आजभोलि तीजमा रातो सारी नै लगाउनुपर्छ भन्ने मान्यता राख्नेहरू कमै छन् । सारी नै लगाउनेहरूका लागि पनि सजिलो तथा स्टाइलिस्ट सारीहरू बजारमा उपलब्ध छन् । सारीकै झझल्को दिने डिजाइनर सारीमा गाउन, पेन्सिल सारी, ग्याडर सारी, लेहेंगा सारी आदि पर्छन् । यस्ता साडी लगाउँदा स्टाइलिस्टसमेत देखिन सकिन्छ । आधा दशकअघिदेखि फेसनमा रहेको लेहेंगा तथा वान पिसका साथमा सरारा सुरुवाल, पाइन्टका साथ लंगकुर्ती एवं ब्रोकेट विथ सिल्क फेब्रिकमा कुर्तीहरू लगाउन सकिन्छ । कामकाजीहरूका लागि तन्किने फेब्रिकमा बनाइएको पाइन्ट र लङकुर्ती सबैभन्दा उपयुक्त हुनसक्छ । यस्ता कुर्ताले फेस्टिब लुक्स त दिन्छन् नै यी लगाउनसमेत सजिला हुन्छन् । सारी वा लेहेंगा क्यारी गर्न नसक्नेहरूका लागि भरिएका सिफन, सिल्क तथा नेटका कुर्तामा एंकल लेन्थको पाइन्ट, सरारा तथा बेलीबटन वा फिटिङ पाइन्ट पनि उपयुक्त हुन्छ ।
यस्ता साडीसँग हाफ, अफ सोल्जर, वान अफ सोल्जर, पफ, नेक क्लोज, बो, भी, यू, स्ट्रापी तथा क्रस डिजाइनका ब्लाउज लगाउन सकिन्छ । नवदुलहीहरूका लागि ह्याभी सारी भन्दा हल्का सारीमा हाफ स्लिभ वा फ्लेयर स्लिभ वा पफ स्लिभ ब्लाउज राम्रो देखिन्छ । यसका साथै जिपर भएका फ्लावर प्रिन्ट ब्लाउज पनि आकर्षण हुन्छ ।
टिनएजरका लागि
टिनएजरहरू सधैं स्मार्ट एवं आकर्षक देखिन चाहन्छन् । अरू बेला क्याजुअल वेयरमा हिँड्न रुचाउने यो पुस्ता फेस्टिभ लुक्सका लागि कुनै पनि पहिरनलाई मोडिफाइ गरेर डिजाइन गराउन चाहन्छन् । अहिले लेहेंगामा सर्ट डिजाइन अनारकल्ली स्टाइल गाउन तथा लङ स्कर्ट कुर्ती चलनमा छ । यो पुस्ताले लेहेंगामा इम्ब्रोडरी सर्ट, प्लेन सिल्क सर्टमा ह्याभी मालाहरू प्रयोग गर्ने गरेको छ । यो पुस्ता धोती सुरुवालमा क्याजुअल टप्स तथा ग्रन्च जिन्समा एंकल लेन्थ कुर्ती पनि रुचाउँछ । उनीहरू हल्का भन्दा गाढा रंग बढी मन पराउँछन् । टिनएजरहरूका लागि कोट स्टाइलको ब्लाउजमा लेहेंगा समेत बजारमा उपलब्ध छ । यो उमेरकाहरूका लागि नेट, जर्जेट, सिफन, तास, क्रेप सिल्क आदि फेब्रिक उपयुक्त मानिन्छ । अहिले फेसनमा रहेको हल्का फेब्रिकको म्याक्सी ड्रेस पनि आकर्षक देखिन्छ । यो उमेरकालाई जस्तो पहिरन पनि त्यतिकै सुहाउँछ तर चाडपर्वमा फरक लुक्स प्राप्त गर्न छालाको रंग, शरीरको बनावट तथा उचाइअनुसार पहिरनको डिजाइन निर्धारण गर्नुपर्छ ।
मोटोपन लुकाउने पहिरन
यदि तपाईं मोटी हुनुहुन्छ र तीजमा सारी नै लगाउने हो भने जर्जेट नै छान्नुपर्छ । नेटमा स्लिम देखिने भए पनि शरीर देखिने हुँदा यो त्यति उपयुक्त मानिँदैन । मोटो जीउ भएकाहरूका लागि धेरै ह्याभी सारी पनि ठीक हुँदैन । सारीमा सानो बोर्डर माक्र राख्दा स्लिम देखिन सहयोग मिल्छ । त्रेपमा हल्का भरेर अलि लामो ब्लाउज लगाउँदा स्लिम देखिन सकिन्छ । यदि लेहेंगा लगाउने सोच छ भने नेटको लेहेंगामा लामो चोली लगाउनु उपयुक्त हुन्छ । सकेसम्म फिटिङ ब्लाउज नै लगाउनु पर्छ । एलाइन डिजाइनमा पनि स्लिम देखिन सकिन्छ ।
दर खान जाँदा
दर खान जाँदा दर खानुका साथै नाचगान समेत गरिने भएकाले सजिलो पहिरन छनोट गर्नुपर्छ । दरका लागि लंग लेन्थ कुर्ता विथ सरारा ट्राउजर उपयुक्त हुन्छ । जुन टिनएजरदेखि ४० वर्ष नाघेकाहरूले सम्म प्रयोग गर्न सक्छन् । यस्तो पहिरनले मोटालाई दुब्लो र होचालाई अग्लो देखिन सघाउँछ । यसमा वर्क मन पराउनेहरूले वर्क गराउन सक्छन् भने वर्क मन नपराउनेहरूले प्याचवर्क मात्र गराए पनि हुन्छ । यस्तो पहिरनले पार्टी लुक्स दिनुका साथै स्मार्ट र भिन्न समेत देखाउँछ । सारी नै लगाउनेहरूका लागि अहिले ग्याडर सारी, पाइन्टमा एटेच सारी, गाउन स्टाइल सारी समेत प्रचलनमा छ ।