हम जाएगा (श्रीमतीसँग) : हेर न, छोराले गधा चढ्छु, गधा चढ्छु भनेर हैरान पारिसक्यो ।
श्रीमती : के भो त, एकछिन काँधमा बोके हुन्न ?
०००
श्रीमती : तिमी मलाई धेरै रिस नउठाऊ त ! मेरो दिमागमा आगो बलेको छ आज ।
हम जाएगा : ए, त्यही भएर होला, आज बिहानैदेखि गुइँठा बलेको गन्ध आएको ।
माथि उल्लेख भएजस्ता हम जाएगाका चुट्किला हिजोआज पनि चर्चित छन् । नेपालमा भन्दा पनि दार्जीलिङ र सिक्किममा उनका चुट्किलाले खुबै बजार पिटेको छ । हम जाएगाले चुट्किलाका तीनवटा पुस्तक नै तयार पारेका थिए । ती पुस्तक अहिले पनि दार्जीलिङमा बिक्री हुन्छन् ।
त्यतिमात्र होइन, दार्जीलिङ र सिक्किममा गुड्ने ट्याक्सीहरूमा उनका चुट्किलाको प्रहसन उत्तिकै चल्छ । आफ्नै लवजमा प्रस्तुत गरिने त्यस्ता चुट्किलाले याक्रामा मात्र होइन स्टेज कार्यत्रममा पनि उत्तिकै माहोल तताउँछ । हम जाएगाको चरित्र सापटी लिंदै नेपाली चलचित्र ‘हम जाएगा’ को निर्माणसमेत भयो । सुरेन्द्र पुनले निर्देशन गरेको उक्त चलचित्रमा बाबु बोगटीले हम जाएगाको भूमिका निर्वाह गरेका थिए ।
पेसाले ड्राइभर हम जाएगा चर्चित हुनुको पछाडि उनका चुट्किला नै प्रमुख हो । हिजोआज उनकै पथलाई पछ्याउन युवाहरूले सक्रियता देखाउन थालेका छन् । पूर्वी नेपाल तथा सिक्किम–दार्जीलिङमा उनको सिको गर्दै कमेडी शोहरू हुन थालेका छन् । काठमाडौं बस्दै आएकी गान्तोक सिकिक्मकी गायिका झरना गुरुङ हम जाएगाका चुट्किलाहरू खुबै रमाइलो लाग्ने कुरा बताउँछिन् । गुरुङ भन्छिन्– स्कुल पढ्दा शिक्षकहरूले हम जाएगाका चुट्किलाहरू सुनाउनुहुन्थ्यो । त्यस्ता चुट्किलामा छाडापन थिएन, दार्जीलिङ–सिक्किमेहरूको लवजमा ठेट शब्दहरू हुन्थे र ती चुट्किला हाम्रै जीवनशैलीसँग मेल खान्थे ।
वास्तवमा हम जाएगाका चुट्किला पढ्ने र सुनाएर रमाइलो गर्ने मात्र होइन, स्टेज शोहरूमा समेत सुनाइन्छ । कन्सर्टतिर उनकै चुट्किलाबाट कार्यक्रम सुरु गरिन्छ । हम जाएगापछि साहित्यकार समेत रहेका दार्जीलिङका महेन्द्र बागदास भारतीय नेपालीमाझ चर्चित हास्यकलाकार बन्न पुगे । उनले आफ्नो मौलिकता देखाउने प्रयास गरे पनि कतिपय शोमा उनमा हम जाएगाकै झझल्को पाइन्थ्यो । युट्युब च्यानलहरूमा उनको ‘हसना मना है’ नेपाली कमेडी सो चर्चित छ । हिमाली च्यानल दार्जीलिङमा अपलोड भएका उनका स्टयान्ड अप कमेडीले ८ लाखभन्दा बढी भ्युअर्स पाइसकेका छन् । यतिबेला कालेम्बुङका ड्राइभर दिलीप गुरुङ ‘सिक्किमे हम जायेका’का रुपमा सामाजिक संजालमा भाइरल भैरहेका छन् । ट्याक्सीमा यात्रुहरूलाई चुट्किला सुनाउँदा सुनाउँदै चर्चित भएका गुरुङका ‘केटाहरू प्रिग्नेटन्ट भएपछि’ चुट्किला चर्चित छ । गुरुङ यतिबेला स्टेज कार्यक्रमहरूमा समेत देखा पर्न थालेका छन् ।
को थिए हम जाएगा ?
