
साप्ताहिक संवाददाता
दसैंकै अवसरमा अधिकांश घरपरिवारले वर्षकै ठूलो र खर्चिलो किनमेलसमेत गर्छन् । यस्ता किनमेलमा सामान्य खानेकुरा, लत्ताकपडादेखि लिएर समय अनुकूलका ग्याजेट तथा घरायसी मेसिनरीहरूसम्म पर्छन् । यही कारणले दसैंको अवसर छोपेर अधिकांश व्यवसायीले विभिन्न किसिमका अफर तथा छुटहरूको समेत घोषणा गरेका हुन्छन् ।
सामान्य अवस्थामा गरिने किनमेलभन्दा दसैंका अवसरमा गरिने किनमेल विशेष मानिन्छ । यो अवसरमा गरिने किनमेलले मानिसहरूमा बाध्यताभन्दा पनि उमंग सञ्चार गर्छ । कतिपय मानिस अलिकति ठूलो किनमेलका लागि दसैं नै कुर्छन् । त्यही कारणले पनि दसैंको किनमेलको आफ्नै महत्व छ ।
किन्नुअघि
आफ्ना आवश्यकताहरू के हुन् ? निक्र्यौैल गर्नुपर्छ ।
आफ्नो आवश्यकताअनुसार किनमेल गर्ने सामानहरूको सूची बनाउनुपर्छ ।
यस्तो सूची बनाउँदा भान्सामा प्रयोग हुने, बाथरुममा प्रयोग हुने, सजावटमा प्रयोग हुने सामान, टीका थाप्न जाँदा लानुपर्ने कोसेली तथा लत्ताकपडाको बेग्लाबेग्लै सूची तयार गर्नु उपयुक्त हुन्छ ।
सूची बनाउनुपूर्व घरमा स्टक रहेका सामानहरू राम्रोसँग जाँच गर्नुपर्छ । अनावश्यक सामान सूचीमा उल्लेख गर्नु हुँदैन ।
लत्ताकपडाको सूची बनाउनुअघि आफ्नो तथा परिवारका सदस्यहरूको वार्डरोव राम्रोसँग खँगाल्नुपर्छ ।
मरमसलाको सूची बनाउँदा दसैंमा बनाइने परिकार के–कस्ता हुन्छन् ? तिनका लागि के–कस्ता मसला चाहिन्छ, राम्रोसँग निक्र्यौल गर्नुपर्छ ।
बजार जाँदा
आफ्नो सूचीअनुसार पर्याप्त रकम बोक्नुहोस् ।
आजभोलि कतिपय पसलमा नगदभन्दा डेबिट–क्रेडिट कार्डबाट पनि कारोबार हुने हुँदा त्यस्ता पसलमा जाँदा धेरै रकम बोक्न आवश्यक हुँदैन ।
डेबिट–क्रेडिट कार्डबाट किनमेल गर्दा कतिपय मानिस पैसा छँदैछ भनेर अनावश्यक सामान समेत किन्छन् । यस्तो स्थितिबाट जोगिन आफूले तयार गरेको सूची बाहिरका सामान किन्नुअघि एकपटक सोच्नुहोस्– के यो सामान अहिले नै किन्न आवश्यक छ ?
