
साप्ताहिक संवाददाता

सामान्य मानिसको दसैं किनमेल गन्तव्य न्युरोड, ठमेल, दरबारमार्ग, नयाँबानेश्वर जस्ता ठाउँ हुन् । यद्यपि धनाढ्य तथा उच्च वर्गहरूको किनमेल गन्तव्य कहाँ होला ? हुनेखानेहरू भने दसैं किनमेलका लागि हङकङ, सिंगापुर, लन्डनजस्ता देशसम्म पुग्छन् । यद्यपि कतिपयचाहिँ किनमेलभन्दा पनि घुमघाममा बढी व्यस्त हुन्छन् । त्यसो त गोल्छा अर्गनाइजेसनका शेखर गोल्छा यसपालि दसैंका लागि आइसल्यान्ड घुम्न जाने योजनामा छन् । दसैंको छुट्टीमा किनमेलभन्दा पनि घुुमघाममा बढी रुचि राख्ने गोल्छा हरेक दसैंमा नयाँ–नयाँ ठाउँ पुगिरहेका हुन्छन् । शेखर भन्छन्, ‘मलाई दसैंको किनमेलमा खासै रुचि हँुदैन, त्यसैले यो समय घुमघाम र स्वास्थ्यको हेरचाहमा सदुपयोग गर्छु ।’
आइएमइका सिइओ सुमन पोखरेलले भने विगत १२ वर्षयता दसैंको किनमेल दरबारमार्गमा गर्दै आएका छन् । उनी दरबारमार्ग विशेष गरी कपडा किन्न पुग्छन् । यो दसैंमा पनि उनी कपडा किन्न दरबारमार्गमै पुग्ने योजनामा छन् । धेरै महँगो भन्दा पनि राम्रो ब्रान्ड फलो गर्ने बानी परेकाले दसैंमा बढी खर्च कपडामै हुने पोखरेल बताउँछन् । लक्ष्मी बैंकका संस्थापक राजेन्द्र खेतान खासै दसैं किनमेल गर्दैनन् । यद्यपि उनी आफूलाई केही आवश्यक भए लन्डनमा छोराछोरी तथा साथीहरूलाई भेट्न जाँदा उतै किन्छन् । खेतान भन्छन्, ‘मेरा छोराछोरीका साथै करिब ५०/६० जना साथी लन्डनमा छन् म वर्षमा एकपटक उनीहरूलाई भेट्न लन्डन पुग्छु, त्यहाँ छोराछोरीसँग कतै घुम्न जाँदा केही राम्रो लाग्यो भने किन्छु । त्यसपछि त्यसलाई जोगाएर राखेर आवश्यकताअनुसार दसैं–तिहारमा प्रयोग गर्छु । त्यसबाहेक दसैंका लागि भनेर स्पेसल किनमेल चाहिँ हुँदैन ।’
प्रतिष्ठित व्यापारिक घराना चौधरी गु्रपका प्रबन्ध निर्देशक निर्वाण चौधरी दसैंमा स्पेसल किनमेल नगरे पनि आफूलाई चाहिने पहिरनका लागि हङकङ तथा सिंगापुरलाई रोज्छन् । निर्वाण भन्छन्, ‘प्राय: म आफ्ना लागि आफैं किनमेल गर्दिनँ, श्रीमतीले नै गरिदिन्छिन् ।’ यसपालिको दसैं सिंगापुर अथवा फिलिपिन्समा मनाउने योजना भएको चौधरी बताउँछन् ।
नबिल बैंकका सिइओ अनिल केशरी शाह पनि दसैंकै लागि भनेर किनमेल गर्दैनन् । त्यसो त उनले दसैंका लागि बजेटिङ गर्नु पर्दैन । शाह भन्छन्, ‘घरायसी किनमेल श्रीमतीजीले गर्नुहुन्छ, त्यसका लागि खासै बजेटिङ गर्नु पर्दैन ।’ शाह दसैंबाहेक अरु बेला आफूलाई आवश्यक लत्ताकपडा किन्न दरबारमार्ग, न्युरोड वा भाटभटेनी सुपरमार्केट पुग्छन् । उनले यसपालि दसैंमा घुमघामको योजना पनि बनाएका छन् ।
व्यवसायी कृष्ण आचार्यमा सपिङप्रति खासै रुचि छैन । त्यसो त उनी आफूलाई आवश्यकता परेको वस्तू अनुकूल मिलाएर खरिद गर्छन् । विशेष गरी दरबारमार्ग, न्युरोड तथा पोखराको लेकसाइडतिर पुगेका बेला आफूलाई आवश्यक परेका सामान खरिद गर्ने आचार्य बताउँछन् । यसपालिको दसैंमा आचार्यले अल्लोको कोट किन्ने योजना बनाएका छन् ।
उद्योग वाणिज्य महासंघ नेपालकी अध्यक्ष भवानी राणा यसपालीको दसैं किनमेलका रूपमा विशेष गरी पूजाका सामग्री खरिद गर्छिन् । उनी ती सामग्री पाटनतिर किन्ने गरेको कुरा बताउँछिन् । दसैंलाई विशेष गरी मीठो खाने, नयाँ कपडा लगाउने चाडका रूपमा लिइन्छ । यद्यपि राणा भने दसैंकै लागि भनेर कपडा खरिद गर्दिनन् । उनी आवश्यकता अनुसार कहिलेकाहीँ दरबारमार्ग तिर गएर कपडा किन्छिन् भने धेरैजसो सपिङ दिल्लीमा गर्ने राणाले बताइन् ।