जिल्ला प्रशासन कार्यालय, रुपन्देहीले साउन २१ गते एक विज्ञप्ति निकाल्दै तीजको दर खाने नाममा अहिलेदेखि नै होटल र पार्टी प्यालेस बुकिङ गर्न सुरु गरिसकिएको जानकारीमा आएको भन्दै होटल–रेस्टुराँमा दर खाने, महँगा पोशाक प्रदर्शन गर्ने तथा ध्वनी प्रदूषण हुने कार्य नगर्न निर्देशन दियो ।
महिला नै सिडिओ भएको पर्वतमा प्रमुख जिल्ला अधिकारी(सिडिओ) कल्पना घिमिरे नेपालले भडकिलो हुने गरी तीज पर्व मनाए कारबाही गर्ने चेतावनीसहित साउनको दोस्रो साता विज्ञप्ति जारी गरिन् ।
जिल्ला प्रशासन कार्यालय, कास्कीले पनि एक विज्ञप्ति जारी गर्दै तडकभडक नदेखाई सामान्य रुपमा तीज मनाउन आग्रह गरिसकेको छ । महिनौंदेखि नभै निश्चित समयमा मात्र तीज मनाउन कास्की प्रशासनको आग्रह छ ।
तीज मनाउने तौरतरिकामा फेरबदल आउन थालेपछि देशभरका प्रशासन कार्यालयहरूले यही किसिमका विज्ञप्ति जारी गर्दै सबैलाई सचेत गराइरहेका छन् । तीजमा तडकभडक नगर्न तथा पार्टी प्यालेस एवं होटलमा तीज नमनाउन र गहना प्रदर्शन नगर्न सार्वजनिक सूचना जारी गरेपछि व्यवसायीहरू माक्र होइन महिला अधिकारकर्मीहरूले समेत यसको विरोध गरिरहेका छन् ।
व्यत्तिगत स्वतन्त्रतामा हस्तक्षेप गरेको भन्दै विश्व हिन्दू महासंघ गण्डकी प्रदेशले पत्रकार सम्मेलन नै गरेर आपत्ति जनाएको छ । प्रशासनको यस्तो कदमको सामाजिक सञ्जालमा समेत विरोध भैरहेको छ ।
हिजोआज आधुनिक र बजारिया जीवनशैलीका कारण रेस्टुराँ तथा पार्टी प्यालेसमा भेला भएर दर खाने चलन बढ्दै गएको छ । महिलाहरू आर्थिक रुपमा सबल हुँदै गएपछि उनीहरू खर्च गर्नसमेत सक्षम भएकाले तीजलाई खर्चिलो भन्न नमिल्ने अधिकारकर्मी भूमिका श्रेष्ठको दाबी छ ।
यता होटल, रेस्टुराँ, क्याटरिङ तथा पार्टी प्यालेस सञ्चालकहरूले प्रशासनिक कडाइका कारण व्यवसाय धरापमा परेको गुनासो गरेका छन् ।