आजभोलि ग्राहकलाई लोभ्याउन कतिपय कम्पनी तथा डिपार्टमेन्टल स्टोरहरूले विभिन्न किसिमका अफर ल्याएका हुन्छन् । यस्ता अफरमा पाइने छुटको लोभमा पनि मानिसहरूले अनावश्यक किनमेल गर्छन् । यस्तो किनमेलबाट आफैंमाथि बोझ थपिन सक्छ तसर्थ सावधान रहनुमै कल्याण हुन्छ ।
कतिपय ठूला डिपार्टमेन्टल स्टोरले दसैंकै अवसरमा आफ्ना पुराना स्टक खपत गराउन एउटा किन्दा अर्काे उपहारजस्ता स्किम लागू गरेका हुन्छन् । त्यस्ता स्किममा पाइने सबै सामान नराम्रा हुँदैनन् । आफ्नो आवश्यकताको सूचीमा त्यस्ता सामानको उल्लेख छ भने त्यस्तो सामान किन्नुमै बुद्धिमानी हुन्छ । यद्यपि त्यस्ता सामान किन्दा त्यसमा उल्लेख गरिएको प्रयोगको अवधि, मूल्य, सामान उत्पादन गर्ने कम्पनी आदिको विश्वसनीयता आदि सबैको ख्याल राख्नुपर्छ ।
बजार जाँदा सकेसम्म बालबालिकाहरूलाई लिएर नजानुहोस् । केटाकेटीलाई किनमेल गर्न सँगै लानुभन्दा उनीहरूलाई बजारको चहलपहल देखाउन अर्कै दिन छुट्याउनुहोस् । त्यस्तो दिन केटाकेटीहरूको रहर पूरा गर्न सकिन्छ ।
मोबाइल, ट्याबलेट, टेलिभिजन, वासिङ मेसिन, फ्रिज, ओभन, माइक्रोवेभ, टोस्टरजस्ता मेसिनरीजन्य इलेक्ट्रोनिक ग्याजेट आदि किन्नुपरे कुन कम्पनीको, कति क्षमताको, कति मूल्यको खरिद गर्ने हो ? त्यसको निक्र्यौल पहिले नै गर्नुपर्छ ।

लत्ताकपडा किन्नुअघि
दसैंमा गरिने किनमेलको ठूलो अंश लत्ताकपडाकै हुन्छ । कतिपय परिवारले दसैंकै अवसर पारेर साना नानीहरूदेखि घरमा रहेका ज्येष्ठ सदस्यहरूको लत्ताकपडासम्बन्धी आवश्यकता दसैंकै अवसर पारेर पूरा गर्छन् । नेपालमा दसैं लगत्तै जाडो मौसम प्रारम्भ हुने भएकाले यस्तो बेला अधिकांश मानिस जाडोमा काम लाग्न सक्ने न्याना पहिरन नै खरिद गर्छन् ।
लत्ताकपडा किन्नुअघि तयारी किन्ने कि सिलाउने ? त्यसको निक्र्यौल गरेर सोहीअनुरूप किनमेल गर्नुपर्छ ।
लत्ताकपडा किन्नुअघि कति मूल्यसम्मका किन्ने ? त्यसको पनि बजेटिङ गर्नुपर्छ । बजेट बाहिर गएर भन्दा बजेटभित्रै रहेर खरिदारी गर्दा कतिपय अवस्थामा लत्ताकपडाको गुणस्तरसँग सम्झौता गर्नुपर्ने परिस्थिति सिर्जना हुनसक्छ । यस्तो अवस्थामा गुणस्तरसँग सम्झौता गर्नुभन्दा आवश्यकतामा कटौती गर्नु बुद्धिमानी हुन्छ ।
केटाकेटीहरू निरन्तर बढिरहेका हुन्छन् । उनीहरूका लागि महँगा पहिरन किन्दा सकेसम्म अलिकति ठूलो र अर्को वर्षसम्म लगाउन सकिने पहिरन छनौट गर्नुपर्छ । यस्तो छनौटले आफूलाई आत्मसन्तुष्टि पनि दिन्छ भने केटाकेटीहरूको लामो समयसम्मको आवश्यकता समेत पूरा
गर्न सकिन्छ ।
घरका ज्येष्ठ सदस्यहरूको लत्ताकपडा किन्दा घरमै बस्ने त हो नि ? भन्ने विचार नराखी उनीहरूको रुचिअनुसारका पहिरन किनिदिनु बेस हुन्छ । यसो गर्दा ज्येष्ठ सदस्यहरूको मन पनि प्रफुल्ल हुन्छ ।
