साप्ताहिक संवाददाता
तिहार सांस्कृतिक पर्व हो । यो पर्व देउसी–भैलोका कारण समेत लोकप्रिय छ । समूहमा मिलेर देउसी–भैलो खेल्दै रमाइलो गर्न के युवा, के वृद्ध, के बालबालिका सबै लालायित हुन्छन् । कोही व्यक्तिगत रमाइलोका लागि देउसी–भैलो खेल्छन् । कतिपयले विभिन्न सामाजिक कार्य गर्न रकम संकलन गर्ने माध्यमका रूपमा पनि देउसी–भैलोलाई प्रयोग गर्छन् ।
विगत दस वर्षयता तिहारमा परम्परागत पहिरन लगाएर देउसी भैलौ खेल्ने क्रम बढ्दै गएको अनुशीलन कला पाठशाला पोखराका सञ्चालक तथा वरिष्ठ नृत्य निर्देशक गोरे गुरुङ बताउँछन् । तिहारमा भट्याएर देउसी–भैलो भन्ने क्रमभन्दा गीतमा नाच्ने चलन बढेकाले नृत्य प्रशिक्षण लिनेहरू समेत प्रशस्तै हुन्छन् । देउसी–भैलो लागि नृत्य सिक्नेहरू बढ्दै गएको स्टार्स स्टुडियो पोखराका सञ्चालक जसु गुरुङ पनि बताउँछिन् ।
हुन पनि पछिल्लो समयमा नयाँ पुस्ताको आर्कषण देउसी भेलौतर्फ बढ्दैछ । यो सुखद कुरा पनि हो । उनीहरू मौलिक वेशभूषामा सजिदै देउसी–भैलोको कार्यक्रममा सहभागी हुने गरेका छन् । यसले नेपालको सांस्कृतिक पर्व तिहारको संरक्षण गर्दै संस्कृति हस्तान्तरण गर्न सहज होला, तर नयाँ पुस्तालाई देउसी–भैलोको सांस्कृतिक महत्व बुझाउँदै देउसी–भैलो खेल्ने मौलिक संस्कृतितर्फ आकर्षित गर्नुपर्ने आवश्यकता भने छ ।
पोखरा, न्युरोडस्थित स्टार्स स्टुडियोमा पुग्दा शम्भुजित बाँस्कोटाले संगीत भरेको नेपाली चलचित्र स्वर्गको गीत तिहारै आयो लौ झिलिमिली बजिरहेको थियो । लोचन भट्टराई तथा नुतन प्रधानले आवाज भरेको यो गीत तिहारको अवसरमा धेरै ठाउँमा सुन्न पाइन्छ । यो गीतमा विभिन्न उमेर समुहका बाबु–नानीहरू नृत्य सिकिरहेका थिए ।
पोखरा चाउथेका सबु भट्ट ८ वर्षका भए । तिहार उनलाई मनपर्ने पर्व हो । भट्टलाई देउसी पनि मन पर्छ । ११ वर्षीय राहिमा निउरेसँग यसअघि दिदी–बहिनीहरूसँग मिलेर देउसी खेलेको अनुभव छ । १२ वर्षिय रेश्मा गुरुङ यसअघि दिदीहरूसँग देउसी–भैलो खेल्थिन् । उनलाई नृत्य गर्न आउँछ तर भट्याउन आउँदैन । दिदी–बहिनीहरूसँग नाच्न पाइने भएकाले उनलाई तिहार मनपर्छ ।
पोखरा रामबजारकी कुसुम गुरुङ १० वर्षकी भइन् । तिहारमा देउसी–भेलो खेल्दा नृत्य गर्ने उनको तयारी छ । गुरुङले यसअघिको तिहारमा समेत नृत्य गरेकी थिइन् । गाउँमा छँदा क्लबबाट देउसी–भैलो खेलेको अनुभव सँगालेकी जस्मिन गुरुङलाई देउसी–भैलो मनपर्छ । उनीहरू जस्तै धेरै बालबालिका तिहारमा खेलिने देउसी–भैलोको तयारीमा जुटेका छन् । सहर–बजारमा भाडामा विभिन्न जातीय पहिरन पाइने भएका कारण त्यस्ता पहिरन लगाएर नाच्ने क्रम बढ्न थालेको हो ।
राजाराम पौडेल