साप्ताहिक संवाददाता
बत्तिको झिलिमिली
मलाई तिहार भन्नासाथ बत्तिको झिलिमिली खुबै मन पर्छ । दिउँसो दिदीबहिनीको हातबाट भाइटीका लगाएपछि साँझ काठमाडौं वरिपरिको झिलिमिली हेर्न निस्कन्छु । यो समयमा काठमाडौं निकै सुन्दर देखिन्छ । साथीभाईसँग बजारको झिलीमिली हेर्न निस्कदा निकै रमाइलो लाग्छ ।
दिदीबहिनीको माया
भाइटीका भनेकै दाजुभाइप्रति दिदीबहिनीको तथा दिदीबहिनीप्रति दाजुभाइको माया एवं आदर हो । अन्य समयमा माया नगरिने त होइन, तर यो दिनको माया विशेष किसिमको हुन्छ । यो माहौलमा पारिवारिक जमघट पनि राम्रो हुन्छ । दिदीबहिनीबाट लुगा, चकलेट आदि उपहार पाइन्छ । दिदीबहिनीसँग सुखदु:खका कुरा गरिन्छ । उनीहरूले मेरो चलचित्र करियरका बारेमा पनि जानकारी लिन्छन् ।
सेल–रोटी
मलाई चिल्लो–पिरो त्यति मन पर्दैन, तर तिहारको माहौल भएकाले केही मात्रामा सेल रोटी खान्छु । दिदीबहिनीले भाइटीकामा दिने खानेकुरा मेरा लागि विशेष हुन्छन् । भाइटीकाको दिन थालीमा राखिएको काजु, किसमिस तथा फलफूल खादा छुट्टै मज्जा आउँछ ।
तास
म दसैं–तिहारका बेला तास पनि खेल्छु । म विशेष गरी तीनपत्ती खेल्छु, म्यारिज खेल्न अल्छी लाग्छ । प्राय:जसो दिउँसो वा साँझ तास खेल्छु । म दसैं–तिहार भन्नासाथ तास पनि आउने भएकाले यो खेल छुट्दैन ।
देउसी
देउसी–भैलो मलाई विशेष लाग्छ । पाँच–छ वर्ष अघिसम्म त म पनि देउसी खेल्थें, तर अहिले खेल्न छोडेको छु । घरमा देउसी, भैली खेल्न आउनेहरूलाई हेर्छु–सुन्छु । उनीहरूले देउसी–भैलो खेलेको हेर्दा मलाई आफूले खेलेको देउसी–भैलोको सम्झना आउँछ । त्यो क्षणले निकै नोस्टाल्जिक बनाउँछ ।