दार्जीलिङ र सिक्किममा मात्र होइन पूर्वोत्तर भारतमा ‘हम जाएगा’ का चुट्किला सर्वाधिक चर्चामा छन् । नेपालमा मह जोडीले आफ्नो कलाकारिता सुरु नगर्दै दार्जीलिङका चोक–चौतारीमा हम जाएगा प्रख्यात थिए । अहिलेजस्तो सामाजिक संजाल र संचारमाध्यमको विकास नहुँदै दार्जीलिङमा हम जाएगा अर्थात् दलबहादुर गुरुङले हांस्यव्यङ्यको क्षेत्रमा ठूलो फड्को मारिसकेका थिए ।
पूर्वी नेपालका गाउँ–सहरमा उनका चुट्किला अझै पनि चर्चामा छन् । नेपाली समाजमा हम जाएगा काल्पनिक पात्र हुन् भनिए पनि वास्तविकता अर्कै छ । हम जाएगा ट्याक्सी चालक थिए र उनी आफ्नो ट्याक्सीमा ग्राहकलाई हँसाउदै यात्रा गराउँथे । दार्जीलिङ र सिक्किममा उनका चुट्किला सुनाउँदै ग्राहक हँसाउने ड्राइभर अहिले थुप्रै भैसकेका छन् । हम जाएगालाई आदर–सम्मान गर्ने नेपालीभाषी भारतीयहरूको संख्या ठूलो छ । हम जाएगाका थुप्रै चुट्किला पढेका लेखक तथा साहित्यकार जीवन शर्मा भन्छन्, ‘उनका चुट्किलाले ठेट नेपालीपन मात्र होइन दार्जीलिङको वास्तविक जीवनशैली र रहनसहनलाई प्रतिनिधित्व गर्छ,’ शर्माले भने, ‘पेसाले ट्याक्सी ड्राइभर भए पनि हांस्यव्यङ्यका क्षेत्रमा उनी एक आदर्श थिए ।’
वि.स. १९७८ मा दार्जीलिङको मारेबुङ चियाकमानमा दलबहादुर गुरुङ अर्थात हम जाएगाको जन्म भएको थियो । उनका पुर्खा नेपालको पाँचथरबाट दार्जीलिङमा बसाइँ सरेका हुन् । वि.स. १८७३ फागुनमा तितलिया सन्धिलगत्तै पूर्वी नेपालका नेपालीहरू दार्जीलिङ बसाइँ सर्ने क्रममा हम जाएगाका जिजुबाजे धुजविर गुरुङ पनि पाँचथरबाट सीमापारी गएको बताइन्छ ।
दलबहादुरको नाम हम जाएगा रहनुको पनि बेग्लै कथा छ । उनी १६ वर्ष हुँदा पाइलट अध्ययन गर्ने भनेर घरबाट भागेर कोलकाता पुगेछन्, तर अनेकौं हन्डर–ठक्करका बाबजुद कोलकातामा पाइलट पढ्न नसकेपछि उनी गाडी चालकका रूपमा दार्जीलिङ फर्किए ।
हिम्मत गरेर कठिन बाटोमा पनि ट्याक्सी हुइँक्याउन सक्ने भएकाले धेरै मानिसले उनको साथ लिन्थे । दार्जीलिङ पहाडमा सबैतिर पक्की सडक नभएकाले कच्ची र पहाडको भिरालो स्थानमा पनि हम जाएगाले ट्याक्सी पुर्याउने गरेका थिए । हम जाएगाले हालको चर्चित टाइगर हिल तथा नेपाल–भारतको सिमानामा पर्ने तुम्लिङको चुचुरोसम्म पनि यात्रुहरूलाई सयर गराएका थिए भन्ने कुरा जानकारहरू बताउँछन् ।
हम जाएगा जुनसुकै बेला तथा अप्ठ्यारो स्थानमा पनि ट्याक्सी पुर्याउन सक्ने ड्राइभर भएकाले उनी बारम्बार भन्थे– ‘कोही नहि जाएगा तो हम जाएगा’ । उनको यही थेगो चर्चित मात्र भएन, त्यसले उनलाई एउटा नयाँ नामसमेत दियो । ट्याक्सीमा यात्रा गर्ने हरेक यात्रुलाई उनी रमाइला चुट्किला सुनाउने भएकाले उनको ट्याक्सी चढ्ने यात्रुको संख्या पनि उत्तिकै थियो ।
ट्याक्सी चलाएर र चुट्किला सुनाएर एकाएक सेलिब्रेटी भएका हम जाएगाले नेपाली चलचित्र ‘कुसुमे रुमाल’ मा अभिनयसमेत गरेका थिए । ५३ वर्षको उमेरमा पहिलो पटक चलचित्रमा देखिएपछि नै उनको अनुहार सार्वजनिक भएको थियो । १० सन्तानका पिता गुरुङको वि.स.२०४९ सालमा मृत्यु भएको थियो ।