भान्साको सामान किन्दा
दसैंमा अघिपछिभन्दा बढी तेल, घिउ तथा मर–मसला खपत हुन्छ । तेल, घिउ तथा मर–मसला किन्दा विशेष सावधानी अपनाउनुपर्छ ।
अहिले बजारमा विभिन्न ब्रान्डका विभिन्न तेलहनका तेल उपलब्ध छन् । यस्ता तेल आयातितदेखि लिएर स्थानीय स्तरसम्म उत्पादन गरिएका हुन्छन् । आफूले नियमित प्रयोग गरिरहेको ब्रान्डकै तेल किन्नुपर्छ । तेल किन्दा निर्माता कम्पनीको विश्वसनीयताको पनि ख्याल राख्नुपर्छ ।
घिउको हकमा अहिले बजारमा अनेक ब्रान्डका फरक–फरक मूल्य घिउ पाइन्छन् । घिउ किन्नुअघि घिउको शुद्धता, घिउ उत्पादन गर्ने कम्पनीको विश्वसनीयता आदिको विशेष ख्याल गर्नुुपर्छ । कतिपय अवस्थामा ब्रान्डेड घिउ किन्नुभन्दा नौनी किनेर आफैंले खार्न सके अझ उत्तम हुन्छ ।
अहिले बजारमा विभिन्न ब्रान्डका फरक–फरक प्रयोजनका लागि फरक–फरक किसिमका तयारी मसला उपलब्ध छन् । यस्ता मसला किन्नुअघि आफ्नो आवश्यकता निक्र्यौल गर्नुपर्छ । अनावश्यक र आफूले प्रयोग नगर्ने मसला विज्ञापनकै भरमा किन्नु हुँदैन ।
कतिपय मानिस तयारी मसलाभन्दा कच्चा मसला किनेर त्यसलाई घरमा राम्रोसँग सुकाएर, केलाएर आफ्नो आवश्यकताअनुसार पिसाउँछन् । यस्तो मसला बजारमा पाइने तयारी मसलाको तुलनामा बढी शुद्ध र स्वस्थकर हुन्छ । मसला किन्दा आफ्नो आवश्यकताको ख्याल राख्नुपर्छ । निश्चित समयपछि प्रयोग गर्न नसकिने भएकाले आवश्यकताभन्दा बढी मसला किन्नु हुँदैन ।
फलफूल तथा तरकारी किन्दा
त्यसो त दसैंमा मानिसहरू अघिपछिको तुलनामा मासु नै बढी प्रयोग गर्छन् । यसो भन्दैमा दसैंमा तरकारी र फलफूलको महत्त्व कम हुँदैन । घरमा रेफ्रिजेरेटर छ भने पटक–पटक बजार गैरहनुभन्दा दसैंभरिको आवश्यकता पूरा गर्ने तरकारी एकैपटक खरिद गर्दा सस्तो पनि पर्छ ।
आलु, प्याज, लसुन, अदुवाजस्ता बहुप्रयोजन योग्य सुक्खा तरकारीजन्य वस्तु खरिद गर्दा त्यसको गुणस्तरको विशेष ख्याल राख्नुपर्छ । सामान्य तापक्रममा पनि
लामो समयसम्म रहने हुँदा यस्ता सुक्खा तरकारी सकेसम्म दसैंभरिका लागि एकैपटक किन्नुपर्छ ।
रेफ्रिजेरेटरमा राख्न सकिने र नसकिने फलफूल छुट्याएर किन्नुपर्छ । जस्तो– स्याउ, नास्पाति, सुन्तला, मौसम आदि फलफूल फ्रिजमा राख्न सकिन्छ । त्यसैले यस्ता फलफूल एकैपटक किन्नु राम्रो हुन्छ । यस्ता फलफूल दसैंमा टीका थाप्न जाँदा कोसेलीका रूपमा पनि लगिने हुँदा एकैपटक किन्नु बुद्धिमानी हुन्छ । केरालाई फ्रिजमा राख्न नमिल्ने र किनेको एक–दुई दिनमै खपत गर्नुपर्ने भएकाले जुन दिन चाहिने हो त्यसै दिन किन्नु उपयुक्त हुन्छ ।


