई दुलही बनाएका हुन् । राजबल्लभ तथा उनकी प्रेमिका प्रतिमा बिमलीले गत मंसिर १७ गते धार्मिक शैलीमा विवाह गरेका हुन् । उनीहरूको वैवाहिक समारोहमा राज बल्लभ तथा प्रतिमाको परिवारका सदस्यहरूका साथै अमेरिकामा बसोबास गर्ने अधिकांश नेपाली कलाकारको सहभागिता थियो । राज बल्लभकी जीवनसंगिनी प्रतिमा बायो मेडिकल इन्जिनियर हुन् । चलचित्र ‘हाइवे टु धुम्पुस’को छायांकनका क्रममा अमेरिका पुगेका राजबल्लभ उतै सेटल भएका छन् । चलचित्र ‘पर्खि बसें’ मार्फत रजतपटमा भित्रिएका राज बल्लभले पहिलो पहिलो माया, छोडी गए पाप लाग्ला, राघब आदि चलचित्रमा अभिनय गरेका छन् ।
अभिनयमा सक्रिय रहँदा–रहँदै वैवाहिक जीवनमा प्रवेश गर्ने साहसिक निर्णय गर्ने अभिनेत्री हुन्— निशा अधिकारी । निशाले नेपालको राष्ट्रिय क्रिकेट टिममा आबद्ध स्टार क्रिकेटर शरद भेषवाकरसँग लगनगाँठो कसेकी हुन् । लामो समयदेखि प्रेम सम्बन्धमा रहेको यो जोडीको वैवाहिक समारोहलाई नेपाली सञ्चारमाध्यमले समेत महत्वपूर्ण स्थान दिएका थिए । उनीहरूले गत असार १६ गते विवाह गरेका हुन् । विवाह गरेको सात महिनापछि निशाले आफू गर्भवती भएको जानकारी समेत दिइसकेकी छिन् । पछिल्लो समय निशा अमेरिका पुगेकी छिन् । निशाले आफ्नो सन्तानलाई अमेरिकामै जन्म दिन सक्ने अनुमान गर्न थालिएको छ । केही महिना भित्रै निशा पहिलो सन्तानको आमा बन्ने छिन् ।
चलचित्र रिदमबाट रजतपटमा प्रवेश गर्ने अभिनेत्री निश्मा घिमिरे तथा व्यस्त नृत्य निर्देशक एवं अभिनेता गम्भीर विष्ट पनि यही वर्ष वैवाहिक जीवनमा बाँधिएका छन् । उनीहरूले पनि लामो समयदेखिको प्रेम सम्बन्धलाई विवाहको रूप दिएका हुन् । निश्मा र गम्भीरले गत मंसिर ७ गते धार्मिक शैलीमा विवाह गरेका थिए ।
उनीहरूको वैवाहिक समारोह तथा प्रीति भोजमा नेपाली चलचित्र क्षेत्रका लोकप्रिय अनुहारहरूको उपस्थिति देखिन्थ्यो । अभिनेत्री निश्मा पछिल्लो समय चलचित्रमा खासै सक्रिय छैनन् । गम्भीर भने चलचित्र तथा म्युजिक भिडियोमा कोरियोग्राफरका रूपमा सक्रिय छन् ।
कलाकार हरिवंश आचार्यका छोरा मोहित वंश आचार्य पनि यही वर्ष वैवाहिक जीवनमा बाँधिए । मह सञ्चारले निर्माण गरेका टेलिश्रृंखलाहरूमा अभिनय गर्दै आएका मोहितले काभ्रेकी बिन्दु थापासँग वैवाहिक जीवन प्रारम्भ गरेका हुन् । उनीहरूले असार १७ गते विवाह गरेका थिए ।
दुलही लिन मोहित धुलिखेलस्थित मिराबेल होटल पुगेका थिए । उक्त होटलमै वैवाहिक समारोह सम्पन्न भएको थियो । आर्मी अफिसर्स क्लब, सुन्धरामा आयोजित प्रीतिभोजमा भने समाजका हरेक तह तथा तप्काका मानिसहरू आमन्त्रित थिए । मोहित र बिन्दुले इन्गेज्मेन्ट गरेको पाँच महिनापछि विवाह गरेका हुन् ।
नेपाली राष्ट्रिय क्रिकेट टिमका विकेटकिपर ब्याट्सम्यान नरेश बुढाऐर पनि यही वर्ष विवाह बन्धनमा बाँधिए । नरेशले गत जेठ महिनामा ममता खड्कासंग लगनगाँठो कसेका हुन् ।